७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले १३ घरको उठिबास

कास्कीको माछापुच्छेस्थित रिभानमा बाढीले पुर्याएको क्षति । तस्विर सौजन्यः बलराम गिरी/अनिल लामिछाने

पोखरा, साउन २४ - खहरे खोलामा आएको भीषण बाढिले कास्कीको माछापुच्छे गाउँपालिका–५ रिभानस्थित ताप्रेबस्तीमा ब्यापक क्षति पुर्याएको छ । खहरेले गाउँका १३ वटा घरलाई पुर्ण रुपमा क्षति पुर्याएको छ भने अन्य ६ घर जोखिममा परेका छन् ।
स्थानीय देवीलाल लामिछानेका अनुसार मंगलबार राती गाउँका घरमा खहरेको बाढी पसेको थियो । ‘लामो समयदेखि पानी परिरहेको थियो । राती गाउँका सबैजना सुत्ने तरखर गरिरहँदा एक्कासी माथिबाट गडगडाउँदै बाढी आयो,’ उनले भने, ‘संयोगले जोगिन सकियो । मानवीय क्षति हुनबाट जोगिएपनि घरगोठ बगाउको छ ।’ मंगलबार राती करिब १० बजेतिर खहरेमा एक्कासी बाढी आएर घर पुरेको उनले बताए ।
खहरेले लामिछानेको घर समेत बगाएको छ । त्यस्तै प्रविण लामिछाने, जंगबहादुर विक, बौमाया बिक, नरबहादुर विक, कमला परियार, जंगबहादुर विक, राजमान विक, प्रेमबहादुर विक, दिनानाथ पौडेल, धनकाजी विश्वकर्मा लगायतका गाउँले घरबारविहीन भएका छन् । त्यस्तै गंगा आचार्य, शिवप्रसाद भुषाल, प्रविण विक, सन्तुमाया लामिछाने, भक्तप्रसाद लामिछाने, सरस्वती लामिछानको घर जोखिममा छन् । ‘घरकै आँगनबाट खोलाको बाढी बगेको छ । बस्न नमिल्ने अवस्थामा पुगेका घरको भान्सा र कोठा बाढीले बगाएर ल्याएको ढुंगामाटो र काठले भरिएको छ,’ उनले भने ।
बाढीले घरका गोठ समेत बगाएको छ । गोठ बग्दा एउटा जर्सी गाइ, तीनवटा बाख्रा ५ सय २५ वटा कुखुरा मरेका छन् । १३ वटै घरको खानेकुरा र लत्ताकपडा पनि बाढीमा बगेका छन् । ‘अहिले छरछिमेकको घरमा बसेका छौ । खानपिन र बसोबासका लागि घर र अन्न केही पनि बचेको छैन,’ उनले भने, ‘रातभर सुत्न पनि पाएनौ । बस्ती नै बगेपछि पाल समेत टाँग्ने ठाउँ छैन ।’ उनका अनुसार खहरेमा हिउँदमा पनि पानी बग्छ । यो पटक बस्ती नै बग्नेगरि खहरेमा एक्कासी बाढी आएको उनले बताए ।
बगर चौकीका प्रहरी निरिक्षक किशोर लम्सालका अनुसार खहरेले बस्ती बगाएको थाहा पाए लगत्तै प्रहरी परिचालन गरेर गाउँलेलाई सुरक्षित राखिएको छ । ‘बाढी आएको थाहा पाउनासाथ हामीले प्रहरी परिचालन गरेका छौ,’ उनले भने, ‘मानवीय क्षति हुन पाएन । बाढी आएपनि संयोगले गाउँले जोगिएका हुन् ।’ उनका अनुसार बाढीले बस्तीसम्म पुग्ने बाटोको कल्भर्ट समेत बगाएको छ । त्यसले गर्दा आउजाउमा समस्या छ । स्थानीयबासीले बुधबार दिउँसो अबेरसम्म कतैबाट पनि राहत टोली नपुगेको बताएका छन् ।

 

 

प्रकाशित: २५ श्रावण २०७४ ०७:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App