coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

‘नेपालमा लगानीका लागि प्रचुर सम्भावना’

वीरगन्जमा मंगलबार आयोजना गरिएको ‘नेपाल–भारत व्यापार तथा लगानी पवद्र्धन सम्मेलन’का सहभागी । तस्बिर : रितेश त्रिपाठी

वीरगन्ज – मंगलवार वीरगन्जमा आयोजित ‘नेपाल–भारत व्यापार तथा लगानी पवद्र्धन सम्मेलन’मा सहभागी दुई देशका निजी क्षेत्रका प्रतिनिधिले नेपाल लगानीका लागि प्रचुर सम्भावनायुक्त थलो भएको जनाएका छन् । विभिन्न क्षेत्रमा लगानीका लागि भारतीय लगानीकर्ता र नेपालका विभिन्न उद्योग वाणिज्य संघका अगुवा तथा निजी क्षेत्रका प्रतिनिधिबीच परस्पर छलफलका लागि आयोसजत सम्मेलन उद्घाटन सत्रमा बोल्ने वक्ताहरुले उक्त धारणा राखेका हुन् ।
 
वीरगन्ज उद्योग वाणिज्य संघको सहकार्यमा नेपालका लागि भारतीय माहावाणिज्यदूतावासको आयोजनामा वीरगन्जमा उक्त बहुप्रतिक्षित सम्मेलन राखिएको हो । ‘नेपाल–भारत सम्बन्ध आर्थिक आधारमा अब अगाडि बढाउन सक्नुपर्छ, अहिले हामी नेपालमा भारतीय लगानीको कुरा गरिरहेको भए पनि नेपाली लगानीकर्ताले भारतमा लगानी गर्न सक्ने सम्भावित क्षेत्र पनि खोज्न सक्नुपर्छ,’ भारतको पटनास्थित बिपी कोइराला नेपाल–भारत अध्ययन केन्द्रका निर्देशक प्रध्यापक नवलकिशोर चौधरीले भने, ‘हामीले एउटा कुरा के बिर्सनु हुँदैन भने कुनै पनि ठाउँमा निजीक्षेत्रको लागनी ल्याउनका लागि त्यहाँ पहिले सरकारले पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ, हामी दुवै पक्षले आ–आफ्नो सरकारबाट त्यस्तो लगानी गराउन सक्यौं भने नेपाल धेरै उपयुक्त छ निजी क्षेत्रको लगानीका लागि ।’ 

सडक, सञ्चार, हवाई यातायात सुविधा, रेलमार्गको विकास र विद्युत् आपूर्तिजस्ता कुरा सरकारी योजना र लगानीबाट मात्र सम्भव हुने भएको बताउँदै यसमा ध्यान दिएर लगानीको अवसर बढाउन सकिने बताए । काठमाडौं–पटना हवाई उडान बन्द भएको र नेपाल जोड्ने मुख्य भारतीय राजमार्ग जरजर भएकोमा उनले दुःख व्यक्त गरे । बिहार उद्योग वाणिज्य संघ, उत्तर प्रदेश उद्योग वाणिज्य संघ, पश्चिम बंगाल उद्योग वाणिज्य संघ लगायतबाट आएका भारतीय नीजिक्षेत्रका प्रतिनिधि र नेपालको वीरगन्ज उद्योग वाणिज्य संघ, मकवानपुर उद्योग वाणिज्य संघ, प्रदेश नम्बर ४ उद्योग वाणिज्य संघ पोखरा, मोरङ व्यापार संघ, चितवन उद्योग वाणिज्य संघका प्रतिनिधि सहभागी सम्मेलनमा भारतीय लगानीकर्ताले इच्छाएको क्षेत्रका नेपाली उद्यमीसँग बेग्लाबेग्लै छलफल गरेका छन् । 

‘नेपालमा प्रतिव्यक्ति बजेट भारतभन्दा बढी छ, यहाँ सडक सञ्जालमा उल्लेखनीय वृद्धि भएको छ, रेमिटेन्स भित्रिदैछ, शान्ति सुरक्षामा कुनै समस्या छैन्,’ वीरगन्ज उद्योग वाणिज्य संघका सल्लाहकार रहेका निम्बस समूहका अध्यक्ष जगदीश अग्रवालले भने, ‘नेपालमा अहिले विद्युत् आपूर्तिमा उल्लेखनीय सुधार भएको छ, जलविद्युत् उत्पादन बढ्दैछ, जसको लागि घरेलु बजारमा पर्याप्त माग थपिदै छ । तेस्रो मुलुकसँगको व्यापारमा रहेका समस्या हामीले स्वीकार गरेका छौं । व्यावसायिक रुपमा त्यसको सहजीकरण गर्ने अवसर छ, व्यावसायिक शिक्षा र सीपमूलक तालिमका संस्थान यहाँ लगानीको राम्रो क्षेत्रको रुपमा छ, सेवामूलक क्षेत्र पनि निकै सम्भावनायुक्त छ ।’ भारततिरबाट यातायात सुविधा, खुल्ला सिमाना, ऐतिहासिक रुपमा सामाजिक, राजनीतिक पृष्टभूमि जोडिएको भए पनि अब सबै आर्थिक–व्यापारिक सम्बन्ध भारतकै भर नपर्ने अवस्था सिर्जना भएकाले सम्बन्ध प्रगाढ बनाइराख्न आर्थिक आधारहरु स्थापित गर्न उनले जोड दिए । यता उतरी सिमाना पनि बिस्तारै नेपालको लागि सहज हुँदै गएको उनले बताए । 

वरिष्ठ उद्योगी अग्रवालले ‘नेपाल–भारत लगानी बोर्ड’ दुई देशका उद्योग वाणिज्य संघको अग्रसरतामा गठन गर्नुपर्ने प्रस्ताव राखेका छन् । कार्यक्रमको अध्यक्षता गरेका वीरगन्ज उद्योगा वाणिज्य संघका अध्यक्ष ओमप्रकाश शर्माले एक दशकको प्रयासपछि यस्तोखाले दुई देशका निजी क्षेत्रका प्रतिनिधिबीच लगानीका सवालमा सम्मेलन हुन सकेकोमा खुसी व्यक्त गरे । भारतीय माहावाणिज्यदूत बिसी प्रधानले दुई दशेबीचको व्यापार र नेपालमा लगानी प्रवद्र्धन गर्न आफूहरु प्रयासरत रहेको जानकारी दिँदै नेपालमा लगानीका लागि खाली क्षेत्र र वातावरण दुवै भएको बताए । 

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले प्रदेश नम्बर ४ मा नयाँ औद्योगिक क्षेत्रको विकास गर्न आफूहरु लागिपरेकाले त्यहाँ उत्पादनमुखी औद्योगिक क्षेत्र र सेवामुखी उद्यम तथा व्यवसाय दुवैतिर लगानीका अवसर रहेको बताए । मोरङ व्यापार संघका प्रतिनिधि अनिल सारदाले विराटनगर क्षेत्रलाई सुगम बताउँदै लगानीका लागि आमन्त्रण गरे । वीरगन्ज उद्योग वाणिज्य संघका सचिव मनोज दासले नेपालमा विविध भूगोल, हावापानी र मौसम रहेकाले यहाँ लगानीको सम्भावना पनि विविध रहेको बताए । 

शिक्षा, स्वास्थ्य, पर्यटन, कृषि र भौतिक पूर्वाधारलाई उनले मुख्य सम्भावनायुक्त क्षेत्र बताए । उतर प्रदेश उद्योग वाणिज्य संघका माहासचिव बिएन गुप्ताले आफूहरु लगानी गर्न इच्छुक रहेकाले प्रतिनिधि टोलीसहित नेपाल आइपुगेको बताए । उद्योग वाणिज्य संघ बिहारका प्रतिनिधि सुनिल सिंहले आफूहरु नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्न चाहेको बताए । बिहारका अर्का उद्योगी सुबोध कुमारले ‘फुड एन्ड बेभरेज’मा लगानी गर्न आफ्नो चाँसो रहेको जनाए भने बिपिन चचानले एग्रो केमिकल्समा लगानी गर्न चाहेको बताए ।  

प्रकाशित: २५ श्रावण २०७४ ०७:०० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App