८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

झुठो विवरण दिने भारतीय दम्पती बर्खास्त

तस्बिर : बिबिसी

नयाँ दिल्ली – विश्वको सर्वोच्च शिखर चढ्ने भारतको पहिलो दम्पत्ति भएको दाबी गरेका भारतीय प्रहरीमा कार्यरत एक दम्पत्तिलाई प्रहरी सेवाबाट बर्खास्त गरिएको छ। 

भारतीय प्रहरी सेवामा कार्यरत दिनेश राठोड र उनकी श्रीमती तारकेश्वरीले गत वर्षको मे २३ का दिन विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेको झुठो दावी गरेका कारण भारतीय प्रहरीले आफ्नो सेवाबाट बर्खास्त गरेको बताइएको छ । भारतको महाराष्ट्र राज्यका अधिकारीले सोमबार उक्त दम्पतीले जोडजाड पारिएको तस्वीर प्रयोग गरेर आफूले सगरमाथाको सफल आरोहण गरेको दावी गरेको निष्कर्ष निकाले पछि उनीहरुलाई सेवाबाट बर्खास्त गरिएको भारतीय सञ्चार माध्यमको जानकारी उद्धृत गर्दै बिबिसीले जनाएको छ । राठोड दम्पतीले सगरमाथाको आरोहण गरेको विषयको सत्यतामाथि अरु आरोहीले प्रश्न उठाएपछि छानबिन अघि बढाइएको थियो।

महाराष्ट्र राज्यका अतिरिक्त प्रहरी कमिस्नर सेहिब्राओ पाटिलले पीटीआई समाचार संस्थालाई ती दम्पतीले गलत सूचना दिएर महाराष्ट्र प्रहरीको प्रतिष्ठामा आँच पुर्‍याएको प्रतिक्रिया दिएका छन् । प्रहरी सेवाबाट बर्खास्त गरिएपछि उनीहरुविरुद्ध थप कारबाही गर्ने विषयमा भने केही बताइएको छैन।

राठोड दम्पत्तिले सगरमाथा आरोहण गरेको विषय झुठो भएको निष्कर्ष निकाल्दै नेपाल सरकारले पनि गत वर्ष उनीहरुलाई १० वर्ष पर्वतारोहणमा प्रतिबन्ध लगाइसकेको छ। 

नेपालको पर्यटन विभागले सुरुमा उनीहरुको आरोहणलाई मान्यता दिएपनि अनुसन्धानपछि त्यसलाई रद्द गरेको थियो । सुरुमा राठोड दम्पतीले संवाददातालाई उक्त तस्बिर वास्तविक भएको बताएका थिए।

तर भारतको बैंगलौर बस्ने अर्का पर्वतारोही सत्यरुप सिद्धान्थले ती दम्पतीले प्रमाणका रुपमा प्रस्तुत गरेको तस्बिर आफूले आरोहण गर्दा खिचेको बताएका थिए । राठोड दम्पत्तिले हिमाल आरोहण सम्पन्न गरेको समय र आफ्नो उपलब्धि सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनको समयबीचको अन्तर अमिल्दो देखिएपछि थप शंका पैदा भएका थिए।

उनीहरु सगरमाथा आरोहण सम्पन्न गरी त्यति छोटो समयमा आधार शिविर फर्कन नसकिने निष्कर्ष निकालिएको थियो । साथै उनीहरुले पेश गरेको तस्बिरमा देखिएका र आरोहणका क्रममा लगाएका पोशाक तथा जुत्ता फरक पाइएको थियो । आठ हजार आठ सय ४८ मिटर लामो विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेको मानिसलाई आरोहण उत्प्रेरक वक्ता र लेखक पेशामा जान लाभदायक बन्ने गरेको छ।

गत वर्षको वसन्त याममा दुई सय ५० विदेशीसहित चार सय ५० भन्दा बढी मानिसले सगरमाथा आरोहण गरेका थिए । 
सगरमाथा चढेको झुठो विवरण दिने दिनेश राठोड र उनकी श्रीमती तारकेश्वरी ।

प्रकाशित: २५ श्रावण २०७४ ०४:२१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App