७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

अमेरिकासँग बदला लिने उत्तर कोरियाको चेतावनी

सोल- उत्तर कोरियाले आफ्नो आणविक कार्यक्रमलाई लिएर संयुक्त राष्ट्र संघले लगाएको नयाँ प्रतिबन्धको बदला लिने प्रतिज्ञा गर्दै अमेरिकाले यसको मूल्य चुकाउनु पर्ने चेतावनी दिएको छ ।

उत्तर कोरियाको आधिकारिक एंव राज्य सञ्चालित समाचार एजेन्सी केसिएनएले संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को शनिबार बसेको बैठकबाट आफूविरुद्ध पारित भएको प्रतिबन्ध उत्तर कोरियाको सार्वभौकितामाथि ठाडो हस्तक्षेप भएको बताएको छ।

संयुक्त राज्य अमेरिकाले आफ्नो देशका विरुद्धमा हालै लगाएको नाकाबन्दीले आणविक परीक्षणपछिको वार्ताको सम्भावना झन टरेको उत्तर कोरियाले जनाएको छ।

यसैबीच आफूले गरेको वार्ताको प्रस्ताव जालसाझी भएको आरोप लगाउँदै उत्तरले अस्विकार गरेको दक्षिण कोरियाले जनाएको छ। संयुक्त राष्ट्र संघ सुरक्षा परिषद्को शनिबार भएको बैठकले उत्तर कोरियामाथि लगाएको नयाँ प्रतिबन्धले उसको निर्यातमा एक तिहाईले कमी आउने बताइएको छ। उत्तर कोरियाले निरन्तर रुपमा गरेको क्षेप्यास्त्र परीक्षण्ले कोरियाली प्रायद्विपमा तनाब उत्पन्न गरेको भन्दै संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्मा उत्तरविरुद्ध प्रतिबन्ध लगाउने विषयमा सर्वसम्मत निर्णय भएको थियो। प्रतिबन्धसम्बन्धी शनिबारको निर्णयमा पहिलो पटक सोमबार औपचारिक धाराणा राख्दै उत्तर कोरियाले आफ्नो विवादित आणविक हतियार कार्यक्रम अगाडि बढाउने चेतावनी दिएको छ। राज्य सञ्चालित उत्तर कोरियाको समाचार एजेन्सी केएनसिएले प्योङयाङले अमेरिकाबाट सुरक्षा चुनौति रहेको भन्दै आत्मरक्षाका लागि गरिएको आणविक कार्यक्रम सम्झौताको टेबलमा नराख्ने बताएको छ। उत्तरले संयुक्त राष्ट्र संघले आफूमाथि प्रतिबन्ध लगाउने विषयको प्रस्तावनामा अमेरिकी भूमिकालाई उद्धृत गर्दै अमेरिकाले गरेको अपराधको हजारौं पटक मूल्य चुकाउनुपर्ने चेतावनी दिएको छ।

उत्तर कोरियाको सोमबारको धारणा उत्तर र दक्षिण कोरियाका विदेशमन्त्रीले फिलिपिन्सको राजधानी मनिलामा भइरहेको क्षेत्रीय बैठकमा आइतबार साँझ गरेको संक्षिप्त कुराकानीपछि आएको बताइएको छ। दक्षिण कोरियाका सञ्चारमाध्यमले विदेशमन्त्री काङ क्युङ–वाहले उनकी उत्तर कोरियाली सहपाठी री योङ होसँग दक्षिणपूर्वी एसियाली राष्ट्रको संगठन आसियनले आयोजना गरेको संक्षिप्त र अव्यवस्थित डिनर कार्यक्रममा हात मिलाएको जनाएको छ। उत्तर कोरियाली विदेशमन्त्री रीले उनका दक्षिण कोरियाली समकक्षीले गरेको वार्ताको प्रस्तावलाई छल भएको भन्दै अस्विकार गरेको दक्षिण कोरियाली अधिकारीको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उत्तर कोरियाली विदेशमन्त्री रीले वार्ताको प्रस्ताव अस्विकार गर्नुमा संयुक्त राष्ट्र संघको नयाँ प्रतिबन्ध प्रमुख कारण भएको हुनसक्ने दक्षिण कोरियाली विदेशमन्त्री काङको भनाई उद्धृत गर्दै समाचार एजेन्सी योन्हापलेेेेेे बताएको छ।

'मैले उनलाई दुई पक्षबीचको वार्ता एकदमै आवश्यक रहेको र त्यसलाई राजनीति अजेन्डालाई थाती राखेर भएपनि चाँडै नै गर्नुपर्ने बताएँ,' दक्षिण कोरियाली विदेशमन्त्री काङको भनाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। उत्तर कोरियाको नजिकको अन्तर्राष्ट्रिय साझेदार चीनका विदेशमन्त्री वाङ यीले पनि सोमबार संवाददातसँग बोल्दै उत्तर कोरियाले दक्षिणको वार्ता प्रस्तावलाई पूर्ण रुपमा अस्विकार गरे जस्तो नलागेको बताएका छन्। चिनियाँ विदेशमन्त्री वाङले चीनले दक्षिणको प्रयासलाई समर्थन गरेको पनि बताए।

 उत्तर कोरियाले पछिल्लो समयमा शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको छ। गएको करिब दुई वर्षयतादेखि निरन्तररुपमा उसले आणविक परीक्षण जारी राखेको छ।  यो पछिल्लो नाकाबन्दीले उत्तर कोरियाको अर्थतन्त्रमा पनि नराम्रो असर पर्ने जनाइएको छ। तर उसले भने उत्तर कोरियालाई अमेरिकाको यो नाकाबन्दीले कुनै असर नपर्ने बरु देशलाई आत्मनिर्भर हुन सघाउ पुर्‍याउने जनाएको छ। 

 संयुक्त राष्ट्र संघ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तरराष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानूनको उल्लंघन गरेको प्रतिक्रिया दिँदै आएको भए पनि उत्तर कोरियाले भने यस्तो कुनै आग्रह सुन्ने गरेको छैन। 

प्रकाशित: २४ श्रावण २०७४ ०३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App