८ वैशाख २०८१ शनिबार
विचार

नेपालमा गैरसरकारी संस्थाको भूमिका

गैरसरकारी संस्था छोटकरीमा 'गैसस' बारे बहस र छलफल गर्ने काम नेपालमा सजिलो छैन। यसमा संलग्न मानिसको 'पहुँच र प्रभाव' नेपालको राजनीतिमा मात्र होइन, अन्तर्राष्ट्रिय क्षेत्रमा पनि छ। गैससवादीहरूले नेपालमा सरकार हल्लाइदिन्छन्, विकासकार्यलाई ठप्प पार्न सक्छन्, गरेका पनि छन्। तर गैससको परिवर्तित भूमिकाबारे बहस र छलफल गर्ने विषयमा भने यी झण्डै 'धम्कीको शैली' मा प्रस्तुत हुने गर्छन् र विचारविमर्श रोक्छन्।

नेपालमा झांगिएको गैसस संस्कृति भनेको कम मेहनतमा केही पश्चिमा शिक्षा र गैसस 'जार्गन'लाई प्रयोग गरी भिख माग्न जान्ने समुदाय र संस्कारको विकास हो भनी बुझिन्छ।

केही दिनअगाडि मैले टेलिभिजन कार्यक्रममा गणतन्त्र नेपालको राजनीतिक नक्सा नयाँ कोरिएको छ, स्थानीय निकायहरूलाई दिगो र प्रभावकारी बनाउने सिलसिलामा गैसस तगारो हुनेछन भनेँ। यी अनिर्वाचित 'सेतो लुगाधारी' समूहले निर्वाचित राजनीतिक संयन्त्रलाई अक्षम र कमजोर पार्ने अनेकन जुक्ति निकाल्नेछन् र नेपालको स्वराजतर्फको यात्रा कमजोर पार्नेछ भनी बोलेँ। यसको व्यापक विरोध भयो सामाजिक सञ्जालमार्फत। स्थानीय निकाय र सिंहदरवारलाई राजनीति र आर्थिकरूपले  शक्तिशाली बनाउने हो भने एकपल्ट नेपालको नक्साबाट 'क्लिन' पार्नुपर्छ गैससलाई भनेको कुरा राजधानीमा धेरैले रुचाएनन्। मोफसलमा पक्ष र विपक्षबीच बाँडिएर स्वस्थ छलफल भयो। 

नेपालको संविधानले देशको आर्थिक सामाजिक विकासको माध्यम निजी, सरकारी, सहकारी र सामुदायिकलाई बनाएको छ। अब गैरसरकारी संस्था जो नेपालमा आफूलाई आर्थिक र सामाजिक रूपान्तरणको 'मसिहा' ठान्छन् तिनको भूमिका कसरी र केमा निर्देशित गर्ने? भनिन्छ, नेपालमा ५ सय जनामा एउटा गैसस छ, तिनको उपदेयता के?

गैससको संख्यालाई लिएर नेपालमा केही यकिन गर्न सम्भव छैन। गैससको पहिचान नेपाली समाजमा तिलस्मी र रहस्यले भरिएको छ। गैससकोे संख्या कति छ? यो कुन कुन क्षेत्रमा काम गर्छ? यसले पैसा कहाँबाट ल्याउँछ? गैससमा आबद्ध भएर कतिजनाले रोजगारी पाएका छन् नेपालमा? कस्ताले गैससमा रोजगारी पाउँछन् र कसरी?  गैससमा काम गर्ने नेपाली र विदेशीको तलवमान कति छ? सरकारको नियम/कानुन मानेर कति गैसस चलेका छन्? कुनै कुरा पनि गैससको पारदर्शी छैन। नेपालमा बच्चाहरूले चाखले पढ्ने भूतनाथको कथा जस्तै रहस्यमय र तिलस्मी भएको छ गैसस यतिखेर नेपालमा।

गैरसरकारी संस्थाबारे आमनेपालीबीच नकारात्मक सोच बढी छ। गैससकर्मीहरूको विश्वसनीयता यतिखेर जनताको कठघरामा छ। स्वाभाविक छ, कुनै पनि राष्ट्रिय र अन्तर्राष्ट्रिय गैससले आमनागरिकमा गहिरो गरी बसेको यस्तो नकारात्मक सोचलाई पारदर्शी ढंगले कहिले पनि प्रस्तुत हुन चाहना राखेन। तसर्थ के छन् र किन छन् त्यस्ता गैससबारे नकारात्मक सोच हेरौँ।

सर्वप्रथम सबै गैससमाथि लाग्ने आरोप भनेको यो अनिर्वाचित संस्था अत्यन्त अपारदर्शी छ भन्ने हो। गैससको जस्तो अपारदर्शिता नेपाल सरकारमा पनि छैन भन्ने विश्वास छ। दोस्रो, गैससले पाउने 'फन्डिङ'को स्रोत नेपाली जनतालाई रहस्यमय लाग्छ। किन विदेशीले केहीलाई डलर दिन्छन् भन्ने चर्चा झापादेखि कञ्चनपुरसम्म छ।  यो कसरी प्राप्त हुन्छ र किन? भन्ने प्रश्न अनुत्तरित नै छ र प्राप्त गर्नेहरूले कुनै गोष्ठीमा आफूले पाएको रकमबारे विरलै चर्चा गर्छन्। झण्डै दुई दशकअगाडि भारतीय प्रम अटलबिहारी वाजपेयीले नेपालका प्रम गिरिजाप्रसाद कोइरालालाई नेपालको सीमावर्ती क्षेत्रमा अरबका मुस्लिम अतिवादीहरूले 'मदरसा' खोल्न सहयोग गरेको कुरा उठाए र रोक्न अनुरोध गरेका थिए। तर भारत स्वयम्ले कैयन् व्यक्ति र समूहलाई राज्यलाई छल्दै नेपालमा सहयोग गरेको कुरा बन्द गर्छु भनी आजसम्म एक शब्द बोलेन। 

तेस्रो जोसँग पैसा छ, त्योसँग शक्ति पनि हुन्छ नै। नेपाली समाजमा गैससको समानान्तर सत्ता चलेको छ भनी मानिन्छ।  यस्तो सोच विकसित हुनुको पछाडि गैससको नाममा नेपाली समाजले पैसाको भद्धा र कुरूप प्रदर्शन गैससको तारे होटल र रिसोर्टमा देख्छन्। कुनै पनि गैससकर्मीको चाल ढाल नै फरक हुन्छ भन्ने आमजनधारणा छ। गैसस सरकार पक्षीय भयो भने विकासको चटनी राजनीतिकर्मीलाई यिनले चटाउँछन्, सरकार विरोधी भयो भने समानान्तर सत्ता चलाउँछन् भन्ने सोच राजनीतिक क्षेत्रमा छ।

चौथो, नेपाली समाजमा सामाजिक रूपान्तरणको अभियन्ता हुनुपर्ने गैससवादीहरू सामाजिक कुरीतिका लागि जिम्मेवार छन् भन्ने सोच जनतामा विकसित भयो। पश्चिमा र आधुनिकताको नाममा गैससमार्फत नेपाली संस्कृति र सभ्यतामाथि निरन्तर आक्रमण भइरहेको छ भनी चिन्ता गर्ने ठूलो समुदाय नेपालमा छ। नेपाली समाजमा लाहुरे संस्कृतिले एउटा सभ्यता विकास भएको मानिन्छ भने विगत तीन दशकको लोकतान्त्रिक यात्रामा गैसस संस्कृति पनि भित्रिएको मानिन्छ। यो गैसस संस्कृति भनेको कम मेहनतमा केही पश्चिमा शिक्षा र गैसस 'जार्गन'लाई प्रयोग गरी भिख माग्न जान्ने समुदाय र संस्कारको विकास हो भनी बुझिन्छ।

पाँचौँ, गैससका कारण राज्य कमजोर भयो नेपालको। राज्य र  नागरिकको सम्बन्धबीच गैसस आयो। यसले राज्यमात्र कमजोर भएन। राजनीतिकर्मीको पनि गैसससामु भिख माग्ने संस्कार विकास भयो। गैससवादीहरू 'सिभिल सोसाइटी' भएका छन् हिजोआज, त्यस्तै राजनीतिकर्मीहरू 'अनसिभिल' भएका छन्। यो 'सिभिल' र 'अनसिभिल' अनि निर्वाचित र अनिर्वाचितबीचको द्वन्द्वमा नेपालको विकास प्रयास ठप्प भएको छ। राजनीति बन्धनमा परेको छ। आफ्नो निर्वाचन क्षेत्रको स्कुल, कलेज, पिउने पानी, बाटोघाटो, रोजगारी आदि सबै गैससले गर्छ भनी राजनीतिकर्मीले बुझे र आफ्नो र नागरिकबीच 'विकासे एजेन्ट' का रुपमा गैससलाई उभ्याए। नेपालको कानुन, नियम र मर्यादा सिकाउन छाडेर जनप्रतिनिधिले गैससलाई दाता बनाए, तिनको कृपा थाप्न हानाथाप गरे। यो गलत संस्कार अब स्थानीय निकायमा नपुगोस् भनी हेक्का नराखे निर्वाचितहरू अनिर्वाचित सेतो लुगाधारीको फायल बोकुवा हुनेछन्।

छैटौँ, गैसस समाज रूपान्तरण र आर्थिक समृद्धिको अजेन्डामा भन्दा यसको कार्यशैली समयसापेक्ष हुन्छ। पाँच वर्षका लागि वा समयसीमा तोकेर गाउँ वा सहर पस्छन्। गाउँमा धुलो उडाउँछन्, आश्वासन बाँड्छन, फारम भर्छन् र फेरि नागरिकलाई अलपत्र पारी कहिले नफर्कने गरी ठाउँ छाडी अन्यत्र जान्छन्।  

हिजोआज गैससको नयाँ ढाँचा र नयाँ सञ्चालन विधि विकसित भएको छ। काठमाडौँमा बस्ने गैससमा एउटा विदेशमा पढेको कार्यकारी प्रमुख रहन्छ। उसले स्वयम्सेवी भनी समावेशी तरिकाले एउटा समूह गठन गरी सरकार र संसद्को आँखामा छारो हाल्छ र दातासामु समावेशी लोकतन्त्रको विकासका लागि सहयोग गर भनी याचना गर्छ। विचरा समावेशी संगठनका प्रतिनिधिलाई कार्यकारी प्रमुखले अगाडि सारेको बढो सुन्दर फायल र माइन्युटमा सही गर्नेबाहेक केही काम हुँदैन। सबै काम र दाम एकजना पश्चिमा शिक्षा प्राप्त सेतो लुगाधारी व्यक्तिको जिम्मामा रहन्छ। गैसस आन्दोलनले नागरिकबीच उठेका माथिका आरोप असत्य हुन् भनी प्रमाणित गर्नुपरेको छ अहिले।

उद्धार, राहत, पुनर्स्थापना, विकासको यात्रा तय गर्दै गैसस आन्दोलन अहिले राज्यलाई नीति निर्माणमा दबाब दिने हैसियत राख्छ विश्वव्यापीरूपमा। गैससको यो उचाइ अमेरिकी राष्ट्रपति रोनाल्ड रेगन र वेलायती प्रम मार्गेट थ्याचरको खुला उदारवादी अर्थव्यवस्था र राज्यको मितव्ययी नीतिअन्तर्गत सम्भव भएको मानिन्छ। गैससको भूमिका बढाउने र राज्यको भूमिमा खुम्च्याउने अभियान नै चल्यो विश्वव्यापीरूपमा रेगन र थ्याचरको नेतृत्वमा। र, नेपाल यसको प्रयोगशाला भयो, भइरहेकै छ। केही वर्षअगाडिसम्म आवाजविहीन समुदायको आवाज भनी गैसस आन्दोलनलाई बुझिन्थ्यो, अहिले आवाजविहीनहरूले गैससविरुद्ध नै आवाज उठाउन थालेका छन्।

नेपालमा सरकारको रातो कितावमार्फत पैसा दिएर नेताहरूको श्राद्ध गर्न जन्मेका गैससहरूबारे चर्चा गर्नु बेकार छ। यी गैसस परिवारवाद र अनुयायीको घेरामा सीमित छन्। बिपी कोइराला, गिरिजाप्रसाद, मनमोहन, महेन्द्रनारायण निधी, मदन भण्डारी, तुल्सीलाललगायत नेताको परिवारले तिनको श्राद्ध गर्छन्/गदर्ैैनन् थाहा भएन तर राज्यले भने ढुकुटीबाट श्राद्ध गर्न दिने पैसा निरन्तर बढ्दो छ।

नेपालमा मात्र होइन, विश्वमै गैससले समाज र व्यवस्था अस्तब्यस्त मात्र पारे भनी सोच्नु सही हुन सक्तैन। नेपालकै सन्दर्भमा वर्गीय चेत, जातीय आन्दोलन, सामाजिक कुरीतिविरुद्धको आन्दोलन, राज्यबाट अपहेलित र उपेक्षित समुदायप्रतिको जिम्मेवारी कैयन् सकारात्मक पक्ष छन् गैसस आन्दोलनका। वर्गीय आन्दोलनबाट राजनीतिक यात्रा प्रारम्भ गरेको एमाले पार्टी अहिले गैससवादी पार्टी भनी नेपालभर चिनिन्छ। गैससलाई नागरिकबीच ठीक दिशा निर्देश गर्ने काममा समाज कल्याण मन्त्रालय र गृह मन्त्रालयलगायत राजनीतिक दलहरूको पनि उत्तिकै जिम्मेवारी छ।

अनिर्वाचित गैससहरूलाई निर्वाचित सांसदहरूले देशको नियम/कानुनभित्र ल्याएर पारदर्शी बनाउने जिम्मेवारी काँधमा छ। मैले केही वर्षअगाडि एकजना स्विडिस नागरिकलाई तिम्रो पारिश्रमिक कति छ भनी सोधेँ। स्विडिसले म भन्न चाहन्न किनकि तिम्रो देशमा सञ्चालित पाँच वर्षे परियोजनाभन्दा मेरो तलव धेरै हुन्छ तसर्थ तिमीहरू 'डिमोटिभेट र डिमोरलाइज्ड' हुन्छौ भन्दै त्यसैले 'हामी दाता यस्ता कुरा पारदर्शी गर्न चाहँदैनौँ भन्ने जवाफ दिएका थिए। जवाफ अचम्मको थियो र अझै यस्तै जवाफ पाइन्छ।  

भनिन्छ, नेपालमा १९९० सालको भुइँचालोपछि गरिएको उद्धार, राहत र पुनर्स्थापना ब्रिटिस भारतको भन्दा उच्च स्तरको थियो, प्रभावशाली थियो। नेपालको पूर्वी तराईमा भारतको बिहारबाट धेरै ठूलो जनसंख्या त्यही समय आई बस्न थालेको हो। त्यस्तै एक दशकअगाडि कोशी बाँध फुटेर बस्तीमा प्रवेश गरेपछि बिहार र नेपालका मानिस कोशी डुवानबाट प्रभावित भए। त्यो समय पनि नेपाल सरकार र यहाँको गैससको प्रयासले उद्धार, राहत र पुनर्स्थापना कार्य भारतको भन्दा प्रभावशाली भएर ठूलो संख्यामा भारतीय नेपाल प्रवेश गरे। पछि तिनले नेपाली नागरिकता पनि सहजै प्राप्त गरे भनी अझै पूर्व नेपालमा चर्चा सेलाएको छैन। नेपालको पूर्वी नाका जोगवनीमा त्यतिखेर देखिएको भारतीयहरूको लामो लस्कर नेपालपटि्टको उद्धार कार्यबाट प्रभावित भएर हो भन्ने आममान्यता थियो।

अन्तमा, साना/ठूला, स्थानीय/अन्तर्राष्टिं्रय सबै गैससका राम्रा र खराव दुवै पक्ष छन्। नेपालमा गैसस आन्दोलनको यात्रा यहाँसम्म आइपुग्दा नेपालको राजनीतिक नक्शामा ठूलो परिवर्तन आएको छ। अब समयको माग छ– गैससकर्मीहरूलेे नयाँ नेपालमा नयाँ सोच र संरचनाबाट अगाडि बढ्ने। सोच्नु यो पर्नेछ कि के काठमाडौँमा गैससको जरुरत छ? कसरी गैससलाई सफेदपोषधारीको कब्जाबाट अभाव र वञ्चनामा परेकाको बीच पुर्‍याउने? कस्मेटिक होइन, सही अर्थमा तिनैको नेतृत्व र सहभागितामा स्रोत र साधन परिचालन गर्ने। दाता निकायले अब गैसस होइन, स्थानीय सरकारसँग सिधा सम्पर्कका माध्यमबाट यो सम्भव छ कि छैन? त्यसका लागि नयाँ कानुन आवश्यकता पर्छ भने त्यो पनि गरौँ। ल्याटिन अमेरिकी देशमा गैसस आन्दोलनले जनताको आक्रमण झेल्नुपर्‍यो। नेपालमा गैससकर्मीले समयको पदचाप सुनेर पुरोहितको काम गर्न बन्द गर्लान् ?    

प्रकाशित: २४ श्रावण २०७४ ०२:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App