७ वैशाख २०८१ शुक्रबार
समाज

'दसैंसम्म सडक चिल्ला बनाउँछौं'

काठमाडौं- उपत्यकाका सडकका खाल्डा पुर्ने जिम्मा पाएका सरोकारवाला निकायले दसैंसम्म सबै सडक पिच गर्ने बताएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको समयसीमाभित्र वर्षात्का कारण काम नसकिएको जनाउँदै उनीहरूले दसैंसम्म सबै खाल्डा पुरिसक्ने बताएका हुन्।

'अहिले टालटुले निर्माण भए पनि दसैंसम्म उपत्यकाका सबै सडक पिच गरेर चिल्ला बन्छन्,' प्रधानमन्त्री कार्यालयका सहसचिव दामोदर रेग्मीले भने, 'खाल्डा पुर्ने निकायलाई हामीले अहिले मुख्य जोखिम टर्ने गरी काम भए पनि दसैंसम्म सबै खाल्डा पुरेर पिच गर्न निर्देशन दिएका छौं।' उनले अहिले खाल्डा पुर्ने जिम्मा पाएका सबै निकायले काम गर्दा पनि बर्खाको कारण खासै प्रगति नदेखिए पनि काम भइरहेको बताए। 'बर्खाको समयमा यति काम हुनु राम्रो कुरा हो,' उनले भने, 'हामीले पाएको प्रतिवेदनअनुसार अहिलेसम्म मुख्य सडकखण्डका ८० प्रतिशत खाल्डा पुरिएको विवरण छ।'

उनका अनुसार प्रधानमन्त्रीले निर्देशन दिएको २३ दिनसम्म मुख्य सडक खण्डका खाल्डा पुरिएका छन्। पुतलीसडक–हात्तीसार, हात्तीसार–बालुवाटार, सुन्धारा–रत्नपार्क, भोटाहिटी–जमल, लैनचौर–नारायण गोपालचोक, अनामनगर–कालिकास्थान, चारखाल–ज्ञानेश्वर, नक्साल–भगवतीबहाल, गौशाला–जयबागेश्वरी, थापाथली–माइतीघर, बाँसबारी–नारायणचोक, चाबहिल–गोपीकृष्ण, तिनकुने–कोटेश्वरलगायत सडकखण्डका मुख्य खाल्डा पुर्ने कार्य पनि भइरहेको छ।

वर्षात्का कारण साचेजस्तो ढंगबाट काम गर्न नसकिएको खाल्डा पुर्ने जिम्मा पाएका निकायका सचिवहरू बताउँछन्।

असार ३० गते उपत्यकामा भएको घटनापछि प्रधानमन्त्रीले १५ दिनभित्र उपत्यकाका २१ स्थानका खाल्डा पुर्न प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालयका सचिव चन्द्र घिमिरेको संयोजकत्वमा खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव भीमप्रसाद उपाध्याय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्की र संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई काम गर्न निर्देशन दिएका थिए।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता हरिप्रसाद पन्थीले सबै निकायले अहिलेसम्म गरेको कार्य प्रगति पठाइरहेको बताए। 'जिम्मा पाएका सबै निकायलाई जोखिपूर्ण खाल्डा पुर्न बारम्बार निर्देशन दिइरहेका छौं,' उनले भने, 'खाल्डा पुर्ने जिम्मेवार निकायले दसैंसम्म सबै खाल्डा पुरेर चिल्लो बनाउने बताएका छन्।'

स्थानीय विकास मन्त्रालयका दिनेश थपलियाले निर्देशनको समयसीमा सकिए पनि काम भइरहेको जानकारी दिए। उनले कार्यालयको कामले सडक अवलोकनमा त्यति निस्कन नपाएको बताए।

निर्देशन पाएको २३ दिन भइसक्दा पनिसम्म हात्तीसार–गौशाला, जयबागेश्वरी–कालोपुल, गौरीघाट–गौशाला, चाबहिल–चुच्चेपाटी, चाबहिल–जोरपाटी, महाराजगन्ज–बूढानीलकण्ठ, केशरमहल–लाजिम्पाट, तीनकुने–बानेश्वर, तिनकुने–कोटेश्वर, रत्नपार्क–सिनामंगल, त्रिपुरेश्वर–कलंकी, लैनचौर–सोह्रखुट्टे, चावहिल–गोपिकृष्णलगागत मुख्य सडकखण्डका खाल्डा खासै पुरिएको देखिँदैन।

मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक शिवहरि सापकोटाले मुख्य सडकका खाल्डा पुर्ने कार्य भइरहेको जानकारी दिए। 'समयसिमा सकिए पनि कामलाई निरन्तरता दिएका छौं अहिले सबै समस्या हल नभए पनि दसंैअगावै धेरैजसो काम सकिन्छ।'

प्रकाशित: २४ श्रावण २०७४ ०२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App