४ वैशाख २०८१ मंगलबार
स्वास्थ्य

स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

पोखरा- पछिल्लो समय इन्फ्लुएन्जा ए भाइरस–एच१ एन१ (स्थानीय बुझाइमा स्वाइनफ्लु) का बिरामी कास्कीसहित आसपासका जिल्लामा ह्वात्तै बढेका छन्। बिरामी बढेपछि सतर्कता अपनाउन स्वास्थ्यकर्मी र निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको भन्दै सतर्क हुन आग्रह गरेको छ।

 

संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य निकायमा कार्यरत कर्मचारीलाई लामो बिदा बस्न र काजमा स्वास्थ्य संस्था छाड्न रोक लगाएको छ।

जिल्ला समन्वय समितिसँगको सहकार्यमा सोमबार पत्रकार भेटघाट गर्दै जनस्वास्थ्य कार्यालय कास्कीले संक्रमण फैलने क्रम तीव्र रहेको जानकारी दिएको छ। कार्यालयका भेक्टर कन्ट्रोल निरीक्षक यम बरालले कास्कीसहित स्याङ्जा, पाल्पालगायतका जिल्लामा मान्छेको ज्यानै जानेगरी संक्रमण फैलिएको बताए। 'पछिल्लो साता मात्र ६० वटा स्याम्पल पठाएकोमा ४१ वटामा पोजेटिभ देखियो,' उनले भने, 'पछिल्लो दुई महिनादेखि यो रोग फैलन थालेको थियो। तर, पछिल्लो साताको वृद्धिदर निकै उच्च छ।' उनले बिरामीको संख्या अझै बढ्न सक्ने सम्भावना रहेको समेत बताए।

'सरुवा रोग भएकाले पनि यसको प्रभाव बढी छ,' बरालले भने, 'यसमा हामी पनि सतर्क भएका छौं। अब सर्वसाधारण पनि सचेत हुन जरुरी छ,' उनले भने। पोखरा र आसपासका सहरी भेगमा तीव्र गतिमा संक्रमण फैलिएको उनले बताए। संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले मातहतका स्वास्थ्य निकायमा कार्यरत कर्मचारीलाई लामो बिदा बस्न र काजमा स्वास्थ्य संस्था छाड्न रोक लगाएको छ। 'संक्रमण नियन्त्रणमा नआएसम्म कर्मचारीलाई बिदा बस्न रोक लगाएका छौं,' बरालले भने।

उनका अनुसार पश्चिमाञ्चल क्षेत्रीय अस्पतालबाट पुसदेखि साउन मध्यसम्म पठाइएका दुई सय २८ वटा नमुनामध्ये एक सय चारवटामा पोजेटिभ देखिएको छ।

रोग फैलन नदिन यहाँका विद्यालयमा कक्षा सुरु हुनुपूर्व हुने प्रार्थना समयमा सूचना दिएर चेतना फैलाउने तयारी गरेको उनले बताए। 'अहिले नै विद्यालय बन्द गरेका छैनौं तर आवश्यक ठानेमा शिक्षण संस्था नै बन्द गरी नियन्त्रण पहल गर्न जरुरी हुन सक्छ,' बरालले भने।

उनका अनुसार रोग लागेका बिरामीलाई सरकारले निःशुल्क औषधि उपलब्ध गराउँछ। तर, त्यसको सबै परीक्षण पोखरामा सम्भव नभएकाले पनि थप परीक्षणका लागि समय लाग्ने गरेको उनले बताए।  'पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको ल्याबमा पूरै परीक्षण हुँदैन। कुन प्रकारको इन्फ्लुएन्जा हो भन्ने मात्र यकिन हुन्छ,' उनले भने, 'शंकास्पद देखिएमा थप परीक्षणका लागि काठमाडौं पठाउनुपर्छ।'

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुुसार यो रोगले पुस यता सातजनाको मृत्यु भइसकेको छ। चारजनाको अघिल्लो सातामात्र मृत्यु भएको हो। तीमध्ये पोखरामा दुई महिला र एक पुरुष गरी तीन तथा पाल्पा र स्याङ्जामा एकएक जना बिरामीको मृत्यु भएको हो। बाँकी दुईजना काठमाडौं र झापाका छन्। केही बिरामीको राजधानीका विभिन्न अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले पनि रोग फैलन नदिन स्याङ्जा र पाल्पामा र्‍यापिड रेस्क्यु टिम खटाइएको बताए। 'यो सरुवा रोग हो। अरु रोगभन्दा अलि तीव्र गतिमा फैलिन्छ। यो रोगको भाइरस फैलिने यो नै समय हो। यो पटक बढी फैलिएको हो,' उनले भने, 'तर त्रसित हुनुपर्दैन। सचेतना अपनायो भने पनि रोगबाट बच्न सकिन्छ।' सामान्य उपचारले पनि निको हुने भएकोले डराउन नहुने उनले बताए।

रोग प्रतिरोधात्मक क्षमता कम हुनेलाई यो रोगले छिटो आक्रमण गर्ने उनले बताए। चिकित्सकका अनुसार दुई वर्षमुनिका बालबालिका, ६५ वर्षमाथिका वृद्धवृद्धा, टिबी, निमोनिया, क्यान्सर, मिर्गौला र मधुमेहका बिरामीलाई यो रोगले बढी आक्रमण गर्छ।

ज्वरो आउने, टाउको, घाँटी दुख्ने, रुघाखोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने र बच्चालाई झाडापखालासमेत हुने भएकोले सचेत हुनुपर्ने र यी लक्षण देखिनासाथ स्वास्थ्य संस्थामा जानुपर्ने उनले बताए।

खोक्दा, हाच्छिउँ गर्दा सफा कपडाले मुखनाक छोप्ने, साबुनपानीले हात धुने, पोषिलो र भोल पदार्थ पिउने, ज्वरो आएमा दोहोरो हावा खेल्ने कोठामा बस्ने लगायतका सावधानी अपनाउन पनि चिकित्सकले आग्रह गरेका छन्। उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले विज्ञप्ति जारी गर्दै प्रकोपको रुपमा संक्रमण फैलिएकोले यसबाट सचेत आग्रह गरेका छन्।

प्रकाशित: २४ श्रावण २०७४ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App