coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

रुपन्देहीबाट नवलपरासी सर्दै क्रसर व्यवसायी

बुटवल- रुपन्देहीमा ढुंगागिट्टीको चलखेल गर्ने समूह पछिल्ला केही वर्ष यता नवलपरासीमा सक्रिय भएका छन्। रुपन्देहीका खोलानालामा मनपरी उत्खनन् र निकासी रोकिएपछि व्यवसायीका आँखा नवलपरासीका खोलानालामा परेको हो।

रुपन्देहीमा ढुंगागिट्टी निकासीमा कडाइ गरिएसँगै नवलपरासीका आधा दर्जन खोलामा क्रसर व्यवसायी दोहन गर्न पुगेका छन्। यी खोलामा प्रशस्त नदीजन्य सामग्री भएको र प्रहरी प्रशासनसँग डिलिङ गर्न पनि सजिलो रहेको रुपन्देहीबाट नवलपरासी पुगेका एक क्रसर व्यवसायीले बताए। ती व्यवसायीका अनुसार क्रसर उद्योग सञ्चालनका लागि कडा मापदण्डको व्यवस्था गरिएपछि रुपन्देहीमा क्रसर चलाउन म्स्किल भए पनि नवलपरासीमा त्यस्तो समस्या छैन। मापदण्डअनुसार क्रसर उद्योग खोलाबाट पाँच सय मीटर, जंगलबाट दुई किमि, वस्तीबाट दुई किमि, राजमार्गबाट पाँच सय मिटर र हाइटेन्सनबाट पाँच सय मिटरको दूरीमा हुनुपर्छ। ‘यो मापदण्डअनुसार कागज मिलाइएको छ, तर व्यवहारमा सबै उद्योग मापदण्डअनुसार चलेका छैनन्,' ती व्यवसायीले भने।

रुपन्देहीको मणिग्राममा रहेको मुक्तिनाथ क्रसर उद्योगका सञ्चालक  कृष्ण शर्माले नवलपरासीको चोरमारामा ठूलो क्रसर उद्योग खोलेका छन्। तिनाउ नदीमा २०६७ चैतमा उत्खनन् रोकिएपछि यहाँका क्रसरले  नवलपरासीबाट कच्चा  सामग्री ल्याएर प्रशोधन गर्दै आएका थिए। यसो गर्नु भन्दा उतै क्रसर उद्योग चलाउँँदा सहज र  धेरै नाफा हुने देखेपछि उनले नवलपरासीमा क्रसर उद्योग थपेका हुन्। कुनै बेला तिनाउलगायतका खोलाको ढुंगागिट्टी ठेक्काको होल्ड गरेर एकलौटी गरेका शर्मालगायत केही व्यवसायीको होल्डमा नवलपरासीका खोला परेका छन्।

इटा व्यवसायी विष्णु कार्कीले रुपन्देहीमा क्रसर उद्योग चलाउने योजना बनाउँदै गर्दा उत्खनन्मा  प्रतिबन्ध लाग्यो। ढुंगागिट्टीको मुख्य स्रोत तिनाउमा प्रतिबन्ध लागेपछि उनी नवलपरासीतर्फ हानिए। उनको पनि चोरमारामा मनकामना क्रसर उद्योग चलेको छ। व्यवसायीका अनुसार, तीन वर्ष अघिसम्म तीन क्रसर उद्योग चल्दै आएको नवलपरासीमा अहिले एक दर्जन क्रसर चलेका छन्। केही वर्ष अघिसम्म २७ क्रसर उद्योग रहेको रुपन्देहीमा अहिले १५ वटा क्रसर मात्रै चालु छन्। ती क्रसरको उत्पादन पनि पहिले जस्तो धेरै छैन। नवलपरासीमा क्रसर उद्योगमा प्रहरी प्रशासनका पूर्व उच्च अधिकारीको लगानी बढेको छ। पूर्वसचिव विश्वप्रकाश पण्डितको दुम्किवासमा महावीर क्रसर उद्योग सञ्चालनमा छ।

नवलपरासीमा उत्खनन् र निकासीमा मनपरी गर्न पाएपछि क्रसर व्यवसायीको रोजाइमा परेको हो। व्यवसायीको मनपरीलाई रोक्न खोज्दा दुई जना एलडिओको अस्वाभाविक सरुवा भएको छ। व्यवसायीको अस्वाभाविक स्वार्थ पूरा नगरेकाले राजनीतिक नेतृत्वललाई दबाब दिएर आफूहरूको सरुवा गराइएको सरुवा भएका  एलडिओले बताए।

पुष २८ गते नवलपरासी जिल्ला समन्वय समितिमा हाजिर भएका एलडिओ युवराज कट्टेलको ढुंगागिट्टी व्यवसायीले  पाँच महिना नबित्दै सरुवा गराएका थिए। त्यसअघि पनि राम्रो काम गरेर सर्वसाधारणको मन जितेका एलडिओ जीवलाल भुसाल ३५ दिनमै रुपन्देहीबाट लखेटिएका थिए। अबैध रूपमा डम्पिङ गरेको करोडौं मुल्यको ढुंगागिट्टीलाई बैध बनाउन र अबैध सामग्री डम्पिङ गर्ने क्रसर उद्योगलाई जरिवाना र कारवाही फिर्ता गर्न नमान्दा एलडिओको सरुवा भएको थियो ।

प्रकाशित: २४ श्रावण २०७४ ०२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App