coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आधा भन्दा बढी राजश्व सवारी र इन्धनबाट

बीरगन्ज- वीरगन्ज भन्सार नाका भएर आयात हुने हजारौं मालबस्तुबाट एक बर्षमा असुल भएको कुल राजश्वको आधाभन्दा बढी सवारी साधन र इन्धनबाट उठेको छ। सवारी साधन र इन्धनबाट आर्थिक बर्ष २०७३/०७४ मा ५७ अर्ब ७७ करोड ३१ लाख ५४ हजार रुपैयाँ वीरगन्ज भन्सार कार्यालयलाई राजश्व प्राप्त भएको छ। यो भनेको कुल राजश्व असुलीको ५३.४४ प्रतिशत हो।

                सवारी साधन र इन्धन बाहेक आयातित सबै खाले बस्तु गरेर कुल राजश्वमा आधाभन्दा घटी ४६.५६ प्रतिशत मात्र योगदान छ । भर्खर सकिएको आर्थिक बर्षमा वीरगन्ज भन्सार कार्यालय तीन बर्षपछि आफ्नो लक्ष्य अनुसारको राजश्व संकलन गर्दै १ खर्ब ८ अर्ब १० करोड ७७ लाख ८० हजार रुपैयाँ राजश्व उठाएर सरकारी ढुकुटीमा पुर्‍याएको छ। यसमा आधा बढी सवारी साधन र पेट्रलियम इन्धनबाट संकलित भएको वीरगन्ज भन्सार कार्यालयको तथ्यांकले देखाएको हो।

‘पेट्रोलियम इन्धन र सवारी साधन राजश्वको मुख्य स्रोत रहँदै आएको छ, यो बर्ष पनि त्यही भएको हो,’ वीरगन्ज भन्सारका प्रमुख भन्सार अधिकृत सेवन्तक पोखरेलले भने, ‘इन्धनमा हाइस्पिड डिजल, पेट्रोल, मट्टीतेल, हवाई इन्धन र खाना पकाउने ग्यास मुख्य हुन्। सवारी साधनमा मँहगा गाडीदेखी, बस ट्रकका चेंचिस र मोटरसाइकलसम्म रहेका छन्।’ वीरगन्ज भन्सार भएर १० वटा बेग्ला बेग्लै ‘राजश्व दर समूह’का गाडीहरु आयात भएको देखिन्छ।

                आर्थिक बर्ष २०७३/०७४ मा ७ लाख ३५ हजार १ सय ९६ किलो लिटर डिजल, २ लाख ३२ हजार ७ सय २४ किलो लिटर पेट्रोल, १ लाख ५२ हजार ७ सय ५८ किलोलिटर हवाई इन्धन र ११ हजार ३ सय ४३ किलोलिटर मट्टीतेल वीरगन्ज भन्सार भएर भित्रिएको छ। त्यसैगरी १ लाख ८२ हजार ६३.८९ मेट्रिक टन खाना पकाउने एलपी ग्यास आयात भएको छ। यता सवारी साधनमा ९ हजार ४ सय ८० वटा जिप, कार, भ्यान, एक हजार ८ सय १२ डबल क्याबिन पिकअप, १ हजार ४ सय ९१ सिंगल क्याबिन पिकअप, १ हजार ७ सय ३५ ट्रक मिनी ट्रक, १७ हजार ६ सय ६९ भिभिन्न खाले चेंचिस र एक लाख २३ हजार ३ सय ९ वटा मोटरसाइकल आयात भएको छ ।

पेट्रोलिय इन्धन र गाडीबाट सबभन्दा बढी राजश्व संकलन भएजस्तै यसको आयातमा ठूलो रकम नेपालबाट बिदेशिएको पनि छ। नेपालमा आर्थिक बर्ष २०७३/०७४ मा वीरगन्ज नाका भएर आएका गाडी आयातमा भन्सारमा घोषित मुल्य अनुसार ३२ अर्ब ६७ करोड ५० लाख २७ हजार रुपैयाँ गएको छ। त्यसरी नै इन्धन आयातमा ६५ अर्ब ५१ करोड ४३ लाख ३६ हजार रुपैयाँ विदेशिएको छ।

प्रकाशित: २३ श्रावण २०७४ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App