दुई वर्षअघि, नोभेम्बर १४, धुमधाम सिँगारिएको थियो, लन्डनस्थित बकिंघम दरबार । रंगीन बत्तीले सजाइएका थिए, हल र बैठककोठा । ठुल्ठूला हीराजडित झुमरको चमकले चम्किलो बनेको पार्टी हलमा ओछ्याइएको थियो, रातो कार्पेट ।
पार्टी हलको मूलगेटदेखि भित्रैसम्म रातै पोसाकमा सजिएका सुरक्षाकर्मीको लर्को थियो । बेलायती उच्च अधिकारीहरू लामबद्ध थिए, कसैको स्वागतमा । भिआइपीहरूले स्वागतका लागि प्रतीक्षा गरेका पात्र थिए, बेलायती महारानी एलिजाबेथका सुपुत्र एवं राजकुमार चाल्र्स । त्यसदिन दरबारमा आयोजना भइरहेको थियो, उनको जन्मदिन पार्टी ।
रातो कार्पेट बिछ्याइएको पार्टी हलको कुनामा तयार थियो, ओपेरा गाउने एउटा टोली । त्यही टोलीमा उभिएकी थिइन्, एक काली–काली हिस्सी परेकी अग्ली सुन्दरी । बेलायती गायक–गायिकाको बीचमा उभिएकी तिनै काली सुन्दरीलाई धेरै भिआइपीले ‘मार्क’ गरिरहेका थिए । उनलाई हेरेर केहीले कानेखुसी समेत गरे ।
गोरा ओपेरा गायक–गायिकाको भीडमा उभिने काली हिस्सी परेकी सुन्दरी थिइन्– श्रीलंकाकी किसानी जयसिंघे । जो गत साता गोकर्ण फरेस्ट रिसोर्ट आएकी थिइन्, दक्षिण एसियाली कलाकारको भेलामा सहभागी हुन । उनले बकिंघम दरबारमा दुई वर्षअघि देखेको दृश्य वर्णन गर्दै थिइन् ।
‘मलाई त्यस दिन धेरैले मार्क गरे, बकिंघम प्यालेसको गायन मेरो जीवनकै सबैभन्दा महत्त्वपूर्ण क्षण हो,’ रिसोर्टमा चित्र कोर्दै गरेकी उनले भनिन्, ‘मैले गाइसकेपछि रानी एजिलाबेथले हात मिलाएर प्रशंसा गरिन्, जुन मलाई अहिले भर्खरैजस्तो लाग्छ ।’
ओपेरा गायिका जयसिंघे बकिंघम दरबारमा गाउन पाउने थोरै मात्र दक्षिण एसियालीमध्ये एक हुन् । ‘मलाई त्यस दिन धेरैले मार्क गरे, बकिंघम प्यालेसको गायन मेरो जीवनकै सबैभन्दा महत्वपूर्ण क्षण हो,’ रिसोर्टमा बसेर चित्र कोर्दै गरेकी उनले भनिन्, ‘मैले गाइसकेपछि रानी एजिलाबेथले हात मिलाएर प्रशंसा गरिन्, जुन मलाई अहिले भर्खरैजस्तो लाग्छ ।’
दुई वर्षअघि राजकुमार चाल्र्सको जन्मदिनका लागि भव्य तयारी भइरहेको थियो । बर्थडे पार्टीका लागि सुमधुर स्वर भएका गायक–गायिकाको खोजी भइरहेको थियो । लन्डनमै बस्ने किसानीलाई साथीले सल्लाह दिए, ‘तिम्रो स्वर राम्रो छ गाउन जाउ ।’ उनले खासै वास्ता गरिनन् । साथीहरूले धेरै कर गरेपछि उनले आवेदन भरिन् ।
दरबारले छनोटका लागि अडिसन राखेको थियो । चारजना गायक–गायिका छनोट गर्न भएको प्रतिस्पर्धामा उनी पनि छानिइन् । चारमध्ये महिला उनी मात्र थिइन् । समूहमा गाइने ओपेराका लागि उनको टोली पनि खडा गरियो । सुरुमा संकोच मानेकी उनलाई आत्मविश्वासले जित्यो । दरबारभित्र किसानीले आफ्नो कला देखाइन् । रानीदेखि राजकुमारसम्मलाई गायनबाट प्रभावित पारिन् ।
‘दक्षिण एसियाली मुलुककी युवतीमा यस्तो प्रतिभा छ भनेर कसैले सोचेकै थिएनन् सायद,’ उनी बकिंघमको क्षण सम्झँदै भन्छिन्, ‘धेरैले मलाई त्यस्तै गरी हेरिरहेका थिए, म निकै गौरवान्वित भएँ ।’
कानुनमा स्नातक उनी थप अध्ययनका लागि लन्डन पुगिन् । अध्ययनसँगै ओपेरामा भुल्न थालेकी उनले धेरै समूहमा ओपेरा गाएकी छन् । धेरै श्रीलंकाली महिला अहिले पनि गृहिणीकै रूपमा मात्र रहने गरेको उनी बताउँछिन् । ‘मैले भने त्यसबाट माथि उठेर फरक क्षेत्र रोजेँ,’ उनले भनिन् ।
बेलायतमा कर्पोरेट कानुनको पढाइ सकेपछि उनले त्यहीँ वकालत गर्दै ओपेरालाई तिखारेकी हुन् । ओपेरा गायनमा लागेपछि उनले त्यसैको एल्बम समेत निकालिन् । जुन, युरोपमा समेत राम्रै बिक्री भयो ।
१७ वर्ष लन्डन बसेपछि उनी अहिले श्रीलंका फर्किएकी छन् । श्रीलंकाली पुरुषसँग विवाह गरेकी उनका एक छोरा र एक छोरी छन् । श्रीलंका फर्किएपछि उनी दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सांस्कृतिक केन्द्र (कल्चरल सेन्टर)सँग जोडिएकी हुन् । त्यसैमार्फत श्रीलंकाली कला र संगीतलाई सार्क मुलुकबीच परिचित गराउने अभियानमा लागेकी छन् । त्यही अभियानअन्तर्गत उनी गत साता सकिएको ‘सार्क कलाकार सम्मेलन’मा काठमाडौं आएकी थिइन् । हाल उनी सार्क कल्चरल सेन्टरको सहनिर्देशक हुन् । आयोजककै रूपमा नेपाल आएकी किसानीले आफू कलामा पोख्त नभए पनि कलाकारको समूहमा बसेर चित्र कोर्दा गर्व लागेको बताइन् । गोकर्ण रिसोर्टमा उभिएर फूलको चित्र कोर्दै गर्दा पनि उनी भन्दै थिइन्, ‘वास्तवमै बकिंघमको त्यो दृश्य अझै पनि भर्खरै देखेजस्तो लाग्छ ।’
प्रकाशित: २३ श्रावण २०७४ ०७:५६ सोमबार