coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

साथी पनि, सहयोगी पनि

‘पहिले म हाई–हेलो गर्न मिल्ने नोकियाको साधारण मोबाइल बोक्थेँ । अहिले सामसुङको जे १ स्मार्ट फोन बोक्ने गरेकी छु । यसमा वाइफाईको सुविधा छ । नेटबाट धेरै कुरा चलाउन मिल्छ,’ स्मार्ट फोन चलाउँदाको फाइदाबारे काठमाडौं पुरानो बानेश्वरकी ३६ वर्षिय भगवती गौतमले अनुभव साटिन् । स्मार्ट फोन पाएपछि जीवन नै बदलिएको महसुस गर्छिन्, उनी । ‘अहिले म फेसबुक चलाउँछु,’ गौतम भन्छिन्, ‘एसएलसी दिएपछि मेरो मिल्ने साथी छुटेको थियो । मैले २० वर्षपछि कता कताबाट उनलाई फेसबुकमा भेट्दा एकदम दङ्ग छु ।’ स्मार्ट फोनको माध्यमबाट फेसबुक चलाउन सहज भएपछि अहिले पहिलेका थुप्रै साथीसँग सम्पर्कमा रहेको उनी बताउँछिन् । बिछोडिएका साथी भेट्टाउनुको मुख्य श्रेय नै स्मार्ट फोनलाई दिन्छिन् उनी ।
स्मार्ट फोनबाट सजिलोसँग विभिन्न कुराको जानकारी पाउन सकिने उनको भनाइ छ । उनी युट्युबमा खानेकुरा बनाउने तरिका हेर्छिन् । सोही अनुसार घरमा आफैँले बनाएर पकाउने प्रयास गर्छिन् । उनी भन्छिन्, ‘मैले मःम, पानीपुरी, पिज्जा, चट्पटे, आलुरोटीजस्ता परिकार घरमै बनाउन जानेँ ।’ ‘पैसा तिरीतिरी सिक्ने ठाउँमा धाउनुभन्दा घरमै बसीबसी सिक्न पाइने,’ उनले भनिन्, ‘अल्छी लागेको बेला वाइफाईबाट फिल्म हेर्छु, त्यसैले मोबाइल सहयोगी भएको छ । यसलाई राम्रो कामका लागि सदुपयोग गर्न सके यसको महत्व धेरै रहेको गौतम बताउँछिन् ।
स्मार्ट फोनको प्रयोगमा जो पनि रमाएका छन् । घर होस् वा कार्यालय । वाइफाई भएपछि टाइम पास भइहाल्छ । युवापुस्तामा मात्रै नभइ घरेलु, कामकाजी महिलाले पनि स्मार्ट फोनलाई मजाले खेलाउन सिपालु भएका छन् । भगवती गौतमजस्तै थुप्रै महिला छन्, जो थरिथरिका स्मार्ट फोन प्रयोग गर्छन् । यसको प्रयोगबाट जीवन नै परिवर्तन भएको रमाइला अनुभव उनीहरूसँग छ ।
लाजिम्पाट बस्ने ४० वर्षीया सुष्मा राईले श्रीमान् विदेश गएदेखि सम्पर्कका लागि २०५६ सालदेखि मोबाइल बोकिन् । ब्ल्याक एन्ड ह्वाइटमा नोकियाको मोबाइल थियो उनीसँग । अहिले भने उनी माइक्रोम्याक्सको स्क्रिन टच मोबाइलमा रमाएकी छन् । उनी भन्छिन्, ‘मोबाइल चलाएपछि दिन बितेको पत्तै हुँदैन । यसले ममा भएको सीपको विकास गर्न मद्दत पनि गरेको छ ।’ नेवारी परिकार त बनाउन पहिला नै सिपालु उनी अहिले स्मार्ट फोनमा युट्युबबाट सिकेर अझै नयाँ–नयाँ परिकार पकाउन पोख्त भएकी छन् । ‘पहिले आफूसँग भएको साधारण मोबाइलमा खाली फोन गर्न मिल्थ्यो,’ राईले भनिन्, ‘अहिले भने यसमा जे मन लाग्यो त्यही गर्न मिल्छ ।’
उनी प्रायः जसो युट्युबमा खानेकुरादेखि घर सजावटका कुरा सबै हेर्न भ्याउँछिन् । जम्बो कोकको बोटललाई काटेर त्यसमा फूल रोपेको उनले बताइन् । घरको छतमा ‘ह्याङिङ फूल’को कन्सेप्ट पनि युट्युबबाट नै जानकारी लिएको उनको भनाइ छ । त्यस्तै अन्य हस्तकलाहरूमा पनि उनी त्यति नै चनाखो बनेकी छन् । हातको सीप उनमा छँदै थियो, स्मार्ट फोनले सीपलाई अझ निखार्न सहयोग गरेको उनको अनुभव छ । घरबाट निस्केका फोहोरको सदुपयोग कसरी गर्नेदेखि लिएर घर सजावटका कैयौँ कुरामा मोबाइलले मज्जैले सहयोग गरेको उनी बताउँछिन् । उनले घरमै स्वस्थकर खाना बनाउन पनि सिकिन् । भन्छिन्, ‘मैले यति धेरै परिकार बनाउन सिकेँ कि हरेक चाडपर्व, बर्थडेमा केकदेखि सबै कुराहरू म आफैँले बनाउँछु ।’ ‘घरमा आउने पाउना पनि मैले बनाएको परिकार देखेर छक्कै पर्छन्,’ खुसी हुँदै उनले भनिन् । स्मार्ट फोनले विदेशमा रहेका आफन्तसँग पनि नजिक बनाएको छ । राईको माहिलो छोरो विदेश गएको चार वर्ष भयो । तैपनि इन्टरनेटको सहयोगले उनीहरूबीच हप्तामा दुईतीन पटक त भिडियो च्याट नै हुन्छ । उनी भन्छिन्, ‘छोरो टाढा भए पनि फोनका कारण नजिकै भएजस्तो लाग्छ ।’
नयाँ–नयाँ प्रविधि र प्रतिस्पर्धासँगै स्मार्ट फोनको मूल्य समेत घट्दो छ । सुपथ मूल्यका कारण सामान्य आम्दानी हुने मानिसको पहुँचमा समेत पुगेको छ ।
२७ वर्षीय पूजा थापा टेम्पू चलाउँछिन् । उनी सामसुङको जे २ मोबाइल बोक्छिन् । बालाजु, नेपालटार बस्ने थापा यसलाई साथी नै ठान्छिन् । टेम्पूमा ट्रिप नलाग्दा गेम खेल्ने, भिडियो हेर्ने, एफएम सुन्ने गर्छिन्, उनी । ‘जीवनोपयोगी भएको छ,’ उनले भनिन्, ‘यसो फुर्सद भएको बेला फेसबुक चलाउँछु । फेसबुकमा मलाई समाचार हेर्न रमाइलो लाग्छ ।
५/६ महिनाअघि अनुहारमा डण्डिफोरले हैरान गरेको थियो । मुख छोपेर हिँड्नुपर्ने अवस्था थियो उनको । उनी भन्छिन्, ‘एक दिन फेसबुक चलाइराखेकी थिएँ । डण्डिफोर हटाउने  केही उपाय दिइएको थियो । त्यहाँ भनेअनुसार घरेलु सामग्री बनाएर लगाइहेरेँ । म त छक्कै परेँ । अहिले मेरो अनुहारमा डण्डिफोर नै छैनन् । अहिले अनुहार छोप्नै पर्दैन । यही नै उपलब्धि भएको छ,’ उनले भनिन् ।  
स्मार्ट फोन सम्बन्ध जोड्ने माध्यमसमेत बनेको छ । यसले संसारलाई साँघुर्याएको छ । शंखमूलकी ३२ वर्षीया सिमरन राजभण्डारीसँग  सामसुङ मोबाइल सेट छ । उनी भाइबरमा आफन्त, नातेदारसँग मजाले कुरा गर्न पाएको सहजताको बयान गर्छिन् । विराटनगरमा बस्ने माइतीपट्टिका आमाबुवा, भाइसँग भाइबरमा दिनहँुजसो कुरा गर्छिन् । भन्छिन्, ‘पहिले माइततिरको खबर जान्न मन लाग्यो भने पनि मनभित्रै कुरा खेल्थ्यो । अहिले त मन लाग्यो तुरुन्तै गर्न पाइन्छ ।’
व्यवसायमा लागेका महिला पनि स्मार्टफोनको प्रयोगबाट ढुक्क छन् । काठमाडौँ, सोरुखुट्टेस्थित ‘अन्नपूर्ण हस्तकला’ की सञ्चालिका ५३ वर्षीय दिव्यतारा तुलाधर स्मार्ट फोनबाटै अन्तर्राष्ट्रिय रूपमा गाँसिएकी छन् । विभिन्न एप्स, भाइबर, इमोजस्ता एप्सले बाहिरी मुलुकमा सहजै सम्पर्क गर्न मिल्ने भएकाले कारोबारको कुरामा उनलाई धेरै सघाउ पुर्याएको छ । स्मार्ट फोनकै माध्यमबाट आफुले उत्पादन गरेका हस्तकलाका सामग्रीको प्रचारप्रसार, लेनदेनको मामिलामा उनलाई निकै सहज भएको उनी बताउँछिन् ।

प्रकाशित: २३ श्रावण २०७४ ०४:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App