coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झोलुंगे पुलमा पनि घण्टौं जाम

जीर्ण बनेको जयरामको झोलुङ्गे पुलबाट आलोपालोमा दुधकोसी तर्दै दर्शनार्थी । तस्बिर : दमन राई

खोटाङ – हलेसी दर्शन गर्न आउने दर्शनार्थी खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीको झोलुंगे पुल तर्नेक्रममा घण्टौं पालो कुर्न बाध्य बनेका छन् । खोटाङको बाहुनीडाँडा र ओखलढुंगाको थाक्ले जोड्ने पुल जिर्ण भएको र धेरै भार नथेग्ने भएका कारण साउनभर मनाइने बोलबमका अवसरमा हलेसी दर्शन गर्न आउने र घर फर्कनेक्रममा दर्शनार्थी पुलमा २÷३ घण्टासम्म पालो कुर्न बाध्य भएका हुन् । मोटरबाइकसहित हलेसी आएका भारत र नेपालका बोलबमका दर्शनार्थी झोलुंगे पुलमा ३ घण्टासम्म जाममा पर्ने गरेको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए। 

मोटरबाइक लिएर दैनिक हजारौंको संख्यामा हलेसी आउने–जाने दर्शनार्थीको भार नथेग्ने भएकाले जयराममा एक पटकमा ७÷८ वटा बाइकलाई पालैपालो पुलबाट वारपार गर्ने व्यवस्था मिलाइएको छ । ३० वर्षभन्दा अघि निर्माण गरिएको झोलुङ्गे पुल जीर्ण बनिसकेकाले बाइकलाई पालैपालो पार गराउनका लागि झोलुंगेपुलमा खोटाङ र ओखलढुंगातर्फको प्रहरी खटाइएका छन् । भिडलाई व्यवस्थापन गर्न र वारीपारी बाइकमा बसेर पालो कुरिरहेका दर्शनार्थीलाई पालैपालो वारपार गराउने व्यवस्थाका लागि प्रत्येक सोमबार प्रहरी परिचालन गरिएको मेयर राईले बताए। साउन महिनाभर लाग्ने बोलबम मेलाका लागि यसवर्ष हलेसी आउने दर्शनार्थीको ठूलो भीड लागेकाले झोलुङ्गे पुलमा घण्टौं जामको समस्या निम्तिएको हो । ‘जीर्ण बनेको पुलले एकै पटकमा धेरै वटा बाइकको भारलाई थेग्न सक्ने अवस्था छैन,’ मेयर राईले भने, ‘पुलले बढी भार थेग्न नसक्ने भएकाले पालैपालो गरेर तर्ने व्यवस्था मिलाइएको हो ।’ जयरामको झोलुङ्गे पुल जिल्ला भित्रिने र बाहिरिने प्रमुख र एकमात्र मार्ग हो। 

जयराममा निर्माणाधिन मोटरेबल पुल निर्माणमा भएको ढिलाइका कारण दर्शनार्थी जामको समस्या झेल्न बाध्य भएका हुन् । १२५ मिटर लामो झोलुङ्गे पुलको नट बोल्टहरू खियाले मक्किएको तथा पुल अड्याउन प्र्रयोग गरिने सस्पेन्डहरु चुडिन थालेका छन् । दायाँ–वायाँ राखिएका कतिपय जाली समेत फाटेका छन् । जिल्ला विकास समिति ओखलढुंगाले केही वर्षअघि मर्मत गरे पनि आवतजावत गर्ने चापको कारण पुलको अवस्था उस्तै जोखिमपूर्ण बनेको स्थानीयको भनाई छ । जीर्ण बनेको पुलबाट ज्यानै माया मारेर हिड्नुपर्ने अवस्था छ । झोलुंगे पुल तर्नका लागि दुधकोसीको वारीपारी किनारमा सयौं बाइकमा दर्शनार्थी पालो कुरिरहेका देखिन्छन् । अन्य कामले आवतजावत गर्ने स्थानीय समेत घण्टौं जाममा पर्ने गरेका छन्। 

साउनभर हलेसीमा दर्शनार्थीको बाक्लो भीड लाग्ने गरेको हलेसी महादेवस्थान विकास समितिका कार्यकारी निर्देशक सम्बरबहादुर भुजेलले बताए । साउनको दोश्रो सोमबार हालसम्मै बढी दर्शनार्थी हलेसी आउँदा झोलुंगे पुलमा भीड नियन्त्रण गर्न प्रहरीले बल नै प्रयोग गर्नु परेको थियो । जीर्ण बनेको पुलबाट नदी तर्नका लागि ३ घण्टासम्म जाममा बस्नु परेको हलेसीबाट फर्कँदै गरेका भारत मधुवनीका दर्शनार्थी अजितकुमार शाहले बताए । नदी किनारमा भएकाले दर्शनार्थी गर्मीको समेत सामना गर्न बाध्य छन् । जाममा बस्नुपर्दा समयमा गन्तव्यमा पुग्न समस्या भएको सिराहाका श्रीनारायण यादवले बताए । जिल्ला भित्रन र बाहिरिन प्रयोग हुँदैआएको एक मात्र झोलुङ्गे पुलबाट उदयपुरको कटारी, घुर्मीहुँदै तराईबाट सामान भित्रिन्छ । यस्तै, राजधानी काठ्माडौं जान आउन र उपभोग्य सामान भित्र्याउन पनि जयरामघाटकै झोलुङ्गे पुलको प्रयोग भइरहेको छ। 

हालसम्म झोलुङ्गे पुलले धानेको जयराममा म्याद नाघेको ५ वर्ष बितिसक्दा समेत मोटरेबल पुल निर्माण हुन सकेको छैन । बिक्रम पाण्डेको हुलास इन्जिनियरिङ र दिवाकर गोल्छाको कालिका कन्स्ट्रक्सनले २०६८ साल असारसम्ममा पूरा गर्ने शर्तमा २०६६ साल भदौमा पुल निर्माणका लागि सम्झौता गरेको मोटरेबल पुलको काम अझै पनि पूरा हुन सकेको छैन । काम गर्ने म्याद नाघेको ५ वर्षपछि दुधकोसी पुलको ८५ प्रतिशत काम पूरा भएको निर्माणपक्षको दाबी छ । दशैंसम्ममा सवारी साधन आवतजावत गराउने लक्ष्यका साथ पुल निर्माणको गति अघि बढाइएको ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनका साइड ईन्जिनियर सिताराम कार्कीले बताए । दशैं अगाडिसम्ममा पुलको काम सम्पन्न नभए डेढ करोड पेनाल्टी तिर्नुपर्ने भएकाले पनि ठेकेदारलाई चाँडोभन्दा चाँडो काम सक्नुपर्ने दवाव छ । करिब १० करोडको लागतमा निर्माण गर्ने भनिएको डेढ सय मिटर लामो दुधकोसी पुल निर्माणकालागि तीन पटक म्याद थप गरिसकिएको छ। 

 

प्रकाशित: २२ श्रावण २०७४ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App