८ वैशाख २०८१ शनिबार
समाज

सन्जोग र सिमालाई सामाजिक सञ्जालबाट सहयोग

मालिका सेवा समाज र न्यू ओएसिस एकेडेमीले बसोबास र पढाईको जिम्मा लिएका बालबालिका सञ्जोग र सीमा । तस्बिरः संगम घर्तिमगर

बाग्लुङ – बारम्बार सामाजिक सञ्जाल दुरुपयोगको खबर आइरहँदा बाग्लुङमा भने सामाजिक सञ्जालको सदुपयोगले सुखद खबर दिएको छ । सामाजिक सञ्जाल फेसबुकको माध्यमबाट संकलन गरिएको रकमबाट यहाँका गरिब र अनाथ दुई बालबालिकाले शिक्षा आर्जन गर्न पाउने भएका छन्। 

मालिका सेवा समाज बाग्लुङले सञ्चालन गरेको फेसवुक अभियानबाट उठेको रकमले सानै उमेरमा मातृवात्सल्य गुमाएका बाग्लुङ नगरपालिका—५ मालिकाका सञ्जोग शर्मा र सीमा शर्माले एसईई सम्मको पढाई आवासीय सुविधा सहित निःशुल्क पाउने पाउने भएका छन् ।

विपन्न परिवारको उनीहरूको आमाको गत असार पहिलो साता सर्पले डसेर मृत्यु भएको थियो भने बाबु वैदेशिक रोजगारीको शिलशिलामा केही महिना अगाडि साउदी अरब पुगेका छन् । बाबु हालै मात्र विदेश गएको र आमाको सर्पले डसेर ज्यान गएपछि विचल्लीमा परेका बालबालिकालाई आवासीय सुविधा सहित पढ्ने अवसरका लागि समाजले फेसबुक मार्फत अभियान सञ्चालन गरेको मालिका सेवा समाजका अध्यक्ष दुर्गा कुँवरले बताए।

‘समग्र मालिकाको विकासमा सहयोग गर्ने उद्देश्यले हामीले मालिका सेवा समाजको स्थापना गरेका हौं,’ कुँवरले भने, ‘विचल्लीमा परेका बालबालिका सन्जोग र सीमाको बारेमा थाहा पाएपछि उनीहरुका लागि खाने बस्ने र पढ्ने व्यवस्था गर्नु जरुरी छ भन्ने लाग्यो र हामीले अभियान सञ्चालन गर्‍यौं ।’ समाजले पढाऔं अभियानका लागि फेसवुकबाट सहयोग संकलन गरिरहेको उनले बताए। ‘आर्थिक अभावका कारण कोही पनि बालबालिका पढाईबाट वञ्चित हुन नपरोस् भनेर हामीले पढाऔं अभियान शुरु गरेका छौं,’ उनले भने,‘सञ्जोग र सीमा पहिलो पात्र हुन् । हामीले अरुलाई पनि यस्तै सहयो गर्नेछौं ।’ 

सञ्जोग र सीमाको आवासीय सुविधा सहित पढाईको जिम्मा यहाँको निजी विद्यालय न्यू ओएसिस एकेडेमीले लिएको छ। ‘गरिब र विपन्न परिवारका बालबालिकाले पनि गुणस्तरीय शिक्षा पाउनुपर्छ भन्ने हाम्रो मान्यता हो,’ न्यू ओएसिस एकेडेमीका प्रिन्सिपल नेत्रलाल न्यौपानेले भने,‘दुई जना बच्चाबच्ची मध्ये एक जनाको खर्च समाजले व्यहोर्ने छ । एक जनाको सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यालयले व्यहोर्छ ।’ उक्त विद्यालयमा चार वर्षीय सञ्जोक नर्सरी र सीमा कक्षा १ मा भर्ना भएका छन् । विद्यालयका सञ्चालक वसन्तकुमार श्रेष्ठले सञ्जोग र सीमाको उज्जवल भविष्यको जिम्मा अव विद्यालयको काँधको आएको प्रतिक्रिया दिए ।

‘हामीले दुई बालबालिकालाई उपहारको रुपमा लिएका छौं,’ उनले भने,‘भोली उनीहरूलाई समाजमा फर्काउँदा उदाहरणको रुपमा प्रस्तुत गर्नेगरी विद्यालयले ध्यान दिनेछ ।’ उनीहरूको आवासीय सुविधा सहित लाग्ने पढाई खर्चमध्ये एक जनाको मालिका सेवा समाज र एक जनाको विद्यालयले व्यहोर्ने गरी सम्झौता भएको छ । विपन्न र अनाथ बालबालिकालाई शिक्षाको ज्योति प्रदान गर्ने समाजको अभियानमा विद्यालयले सहयोग गरेको अध्यक्ष कुँवरले बताए। ‘उनीहरुलाई पढाउने कुरामा विद्यालयले हामीलाई ठूलो सहयोग गरेको छ,’ कुँवरले भने,‘प्रत्येक वर्ष एक जनाको खर्च मात्र हामीले विद्यालयलाई तिर्नेछौं ।’

पढाऔं अभियानमा अहिलेसम्म आठ लाख आठ हजार पाँच सय ९१ रुपैयाँ जम्मा भएको समाजले जनाएको छ । ‘हामी सञ्चालन गरेको अभियानमा अहिलेसम्म आठ लाख बढी रकम जुटेको छ,’ कुँवरले भने,‘विदेशका विभीन्न ठाउँमा भएका एक सय ३५ जना जति नेपालीले न्यूनतम एक हजार देखि २० हजारसम्म सहयोग गरेका छन्।’ सहयोग रकमलाई अक्षयकोषको रुपमा स्थापना गरेर अन्य बालबालिकालाई पनि शिक्षाका लागि सहयोग गर्ने योजना रहेको उनले सुनाए । ‘सहयोग अभियान जारी छ, ५० लाख जतिको अक्षयकोष बनाएर दीर्घकालिन रुपमा शैक्षिक गतिविधिमा सहभागी हुने प्रयास गर्दैछौं,’ उनले भने,‘अहिले सुरुवात मात्र गरेका हौं । अझ धेरै गर्न बाँकी छ।’ 

 

प्रकाशित: २२ श्रावण २०७४ ०८:५९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App