८ वैशाख २०८१ शनिबार
खेल

इनिङको हार टार्ने संकेत

कोलम्बो- कुशल मेन्डिसले शतक पूरा गर्दै ओपनर दिमुथ करुणारत्नेसँग १ सय ९१ रनको साझेदारी गरेपछि शनिबार श्रीलंकाले भारतविरुद्धको दोस्रो टेस्टमा इनिङको हार टार्ने संकेत गरेको छ।

पहिलो इनिङमा ४ सय ३९ रनले पछि परेपछि श्रीलंका फलोअनमा परेको थियो। भारतले ६२२–९ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेपछि ब्याटिङ थालेको श्रीलंकाले १ सय ८३ रन जोड्दा सबै विकेट गुमाएको थियो। फलोअनमा परेर दोस्रो इनिङ थालेको श्रीलंका तेस्रो दिनको समाप्तिमा २०९–२ को स्थितिमा छ। तर, घरेलु टोलीलाई इनिङको हारबाट बच्न थप २ सय ३० रन जोड्नुपर्नेछ।

दोस्रो इनिङमा श्रीलंकाका मेन्डिसले १ सय १० रनमा बनाए। १ सय ३५ बलमा १७ चौका प्रहार गरेका मेन्डिसलाई हार्दिक पाण्डेयले विकेटकिपर ऋद्धिमन शाहमार्फत क्याच गरेका थिए। तेस्रो दिन सकिँदा ओपनर करुणारत्ने ९२ रनमा अविजित छन्। डेब्यु गरेका मलिन्दा पुष्पकुमारा २ रन बनाएर क्रिजमा छन्। उमेशकुमार यादवले ओपनर उपुल थरंगालाई २ रनमा पवेलियन फर्काएका थिए।

त्यसअघि अफ स्पिनर रविचन्द्रन आश्विनले ५ विकेट लिएपछि श्रीलंकाको ब्याटिङ धाराशयी बनेको थियो। ५०–२ को स्थितिबाट तेस्रो दिन सुरु गरेको घरेलु टोलीले थप १ सय ३३ रन जोड्दा बाँकी सबै विकेट गुमायो।

शनिबार १६ रनको स्थितिबाट ब्याटिङ थालेका कुशल मेन्डिसले थप ८ रन मात्र जोड्न सके। मेन्डिसलाई उमेश यादवले कप्तान विराट कोलहीको हातबाट समात्न लगाएका थिए। दिनेश चण्डीमलले थप २ रन मात्र जोड्न सके। रवीन्द्र जडेजाले १० रन बनाएका चण्डीमललाई पाण्डेयमार्फत क्याच गराए। पूर्वकप्तान एन्जेलो म्याथ्युजले पनि लामो इनिङ खेल्न सकेनन्। ३३ बलमा २ चौका र २ छक्का प्रहार गरेका म्याथ्युजलाई आश्विनले चेतेश्वर पूजारामार्फत क्याच गराए। म्याथ्युजले निरोशन दिकवालासँग पाँचांै विकेटका लागि ५३ रनको साझेदारी गरे। जुन श्रीलंकाको पहिलो इनिङमा बनेको सबैभन्दा ठूलो साझेदारी हो।

दिकवेलाले अर्धशतक पूरा गरे। ५१ रन बनाएका दिकवेलाले ४८ बलमा ७ चौका र १ छक्का प्रहार गरेका थिए। दिकवेलालाई मोहम्मद सामीले बोल्ड गरेका थिए। धनञ्जय डी सिल्भा पनि शून्यमा पवेलियन फर्किए।

दिलरुवान परेराले २५ रन जोड्दा पुष्पकुमारा १५ रनमा अविजित रहे। रंगना हेराथ २ रनमा आउट हुँदा नुवान प्रदीप शून्यमा बोल्ड भए। प्रदीपलाई आश्विनले बोल्ड गरेका हुन्। १६.४ ओभर बलिङ गरेका आश्विनले ६९ रन दिएर ५ विकेट लिए। मोहम्मद सामी र जडेजालेले समान २/२ विकेट लिँदा यादवको नाममा १ विकेट रह्यो।

प्रकाशित: २२ श्रावण २०७४ ०५:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App