७ वैशाख २०८१ शुक्रबार
अन्तर्राष्ट्रिय

१७ दिने बिदामा बस्ने ट्रम्पको निर्णयको आलोचना

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगष्ट महिनामा १७ दिन बिदामा बस्ने निर्णय गरेपछि अमेरिका भर व्यापक आलोचना भएको छ।

राष्ट्रपति कार्यालय ह्वाइट हाउसले कामकाजी बिदा अन्तर्गत राष्ट्रपति ट्रम्पले १७ दिन न्यू जर्सी बेडमिन्स्टरस्थित उनको निजी गल्फ क्लबमा बिताउने जनाएको छ। आफूलाई काम गर्दा कहिल्यै नथाक्ने व्यक्तिका रुपमा प्रस्तुत गर्दै आएका ट्रम्पले यति लामो समय बिदामा बस्ने निर्णय लिएपछि त्यसलाई अमेरिकासहित विश्वभर चासोपूर्वक हेरिएको छ। कतिपयले लामो बिदा लिएकोमा ट्रम्पप्रति व्यंग्य गरिरहेका छन्।

'लामो बिदामा नबस्नुस्। त्यस्को अर्थ के नै छ र? यदि तपाई आफ्नो काममा रमाइरहनुभएको छैन् भने तपाईं गलत काममा हुनुहुन्छ,' राष्ट्रपति ट्रम्पले सन् २००४ मा लेखेको एउटा पुस्तक 'थिंक लाइक अ बिलिअनियर' मा सुझाव दिदैं लेखेका थिए।

राष्ट्रपति ट्रम्पको निर्णयलाई ह्वाइट हाउसमा जारी मर्मतसम्भारको कामसँग पनि जोडेर हेरिएको छ। अमेरिकी राष्ट्रपति भवनको वेस्ट विङ क्षेत्रमा बस्ने सबै कर्मचारीहरुलाई अगस्ट महिनामा २७ वर्ष पुरानो तातो हावा प्रवाह गर्ने प्रणाली र भेन्टिलेसन मर्मतका लागि भवन छाड्न भनिएको ह्वाइट हाउसकी प्रवक्ता लिन्डसे वाल्टर्सले बताएकी छिन्। राष्ट्रपति कार्यालयका प्रेस कक्षमा देखिएको पानी चुहिने समस्या देखि, कार्यकारी भवनका सिँढी अनि रंगरोगन, कार्पेट र पर्दा फेर्ने जस्ता कामहरु पनि हुन लागेको जनाइएको छ। तर आलोचकहरुले चाँहि आफ्नो कार्यकालको पहिलो वर्षमा पूर्व राष्ट्रपति बराक ओबामाले लिए भन्दा लगभग दुई गुणा बढी बिदा लिएको भनेर ट्रम्पप्रति कटाक्ष गरिरहेका छन्।

यदि सप्ताहन्तलाई नजोड्ने हो भने ट्रम्पले १३ दिन बिदा लिनेछन्। राष्ट्रपति पदमा विजयी भएको पहिलो वर्ष ओबामा भने जम्मा ८ दिन बिदामा बसेका थिए। 'म तपाईहरुसँगै काम गर्नेछु। मसँग गल्फ खेल्नका लागि समय हुनेछैन,' चुनावी अभियानका क्रममा ओबामाप्रति व्यंग्य गर्दै ट्रम्पले भर्जिनिया राज्यमा बताएका थिए। सन् २००९ मा मार्थ भिनयार्डमा बिदामा बस्नुअघि ओबामाले दुईवटा बिदा लिएका थिए जसमध्ये एउटामा उनले आफ्नो सप्ताहन्त एरिजोना र कोलोराडोमा बिताएका थिए। उनले सिकागो सहरस्थित आफ्नो पारिवारिक घरमा चार दिन बिताएका थिए। ओबामासँग तुलना गर्दा ट्रम्प ११ दिन बिदामा बसिसकेका छन्। उनले पाम बिच फ्लोरिडा र न्युजर्सीका आफ्ना आवास र क्याम्प डेभिड म्यारील्यान्डमा रहेको बिदाको समय बिताउने सरकारी परिसरमा ती दिन बिताएका थिए।

सन् २००८ मा छापिएको पुस्तक 'द अडासिटि अफ होप'मा कुनै पनि राष्ट्रपतिले लामो बिदा लिनु नहुने भन्ने धारणा राखेपछि ओबामालाई पाखण्डी भन्दै आलोचना गरिएको थियो। गएको नोभेम्बर महिनामा '६० मिनेट्स' नामक कार्यक्रममा बोल्दै राष्ट्रपति ट्रम्पले भनेका थिए, 'एकदमै धेरै काम गर्नुपर्नेछ त्यही भएर मैले खासै बिदा लिन्छु जस्तो मलाई लाग्दैन।' अघिल्लो महिना ट्रम्पले रिपब्लिकन सिनेटरहरुलाई ओबामाकेयर भनिने स्वास्थ्य सम्बन्धी एउटा कानुन उल्टाउने आफ्नो योजनामा साथ दिन आग्रह गर्दै त्यसो नहुन्जेल बिदा स्थगन गर्न भनेका थिए। उक्त कानुन पारित गर्न सिनेट विफल भएको थियो र गर्मीलाई ध्यान दिदैं अमेरिकी संसद् सेप्टेम्बर ५ तारिखसम्म स्थगित गरिएको छ।

बिहीबार अमेरिकी अखबार 'न्युजविक'ले आफ्नो पहिलो पृष्ठमा राष्ट्रपति ट्रम्पलाई अल्छी केटाको संज्ञा दिँदै उनी आरामले सोफामा बसिरहेको एउटा व्यंग्य तस्वीर छापेको थियो। उक्त अखबारले ब्यग्यात्मक रुपमा टिप्पणी गरेको छ, 'अनुमान लगाउनुहोस त उनलाई केही नगरी बस्दा कति गाह्रो महसुस हुन्छ होला।' बेडमिन्स्टरका कैयांैं स्थानीयले पनि लामो बिदा मनाउने ट्रम्पको निर्णयको आलोचना गरेका छन्। उनीहरुले राष्ट्रपतिको भ्रमण अवधिमा सुरक्षा बढाइने हुनाले सर्वसाधारणले सास्ती खेप्नुपर्ने गुनासो गरेका छन्।

आगामी अगष्ट २० तारिखसम्म स्थानीय विमानस्थल बन्द गरिएको छ र त्यसका कारण एक सय १० वटा विमानको उडान अवरुद्ध हुने अनि ६० वटा विमान उडानका कक्षाहरु प्रभावित हुने बताइएको छ। अमेरिकी गुप्तचर निकायले ट्रम्प त्यहाँ बसुन्जेल सुरक्षाका लागि मानवरहित विमान ड्रोनको प्रयोग गरिने जनाएको छ। साथै राष्ट्रपतिको सवारी हुँदा बाटो खाली गराउन सकिने पनि उसले बताएको छ।

प्रकाशित: २२ श्रावण २०७४ ०४:४८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App