coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

अन्नपुर्ण क्षेत्रमा हराएकी पर्यटक मृत फेला

२६ वर्षिया एडिना मोनिका पोपेस्क्यू।

पोखरा–एकसातादेखि अन्नपुर्ण क्षेत्रमा हराइरहेकी रोमानियाकी महिला पर्यटकको नदी किनारमा शव फेला परेको छ । एक्लै नेपाल घुम्न आएकी २६ वर्षिया एडिना मोनिका पोपेस्क्यूको घान्द्रुक–१ सुइखोला किनारमा शव फेला परेको प्रहरीले जनाएको छ ।

जुलाई १६ देखि सम्पर्कविहीन भएकी उनको आइतबार बेलुकी शव फेला परेको कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धी बज्राचार्यले जानकारी दिए । उनका अनुसार खोजिका लागि आएकी एडिनाका आफन्तले शव पहिचान गरेका थिए। ‘खोला निारमा शव भेटिएको छ। बाटो पार गर्ने बेलामा खोलाले बगाएर ज्यान गएको हुनसक्छ,’ उनले भने, ‘अनुसन्धान पनि भइरहेको छ। खोलाले बगाएर मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुमान छ । मृतकका आफन्तले शव पहिचान गरेका छन् ।’

एक्लै पदयात्रामा गएकी उनी छोमरोङबाट पोखरातर्फ फर्कने क्रममा खोलामा बगेर ज्यान गएको हुनसक्ने उनले बताए। ‘परिवारसँग सम्पर्कविहीन भएपछि एडिनाका आफन्त र साथी खोज्न आएका थिए। उनीहरुले नै एडिनाको शव पहिचान गरेका हुन,’ उनले भने । एडिनाको शव पोखरा ल्याउने तयारी भइरहेको छ।

एक्यापका कर्मचारी याम गुरुङका अनुुसार खोला तर्ने ठाउँ र शव फेला परेको किनार करिब ५ सय मिटर दूरीमा पर्छ। खोजिकालागि खटिएको टिमले शव भेटाएको थियो। ‘छोमरोङबाट स्याउलीबजार निस्कने मार्गबाट फर्किदा खहरे खोलाले बगाएर ज्यान गएको हुनसक्छ। खोला तर्ने ठाउँ र शव भेटिएको दुरी करिब ५ सय मिटरको फरक छ,’ उनले भने, ‘एक्लै हिडेको र खहरेको वहाव पार गर्न नसक्दा बगाएको हुनसक्छ।’ वर्षाको समय भएको र खहरेको बाढी यकिन गर्न नसक्दा बगेको हुनसक्ने उनले बताए ।

उनी जुलाई १२ मा अन्नपुर्ण क्षेत्र प्रवेश गरेकी थिइन्। त्यसका लागि पोखराबाट क्षेत्र प्रवेशको अनुमति लिएकी थिइन। जुलाई १७ मा उनी पदयात्राबाट पोखरा फर्किनुपर्ने भएपनि सम्पर्कमा नआएपछि खोजी सुरु भएको थियो। अन्तिमपटक अन्नपूर्ण क्षेत्रकै छोमरोङ चेकपोष्टमा १६ जुलाईमा सम्पर्कमा आएको र त्यसपछि बिच्छेद भएको एक्यापले जनाएको छ। सम्पर्कविहीन भएकी एडिनाले पदयात्राको क्रममा खिचेको तस्बिर अन्तिम पटक १६ जुलाईमा साथी र आफन्तहरुलाई पठाएकी थिइन्।

रोमानीयाको बुचारेस्ट सहरकी उनको नेपाल प्रवेश अनुमति जुलाइ ११ मा जारी भएको थियो। उनको नेपाल बसाईको प्रवेशाज्ञा सोमबार सकिँदै थियो। ‘रिर्टन फ्लाइट’ जुलाइ २१ मा रहेको र अभिभावकले ट्रयाक गर्दा सम्पर्कमा नआएपछि बल्ल हराएको थाहा भएको हो,’ ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) पश्चिमाञ्चल च्याप्टरका अध्यक्ष रामचन्द्र शर्माले भने ।

 

प्रकाशित: १० श्रावण २०७३ ०५:०७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App