coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

माओवादी नेतृत्वले मधेसीलाई अविश्वास गरेको आरोप

काठमाडौं- माओवादी केन्द्रले प्रदेश नम्बर २ को चुनावी रणनीति बनाउने जिम्मेवारीमा एकजना पनि मधेसी नेतालाई सहभागी नगराएपछि असन्तुष्टि बढेको छ। प्रदेश २ का आठ जिल्लामा उम्मेदवार चयनदेखि अन्य निर्णय गर्न यसअघि मधेसी समुदायका नेतालाई दिइएको जिम्मेवारीसमेत खोसेर शीर्ष नेताले नै लिएपछि असन्तुष्टि बढेको हो।

पार्टीको यो कार्यशैलीप्रति मधेसी समुदायका माओवादी नेताले आपत्ति जनाएका छन्। पहिला दिइएको जिम्मेवारी पनि खोसेर केन्द्रले हस्तक्षेप गरेको भन्दै माओवादीका मधेसी नेताहरू आक्रोशित हुन पुगेका छन्।

प्रदेश २ का आठ जिल्लामा उम्मेदवार चयनदेखि अन्य निर्णय गर्न यसअघि मधेसी समुदायका नेतालाई दिइएको जिम्मेवारी खोसेर शीर्ष नेताले लिएपछि असन्तुष्टि बढेको छ।

यसअघि जिम्मेवारी पाएका मातृका यादवलगायत मधेसी नेताले शीर्ष नेतृत्व समक्ष आपत्ति जनाउँदै चुनावी रणनीति निर्माणलगायत काममा मधेसी मूलका नेतालाई विश्वास गर्न आग्रह गरेको बुझिएको छ। 'कोर मधेसमा एउटा पनि मधेसी अनुहारलाई पार्टीले विश्वास गरेर जिम्मेवारी दिएन, यो मधेसीप्रतिको अविश्वास कहिलेसम्म?', एक असन्तुष्ट नेताले भने, 'त्यसमाथि पहिला दिइसकिएको जिम्मेवारी पनि खोसेर मधेस भूगोल र पार्टीको अवस्था नै नबुझेकालाई केन्द्रबाट हस्तक्षेप गरी जिम्मेवारी दिएर गलत गरिएको छ, यो सच्चिनुपर्छ।' ती नेताका अनुसार भूगोल र पार्टी अवस्था नै नबुझी केन्द्रबाट शीर्ष नेतालाई पठाउने निर्णय गरेर गलत भएको छ।

माओवादीले दुई महिनाअघि सो प्रदेशको चुनावी रणनीति, उम्मेदवार चयनदेखि अन्य विषयमा निर्क्योल गर्न मधेसी समुदायका नेतालाई जिम्मेवारी दिएर कामसमेत भइरहेको अवस्था थियो। जसअनुसार सिरहा–सप्तरीमा विश्वनाथ साह, धनुषामा मातृका यादव, महोत्तरी–सर्लाहीमा गिरिराजमणि पोखरेल, रौतहट र बारामा प्रभु साह र पर्सामा उर्मिला अर्याललाई जिम्मेवारी तोकिएको थियो थियो। तर, बुधबार भने केन्द्रीय कार्यालयले उनीहरूको जिम्मेवारी खोसेर नयाँ अनुहारलाई पुनः जिम्मेवारी दिएपछि तराई मधेसका माओवादी नेतामा असन्तुष्टि बढेको हो।

केन्द्रीय कार्यालयले सिरहामा अध्यक्ष पुष्पकमल दाहाल, सलाहीमा नारायणकाजी श्रेष्ठ, धनुषामा रामबहादुर थापा,  रौतहटमा हरिबोल गजुरेल, पर्सामा दीनानाथ शर्र्मा, सप्तरीमा चक्रपाणि खनाल, बारामा डिलाराम आचार्य र महोत्तरीमा विश्वभक्त दुलाललाई नयाँ जिम्मेवारी दिएर  खटाएको छ।

नयाँ जिम्मेवारी तोकिएपछि पुरानो जिम्मेवारी स्वतः खारेज भएको छ। प्रवक्ता पम्फा भुसालका अनुसार यसरी खटाइएका शीर्ष नेताले चुनावी रणनीति तथा उम्मेदवार चयन गर्नेछन्। 'तर, दुई नम्बर प्रदेशको चुनावी रणनीति बनाउनका लागि माओवादीले समेत कुनै पनि मधेसी अनुहारलाई प्राथमिकता दिएन, रुचाएन, यो दुःखको कुरा हो,' असन्तुष्ट अर्का नेताले नागरिकसँग भने, 'मधेसमा माओवादी नेतृत्वको यो रबैया खेदजनक छ।' ती नेताका अनुसार मधेसको जिम्मेवारी मधेसी नेतालाई दिँदा बढी सिट जित्न सकिनेछ, त्यसैले यो सच्चिनुपर्छ।

प्रमुख सचेतकमा शर्मा 

माओवादी संसदीय दलको बोर्ड बैठकले पार्टी प्रमुख सचेतकको जिम्मेवारी रेखा शर्मालाई दिएको छ। यसअघिका प्रमुख सचेतक टेकबहादुर बस्नेत मन्त्री भएपछि सो जिम्मेवारी शर्मालाई दिइएको हो। २०७० को संविधानसभा चुनावपछि माओवादीले तेस्रो पटक प्रमुख सचेतक परिवर्तन गरेको हो। सुरुमा गिरिराजमणि पोखरेल प्रमुख सचेतक थिए।

प्रकाशित: २२ श्रावण २०७४ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App