८ वैशाख २०८१ शनिबार
समाज

निर्माण नसकिँदै भत्कियो करोडको नाला

मिर्चैया (सिरहा)- वर्षाको पानी निकासका लागि मिर्चैयामा निर्माणाधीन नाला निर्माणकै क्रममा बुधबार राति भत्किएको छ। वर्षाको पानी बग्न थालेपछि नाला भत्केको हो। असारे हिलोमाथि सिमेन्ट र बालुवा मिसाएर खडा गरिएको इँटाको पर्खाल साउने झरीमा ढलेपछि निर्माणको गुणस्तरीयतामाथि प्रश्न उठाउँदै स्थानीयले छानबिन गर्न माग गरेका छन्। निर्माण नसकिँदै सामान्य वर्षाले नाला भत्किनुले कमसल काम छताछुल्ल भएको स्थानीय लक्ष्मणकुमार साहले बताए। 'कमजोर जगमाथि इँटा जोडेर बनाइएको नाला मजबुत हुने कुरै भएन', उनले भने, ‘सामान्य पानीको बहाव थेग्न नसक्ने नालाको के काम?’

मिर्चैयाको थाना चोकदेखि दक्षिण सडकमा पूर्व दुई सय मिटर र पश्चिम दुई सय मिटर पक्की नाला निर्माणका लागि मिचर्ैैया नगरपालिकाले श्रीशक्ति निर्माण सेवा गोदारसँग ठेक्कासम्झौता गरेको छ। ३८ लाख ९९ हजारमा ठेक्का सम्झौता गरेको नाला निर्माण काम सम्पन्न गर्न असार मसान्तसम्मको म्याद तोकिएको थियो। तोकिएको समयभित्र काम सम्पन्न नभएपछि साउन मसान्तसम्म म्याद थपिएको कार्यकारी अधिकृत राजेन्द्र कार्कीले बताए।

 बुधबार राति पूर्वतर्फ करिब एक सय मिटर र पश्चिमतर्फ पनि एक सय मिटर नालाको भित्ता भत्केको छ। सडकतर्फको भित्ता भत्केर पानीको बहाव रोकिएको छ। नाला भएर बग्नुपर्ने पानी अहिले सडकमा छताछुल्ल हुँदा पैदल हिँड्न समस्या परेको छ।

साइट इन्जिनियर राजेश गुप्ताले भने काम गुणस्तरीय भएको दाबी गरे। 'काम गुणस्तरीय नै भएको थियो, पानीको बहाव बढी भएर पर्खालले थेग्न सकेन', उनले, भने, ‘पानी नालामाथिबाट बग्न थालेपछि पर्खालले थेग्न सकेन र ढल्यो।’

राजमार्गको उत्तर हिमालय बोर्डिङ स्कुल मिर्चैयादेखि पश्चिम १ सय ७५ मिटर पक्की नाला निर्माणका लागि जिल्ला समन्वय समिति सिरहाले स्थानीय उपभोक्ता समितिसँग ३५ लाख ५५ हजारमा सम्झौता गरेको थियो।

असार अन्तिम साता सम्झौता गरेर उक्त उपभोक्ता समितिले असार ३१ गते काम थालेको थियो। आर्थिक वर्षको अन्तिममा गरिएको सम्झौता र थोरै समयमा काम सम्पन्न गरेकै कारण बुधबार रातिको वर्षाले नालाको पर्खाल ढलेको छ।

नालाको पर्खाल ढलेको दिन साइट इन्जिनियर विनोद नायकले काम गुणस्तरीय भएको दाबी गरेका थिए। त्यही रात परेको वर्षाको पानीले नाला भत्कियो। १ सय ७५ मिटर लामो र करिब पाँच फिट उचाइको उक्त नालामा फलामे डन्डी प्रयोग गरिएको छैन। यस्तै उक्त नाला एक सातामै निर्माण सम्पन्न गरिएकोस्थानीयको भनाइ छ।

००

९ सय ३० मिटर पक्की नाला अलपत्र 

मिर्चैया नगरपालिकामा ढल निकासको समस्या सामाधानका लागि जिल्ला समन्वय समिति सिरहाले राजमार्गको उत्तरमा ४ सय ६५ र ४ सय ६५ गरी दुई प्याकेजको ठेक्का कमला निर्माण सेवा गोदारसँग सम्झौता गरेको छ। सम्झौताअनुसार असार २९ गतेसम्म ढल निर्माण काम सम्पन्न गरिसक्नुपर्ने हो। तर, उक्त अवधिभित्र ठेकेदारले पहिलो प्याकेजको ४ सय ६५ मिटरमध्ये २ सय ३० मिटर मात्र निर्माण सम्पन्न गरेको साइट इन्जिनियर विनोद नायकले बताए। अहिलेसम्म सकिएको कामको २२ लाख रकम फस्र्छ्योट गर्ने सिफारिससहित काम बन्द गर्न ठेकेदारलाई निर्देश गरिसकेको उनले बताए।

 ‘सम्झौतामा उल्लिखित म्यादबाहिर गएर ठेक्केदारले आफूखुसी काम गर्दैछ नायकले भने, ‘अहिले भइरहेको कामको जिम्मेवारी जिसस र ठेकेदारले लिन्छ, मैले होइन।’ नाला निर्माणका लागि खनिएको खाल्डोमा पानी भरिएको छ। खाल्डो छेउको माटो धसेर नालामा पर्दैछ। खाल्डोमा भरिएको पानी छताछुल्ल भएर राजमार्गमा बग्दैछ।

सिरहा क्षेत्र नम्बर ५ का सांसदसमेत रहेका पूर्वप्रधानमन्त्री पुष्पकमल दहालको संसदीय क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको एक करोड र थप बजेटबाट एक करोड गरी दुई करोड रकम मिर्चैयाको ढल निर्माणका लागि विनियोजन गरिएको जिसस सिरहाले जनाएको छ।

  ‘धेरै कसरतपछि मिर्चैयाबासीले पाएको ढलको कार्यक्रम ठेकेदार र जिससको लापरबाहीका कारण समयमा सम्पन्न हुन सकेन,' स्थानीय बुद्धिजीवी अशोक साह भन्छन्, ‘जिससले गम्भीर बनेर ठेकेदारसँग काम गराउन सकेको भए मिर्चैयाबासी चयनको सास फेर्न पाउने थिए।’

बजेट फ्रिज हुनबाट जोगाउन हतारमा गरिने यस्ता काम न दिगो हुन्छन् न त बजेटको सदुपयोग नै हुन्छ। ‘असारे विकास' आर्थिक अनियमितता गर्ने सजिलो माध्यम भएकाले वर्षको अन्तमा विकास निर्माणको काम सुरु हुन्छ।

हरेक आर्थिक वर्षान्तमा कमिसनको लोभमा परेर करोडौंको बजेट खर्च गर्ने प्रवृत्ति पुरानै हो। जेठमा सम्झौता गरेर असारमा काम सम्पन्न हुन सक्दैन भन्ने जान्दाजान्दै पनि जिल्ला समन्वय समितिले करोडौं रकम पानीमा बगाइरहेको छ।

प्रकाशित: २२ श्रावण २०७४ ०२:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App