काठमाडौं- संसद्को विधायन समितिले विभिन्न मन्त्रालयबाट जारी हुने नियमावली, विनियम, निर्देशिका, कार्यविधि र आदेश समितिमा अनिवार्य पठाउन सरोकारवाला निकायलाई निर्देशन गरेको छ।
समितिको शुक्रबार बसेको बैठकले सो निर्देशन दिएको हो। मन्त्रालयबाट जारी भएका निर्देशिका, कार्यविधि आदेश कानुनमा उल्लेख भएभन्दा फरक हुने गरेको भन्दै समितिले यस्तो निर्देशन दिएको हो।
विनियम निर्देशिका र कार्यविधि मन्त्रिपरिषद, मन्त्रीस्तरीय, सचिवस्तरीय र केही विभागबाट निर्माण भई जारी भइरहेका छन्। यसरी जारी निर्देशिका तत्काल समितिमा पठाउन निर्देशन भएको हो। समिति सदस्य रेवतीरमण भण्डारीले भने, 'यस्ता आदेश नत मन्त्रिपरिषद्को सचिवालयलाई जानकारी छ नत संसद्लाई नै। यस्तो अराजकता रोक्नुपर्छ भनेर समितिले अध्ययन गरेको थियो।' समितिले २०७३ चैत ३१ गते सातवटा उपसमिति गठन गरेर अध्ययन गरेको थियो।
मन्त्रिपरिषद्भन्दा तल्लो निकायबाट आदेश जारी गर्न नपाइने व्यवस्था राख्न उपसमितिले सुझाव दिएको थियो।
प्रकाशित: २२ श्रावण २०७४ ०२:३३ आइतबार