८ वैशाख २०८१ शनिबार
समाज

डा. केसीका हजारौं समर्थक सडकमा

काठमाडौं- चिकित्सा शिक्षा सुधारको माग गर्दै विगत १३ दिनदेखि आमरण अनशन बसेका डा.गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शनिबार उनका हजारौं समर्थक सडकमा उत्रिएका छन्। डा. केसीको स्वास्थ्य गम्भीर बन्दासमेत उनको माग पूरा गर्न सरकार संवेदनशील नभएको आमनागरिक, पेसाकर्मी, कलाकार, नागरिक अगुवा, चिकित्सक एवं विद्यार्थी सडकमा उत्रिएका हुन्।

र्‍याली शनिबार मध्याह्न माइतघरबाट सुरु भएर बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो। र्‍यालीमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्की, मानवअधिकारवादी कृष्ण पहाडी, सुबोधराज प्याकुरेल, रवीन्द्र मिश्र, ओम अर्याललगायत सहभागी थिए। यस्तै विभिन्न राजनीतिक दलका भ्रातृ संगठनसहित डेढ दर्जनभन्दा बढी स्वतन्त्र संघसंगठन ब्यानरसहित सहभागी थिए। 

चिकित्सा ऐन पास गर्न ६०१ सांसदलाई ब्युँझाउने भन्दै र्‍यालीका सहभागीले घन्टी बजाएका थिए।

र्‍यालीपछि बानेश्वरमा आयोजित कोणसभामा पूर्वप्रधानन्यायाधीश कार्कीले चिकित्सा क्षेत्रको विकृतिविरुद्ध डा. केसी अनशन बसेको भन्दै आफू उनको अभियानमा ऐक्बयद्धता जनाउन आएको बताइन्। 'गरिबले पढ्न पाउँ्क भन्नु, मेडिकल शिक्षामा व्यापार गर्न पाइन्न भन्नु, स्वास्थ्य शिक्षा सामाजिक न्याय हो भन्नु डा. केसीका जायज कुरा हुन्। उहाँले यसैअनुरुप कानुन बन्नुपर्छ भन्नुभएको हो, त्यो संविधानको मौलिक हकमै रहेको व्यवस्थाअनुसार छ,' उनले भनिन्। डा.केसीको माग संविधान र कानुनसम्मत रहेको उनको भनाइ छ। उनले भनिन्,  'संसारभर विकृतिविरुद्ध थुपै सत्याग्रहीले लडेका छन्। यहाँ पनि जे मन लाग्यो त्यही गर्न पाइँदैन।'

डा. केसीजस्ता सत्याग्रहीको अनशनले पराजित हुने अवस्था आए वा कुनै दुर्घटना भए देशकै लागि कलंक हुने कार्कीको भनाइ थियो।

मानवअधिकारवादी कृष्ण पहाडीले डा. केसीको लडाइँ सत्य, निष्ठा, नीति, मूल्यमान्यताका लागि भएको बताए। 'संसारमा सबै मान्छे राम्रो चाहन्छन्। उहाँ चिकित्सा शिक्षामा राम्रो होस् भनेर चट्टानजस्तै उभिनुभएको छ,' पहाडीले भने। सरकारले डा. केसीको माग नसुनेमा देशव्यापी सत्याग्रह सुरु हुने दाबी पहाडीले गरे।

विवेकशील साझा दलकी नेतृ रञ्जु दर्शनाले जनपक्षीय चिकित्सा शिक्षा ऐन बनाउन यति आवाज उठाउँदा पनि सरकारले नसुन्नु आश्चर्यको विषय भएको बताइन्। 'सरकार कानमा तेल हालेको हो या सरकारमा बस्नेको कान बिरामी छ?' उनले भनिन्, 'बिरामी भए हामी निःशुल्क उपचार गरिदिन्छौं।' उनले केपी ओलीलाई झापाका कुनै गरिबको, पुष्पकमल दाहाललाई रोल्पाका विपन्नको र शेरबहादुर देउवालाई सुदूरपश्चिमको एउटा छाप्रोमा जन्मिएको विद्यार्थीको पहुँच चिकित्सा शिक्षामा पुगेको हेर्ने इच्छा छ कि छैन भन्ने प्रश्न गरिन्।

अधिवक्ता सुरेन्द्र भण्डारीले डा.केसीका मागलाई गलत व्याख्या गरेर भ्रम फैलाउनेहरू र नेतासँग पहुँच भएका माफियाले ऐन आउन रोकेको आरोप लगाएको बताए। सोलिडाइरेटी फर जिकेसी अभियानका डा.जीवन क्षेत्रीले संसारमा ठूला राजनीतिक परिवर्तन सत्याग्रहबाटै सम्भव भएको भन्दै डा. केसीहो अनशनलाई अवमूल्यन नगर्न एमाले अध्यक्ष केपी ओलीलाई चेतावनी दिए।

उनले सासंदहरूले विधेयकमा हालेका संशोधन हेर्दा मेडिकल माफिया संसद्मै रहेको देखिएको बताए। उनले भने, 'मेडिकल कलेज खोल्न अस्पताल चाहिन्न भन्ने, अनि जति मेडिकल कलेज खोले पनि हुन्छ भनेर संशोधन हाल्ने जनप्रतिनिधि भएपछि माफियालाई किन गाली गर्नुपर्‍यो र?'

वार्ता निष्कर्षविहीन

डा.केसीको स्वस्थ्य जोखिमपूर्ण बन्दै गएको छ। शरीरका महŒवपूर्ण अंग सञ्चालनका लागि आवश्यक पर्ने इलेक्टोइटड कमी भएसँगै झन् जोखिम बढेको हो। नर्मल स्लाइन दिनका लागि खोलिएको नसाबाट रगतसमेत आउन कम भएपछि शनिबार नियमित जाँचका लागि नमुना निकाल्न सकिएन्। यसअघि दायाँ हातबाट नसा खोलेर स्लाइन दिइँदै आएकोमा हात सुन्निएपछि बायाँ हातमा नसा खोलिएको थियो।

उपचारमा संलग्न चिकित्सकका अनुसार डा. केसीको शरीरमा रगतको मात्रा अत्यन्तै न्यून छ। रोग प्रतिरोधात्मक क्षमताको सूचक रहेको सेता रक्तकोशिकाको मात्रा घटिसकेको छ। छातीको दुःखाइ र माशंपेसी बाउँडिने समस्या बढ्दै गएको छ। विगत पाँच दिनदेखि रक्तचाप कम हुनुका साथ मुटुको चालमा गडबडी आइरहेको छ।

सरकारसँग भएको वार्ता भने निष्कर्षमा पुग्ने संकेत देखिएको छैन। डा. केसीले ऐन पारित नभई आफूले अनशन नछाड्ने अडान राखेका छन् भने उनले भनेअनुसार ऐन ल्याउन नसक्ने बताउँदै आएका छन्।

विगत तीन दिनदेखि हुन नसकेको वार्ता शनिबार भएको थियो। वार्ता शुक्रबार शीर्ष नेताबीच भएको छलफलको 'सेयरिङ' बाहेक ठोस विषयमा प्रवेश नगरेको डा. केसी पक्षबाट वार्तामा सहभागी डा.अभिषेक सिंहले बताए।

'चिकित्सा ऐन र त्रिवि पदाधिकारीको बर्खास्त प्रमुख माग हो। दुवै मागमा सरकार सकारात्मक छैन,' डा.सिंहले भने, 'ठूला नेताले अनशन छोड्नुस् भनेर मात्रै उहाँ अनशन छोड्न पक्षमा हुनुहुन्न।' 

'चिकित्सक संघको चेतावनी'

डाक्टरहरूको छाता संगठन नेपाल चिकित्सक संघले डा. केसीका माग पूरा गर्न नगरे  देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने चेतावनी दिएको छ। डा.केसीको अनशन र अब चाल्नुपर्ने भूमिकाबारे शनिबार राजधानीमा आयोजित चिकित्सकहरूको भेलापछि संघले यस्तो चेतावनी दिएको हो।

भेलामा सबोधन गर्दै संघका अध्यक्ष डा. मुक्तिराम श्रेष्ठले 'इमोसनल भएको समयमा विरोध आए पनि र अप्रिय लागे पनि' डा. केसीको माग सम्बोधन गराउन र उनको जीवन रक्षाका लागि जस्तोसुकै कदम चाल्न आफूहरू बाध्य हुने बताए। श्रेष्ठले त्यसमा आमचिकित्सकले साथ दिने विश्वास व्यक्त गरे।

कार्यक्रममा संघका पूर्वअध्यक्ष डा.अञ्जनी झाले शान्तिपूर्ण ढंगले राखिएको जायज मागलाई कम नआँक्न चेतावनी दिए। 'शान्तिपूर्ण रूपमा सुन्नुहुन्न भने के बन्दुक उठाउनुपर्‍यो त?' झाले भने, 'अनशन बसेर जे पनि गर्ने भनेर कसैले कम नआँके हुन्छ।' उनले डा. केसी विधि र पद्धति बसाल्नकै संघर्षमा लागेको बताए।

संघका अर्का पूर्वअध्यक्ष डा. केदारनरसिंह केसीले निजी मेडिकल कलेजका कारण चिकित्सा शिक्षा बदनाम भएको बताए। 'तपार्इंहरूका पक्षमा पनि चिकित्सक संघ उभिन सक्ने परिस्थिति बनाइदिनुस्,' उनले निजीका सञ्चालकतर्फ लक्षित गर्दै भने, 'व्यापार अति भयो, किन हामी चिकित्सकलाई नै दुःख दिनुहुन्छ?'

संघका वरिष्ठ उपाध्यक्ष डा.ढुण्डी पौडेलले सत्तामा पहुँच चिकित्सक संघको भन्दा निजी लगानीकर्ताको धेरै रहेको भन्दै डा. केसीको जीवनरक्षाका लागि कलेज सञ्चालकलाई आग्रह गरे।

चितवन मेडिकल कलेजका सञ्चालक हरिश न्यौपानेले डा.केसीको माग र अनशन चिकित्सा शिक्षा क्षेत्रलाई नै व्यवस्थित गर्नका लागि भएकाले विरोध गर्ने ठाउँ नरहेको बताए।

विभिन्न अस्पतालका निर्देशक, वरिष्ठ चिकित्सक, निजी अस्पतालका प्रतिनिधि र चिकित्साशास्त्रका विद्यार्थीसमेत उपस्थित छलफलले केसीको जीवनरक्षाका लागि संघले आन्दोलनको नेतृत्व लिनुपर्ने निष्कर्ष निकालेको संघका महासचिव डा. लोचन कार्कीले जानकारी दिए।

प्रकाशित: २२ श्रावण २०७४ ०२:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App