६ वैशाख २०८१ बिहीबार
राजनीति

डाक्टरको आक्रोश: अनशन नसुन्ने भए, बन्दुक उठाउनुपर्‍यो त?

काठमाडौं- डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघले डा.गोविन्द केसीका माग पूरा गर्न ‘अन्तिम हतियार’को रुपमा रहेको देशभरका स्वास्थ्य सेवा ठप्प पार्ने कार्यक्रमसमेत जान बाध्य हुने जनाएको छ।

डा.केसीको अनशन र संघले चाल्नुपर्ने भूमीकाबारे शनिबार आफ्नै कार्यलय सिद्धीभवनमा भेला आयोजना गरेर छलफलपछि यस्तो चेतावनी दिएको हो। भेलालाई संवोधन गर्दै अध्यक्ष डा.मूक्तीराम श्रेष्ठले ‘इमोसनल भएको समयमा विरोध आएपनि, अप्रिय लागेपनि’ डा.केसीको माग संवोधन गराउँन र जीवन रक्षाका लागि जस्तो सुकै कदम चाल्न बाध्य हुने बताए । श्रेष्ठले त्यसमा आम चिकित्सकले साथ दिने विश्वास व्यक्त गरे । उनले त्यसअघि सरकारलाई संवेदशील भएर निकाशका लागि आग्रह गर्ने र समय दिएरै बन्दमा यस्तो कार्यक्रम घोषणा गर्ने बताए । अहिले संसदमा प्रस्तावित ऐन आउँदा नीजि क्षेत्र र चिकित्सा समुदायले समेत आपत्ति मान्नुपर्ने कारण नभएको समेत बताए।  

कार्यक्रममा संघका पूर्व अध्यक्ष डा.अन्जनी झाले शान्तिपूर्ण ढंगले जायज माग राख्दा कम नआँक्न चेतावनी दिए । ‘शान्तिपूर्ण रुपमा सुन्नुहुन्न भने के बन्दुक उठाउँनुर्‍यो त ?’ झाले भने, ‘अनशन बसेर जे पनि गर्ने भनेर कसैले कम नआँके हुन्छ, ’ उनले डा.केसी विधि र पद्धति बसाल्नकै लागेको नभुल्न समेत चेतावनी दिए।

अर्का पूर्व अध्यक्ष डा.केदारनरसिंह केसीले निजी मेडिकल कलेजका कारण चिकित्सा शिक्षा बदनाम भएको बताए । ‘तपाईहरुका पक्षमा पनि चिकित्सक संघ उभिनसक्ने परिस्थिति बनाइदिनुस्,’ उनले नीजिका संचालकतर्फ लक्षित गर्दै भने, ‘व्यापार अति भयो, किन हामी चिकित्सकलाई नै दुःख दिनुहुन्छ ?’

चितवन मेडिकल कलेजका संचालक हरिश न्यौपानेले डा.केसीको माग र अनशन चिकित्सा शिक्षा क्षेत्रलाई नै व्यवस्थि तगर्नका लागि भएकोले विरोध गर्ने ठाउँन नरहेको बताए । डा.केसीका वरपरका मान्छेले राम्ररी फलोअप गर्न नसक्दा ११/११ पटक अनशन बस्नुपर्‍यो,’ उनले भने, ‘यसको नेतृत्व संघले लिनुपर्छ र निष्कर्षमा पुर्‍याउँनुपर्छ,’ ।

विभिन्न अस्पतालका निर्देशक, बरिष्ठ चिकित्सक, निजी अस्पतालका प्रतिनिधि र चिकित्साशास्त्रका विद्यार्थीसमेत उपस्थित रहेको कार्यक्रमले वार्तामा चिकित्सक संघको प्रतिनिधित्व गर्नुपर्ने र केसीको जीवन रक्षाका लागि आन्दोलनको नेतृत्व संघले लिनुपर्ने निष्कर्ष निकालेको संघका महासचिव डा.लोचन कार्कीले बताए ।

प्रकाशित: २१ श्रावण २०७४ ११:११ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App