coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

साउने फेसन फिभर

अभिनेत्री महिमा सिलवालले साउन महिना आउनुअघि नै आफ्ना लागि दुई दर्जन हरियो चुरा किनिन् । साथै, ग्रन्च पेन्टसँग लगाउने कुर्ती पनि । त्यस्तै फेसन डिजाइनर मञ्जु बन्जारालाई पनि साउन महिना अति मनपर्ने हुनाले दुई वटा कुर्ता सेट डिजाइन गरिन् । कलाकार भुनिया एवं मोडेल हरिशा बानियाँ बुटिकमा ग्रीन टप्स टिपिन् ।
साउन १ गतेबाट महिमा, मञ्जु र हरिशा सबैले आफूलाई मनपर्ने मेहेन्दी लगाउँदैछन् ।
विवाहिता महिला साउने सोमबारमा मेहेन्दी, हरियो पोते र चुरा लगाएर आफ्ना श्रीमान्का लागि व्रत बस्छन् भने अविवाहिताले असल वरको कामना गर्दै ब्रत बस्ने गर्छन् । अहिलेका किशोरीमाझ हरियो चुरा र मेहेन्दी लगाउने फेसनले त होडबाजीकै रुप लिन थालेको छ । व्रत बसे पनि नबसे पनि अहिलेका किशोरी हरियो फेसनबाट अछुतो छैनन् । हरियो चुरासँगै मेहेन्दी लगाउने क्रेज पनि त्यत्तिकै बढेको छ । पहिला विवाह एवं कुनै विशेष समारोहमा मात्र मेहेन्दी लगाउने चलन थियो । अहिले भने साउन महिना सुरु हुनेबित्तिक्कै मेहेन्दी तथा हरियो चुरापोतेको फेसन छ्यापछ्याप्ती देख्न पाइन्छ । त्यहीअनुरुप बजारमा मेहेन्दी लगाउने महिलाको भीड बढेको देख्न सकिन्छ । काठमाडौँको इन्द्रचोकस्थित चोखचे गल्लीमा १० वर्षदेखि चुरा पसल चलाउँदै आएकी रमिता महर्जनलाई  साउन, भदौ तथा विवाहको सिजनमा सास फेर्ने फुर्सद हुँदैन । अन्य समय ११ बजे पसल खोले पनि विवाहको सिजनमा उनी बिहान ९ बजेदेखि पसल खोलेर  साँझ ८ बजे पसल बन्द गर्ने गरेको बताउँछिन् । भन्छिन्, ‘धेरै व्यापार हुने यही सिजनमा हो । पहिला त मेरो पसलमा धेरै महिला आउँथे अहिले भने किशोरीहरु नै बढी हुन्छन् । उनीहरुको रोजाइमा चुरा, टीका हुन्छ र मलाई भ्याई–नभ्याई हुनाले एक जना सहयोगी पनि पनि राख्छु ।’
न्युरोडको बाटोमा मेहेन्दी लगाउँदै आएका मुसिर खान पनि अरु बेलाभन्दा साउन महिनामा बढी व्यापार हुने गरेको बताए । ‘भ्याउँदिन भन्दा पनि टिनएज केटीहरु मेहेन्दी लगाउन मरिहत्ते गर्छन्,’ उनले भने, ‘पार्लरमा भन्दा मेरोमा मेहेन्दी लगाएको चार्ज सस्तो छ । त्यै भएर मरिहत्ते गरेका हुन् ।’
साउन भन्ने बित्तिक्कै हरियो फेसन बुझिन्छ तर भदौ लागे लगत्तै तीजको याम सुरु हुन्छ । तीज अर्थात् रातो फेसन ।

साउनमा कसलाई कस्तो पहिरन ?
सन्तोषी श्रेष्ठ,

फेसन डिजाइनर
लेडिज डे बुटिक, केएल टावर

साउन महिनामा धेरैजसो महिला हरियो रङ नै प्रयोग गर्न रुचाउँछन् । त्यसमा पनि हिजोआज कम्बिनेसन कलर बढी चलेको छ । ग्रीनसँग एल्लो, टरक्वाइज ब्लु, पर्पल, बेबी पिंक तथा रातोजस्ता सेडहरुमा पहिरनको माग बढिरहेको छ । साउन महिनालगत्तै तीज आउने भएकाले ग्रीनसँग अझ रेड तथा एल्लो कलरको कम्बिनेसन बढी माग हुन्छ । मेरोमा आउने महिला ग्राहकहरु २५ देखि ४५ वर्ष उमेर समूहका बढी छन् । साउनको लागि उनीहरु कुर्ता सेट, साडी एवं लेहेंगा चोली नै बढी अर्डर गर्छन् । टिनएजर केटी भने साउनका लागि बढी ग्रीन कुर्ती र टप्स बनाउने गर्छन् । जसलाई उनीहरु पेन्ट, हाफ पेन्ट, लेगिन्स एवं प्लाजोसँग प्रयोग गर्न रुचाउँछन् । अहिले चलेको फेब्रिकहरुमा सिफन र जर्जट हो तर क्रेप शिल्कको पनि उति नै माग छ । साउन महिनाका लागि विवाहित महिलाको रेडमा ग्रीन, एल्लो तथा मजेन्टा कम्बिनेसनका साडी तथा कुर्ता सेट प्रयोग गर्दा राम्रो देखिन्छ । यो पहिरनमा हरियो र पहेँलो पोते, हरियो, पहेँलो तथा रातो चुरा–टीकाले कम्प्लिट लुक दिन्छ । त्यस्तै अविवाहितले लेहेंगा चोली (राम्रो हाइट हुनेहरुले), कुर्ती, टप्स (जिन्स र लेगिन्ससँग) प्रयोग गर्दा यो अवसरका लागि  गज्जबको पहिरन हुन्छ । यसमा हरियो र पहेँलो मिसिएको चुरा र टीकाको कम्बिनेसन राम्रो हुन्छ । अन्य एसेसरीहरु भने मिक्स म्याच गरेर प्रयोग गर्दा हुन्छ । दिउँसो हेभी वर्क गरिएका पहिरन तथा हेभी एसेसरीहरु प्रयोग गर्नु हुँदैन । पहिरनको रङ छनोट पनि आफ्नो छालाको रङअनुसार ध्यान दिनुपर्छ ।
प्रस्तुति : जयन सुब्बा मानन्धर
मोडल : सिर्जना कार्की
तस्बिर : सत्यन श्रेष्ठ

प्रकाशित: २१ श्रावण २०७४ ०७:०१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App