४ वैशाख २०८१ मंगलबार
राजनीति

भरतपुर १९ को पुनःमतदानले गठबन्धनलाई राहत

चितवन- भरतपुर महानगरपालिकाको वडा नं. १९ मा भएको पुनःमतदानको नतिजाले मेयर उपमेयर पदमा चुनावी तालमेल गरेका सत्तारुढ गठबन्धनलाई राहत दिएको छ। हिजो शुक्रबार भएको मतदानको आज घोषणा भएको परिणाम अनुसार वडामा नेपाली काँग्रेसका उम्मेद्वारहरुको प्यानल नै विजयी भएको छ। मेयर पदमा गठबन्धनकी उम्मेद्वार माओवादी केन्द्रकी रेणु दाहाललाई जितको सम्भावना बढाउने मत प्राप्त भएको छ।

वडा नं. १९ को गणना सकिदा तीन सयभन्दा पनि कम मतान्तर रहेका कारण अब मेयर पदमा एमालेका ज्ञवालीले जित्ने सम्भावना न्यनुन भएको छ। वडा नं. १९ को अन्तिम मतपरणाम अनुसार मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देवि ज्ञवालीको अग्रता अझै पनि कायम नै छ। तर मतान्तर निकै साँघुरिएको छ। ज्ञवाली दहालभन्दा जम्मा २२१ मतले अगाडि छन्।

वडा नं. १९ को मत गणनाअघि देवि ज्ञवाली ७८४ मतले अगाडी थिए। हिजो भएको पुन मतदानमा सो वाडमा २८७० मत खसेको थियो। वडा नं. १९ को मतगणना सकिदा ज्ञवालीले आफ्नो अग्रताबाट ५६३ मत गुमाए। अब वडा नं. २० को मत गणनामा रेणु दाहालले अग्रता कायम गर्ने सम्भावना प्रवल भएको गठबन्धन पक्षधरहरुको भनाइ छ।

निर्वाचन कार्यालयबाट प्राप्त विवरण अनुसार वडा नं. १९ सम्मको मत गणना पुरा हुँदा मेयर पदमा नेकपा (एमाले)का उम्मेद्वार देविप्रसाद ज्ञवालीको कुल मत संख्या ४१ हजार ९४६ पुगेको छ। रेणु दाहालको मत ४१ हजार ७२५ छ। उपमेयरमा गठबन्धनबाट उम्मेद्वार रहेकी नेपाली काँग्रेसकी पार्वती शाहको मत ४५ हजार ६२३ छ। एमालेकी दिब्य शर्मा आचार्यको मत ३८ हजार ६०४ रहेको छ।

अब २० नम्बर वडाको मत गनेपछि भरतपुरको सवै २९ वडाहरुको मतगणना सकिने छ। २० नम्बर वडामा ३३०२ मत खसेको छ। पहिलो चरणमा भएको स्थानीय तह निर्वाचन अन्तर्गत भरतपुरमा बैशाख ३१ गते मतदान भएको थियो। २७ वटा वडाको मत गणना सकिएर १९ नम्बरको गणना भइ रहँदा जेठ १४ गते मध्यरातमा गणनामा बसेका प्रतिनिधिहरुले मतपत्र च्यातेका थिए।

मतपत्र च्यातेको आरोपमा प्रहरीले तत्कालै माओवादी केन्द्रका गणना प्रतिनिधिहरु द्रोणबाबु सिवाकोटी र मधु न्यौपानेलाई समाएको थियो। उनीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा दायर भएको छ। मतपत्र च्यातिएपछि गणना कार्य स्थगित भएको थियो। एमालेले तत्काल मत गणना सुरु गर्न माग गरेको थियो भने गठबन्धनमा रहेका नेपाली काँग्रेस र माओवादी केन्द्रले सो वडामा फेरि मतदान गराउन माग गरेका थिए।

निर्वाचन आयोगले पनि मतदानकै निर्णय गरेको थियो। जुन निर्णयका विरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको थियो। तर सर्वोच्च अदालतले पनि निर्वाचन आयोग कै निर्णय सदर गरेको थियो। अदालतबाट आदेश आएसँगै भरतपुर १९ मा अढाई महिना नहुँदै दोहर्‍याएर मतदान भएको थियो। दोहर्‍याएर मतदान गरे आफ्नो पक्षमा धेरै मतदान गराउन सकिन्छ भन्ने योजनाका साथ माओवादीले मतपत्र च्यातेको एमालेले आरोप लगाउँदै आएको छ।

वडा नं. १९ र २० नेपाली काँग्रेसको राम्रो जनाधार क्षेत्र भएका वडाहरु हुन्। गएको जेठमा गणना भइ रहँदा वडा नं. १९ मा मेयरमा रेणु दाहालले राम्रो मत ल्याउने अपेक्षा थियो। दाहाल ज्ञवालीभन्दा ७८४ मतले पछाडी थिइन्। १९ को गणना सकिदा यो अन्तर तीन सयदेखि पाँच सयसम्म कायम भए २० नम्बरको मत गन्दा दाहालले ज्ञवालीलाई जित्ने सम्भावना प्रवल हुन्थ्यो। तर १९ को मत गन्न थालेपछि गठबन्धनले सोचे अनुरुप भएन। दाहाललाई कम मत आउन थाल्यो।

मतपत्र च्यातिनु अघि वडा नं. १९ का एक हजार ८०९ मत गणना भएको थियो। जसबाट ज्ञवालीको कुल मत ४१ हजार ६४१ र दाहालको मत ४० हजार ९०८ पुग्यो। दाहाल र ज्ञवालीबीच मतान्तर ७३३ मात्रै रहयो। सो वडामा जुन अनुपातमा मत आएको थियो गणना सकिदा ज्ञवाली दाहालभन्दा ६५० मतले अगाडी हुने प्रवल सम्भावना थियो। यसो हुँदा २० को गणनापछि ज्ञवालीले नै जित्ने बलियो अवस्था बन्थ्यो। यस्तो अवस्थामा मतपत्र च्यातिएका थिए।

भरतपुरमा नेपाली काँग्रेसले एक्लै चुनाव जित्ने अवस्था थियो। यस्तो ठाउँमा मेयर पद नै माओवादीलाई दिएर तालमेल गरेको भन्दै काँग्रेसका मतदाताहरु रुष्ट भएका थिए। माओवादी र काँग्रेसका नेताहरुले संयुक्त अभियान चलाए पनि मतगणना हुँदा काँग्रेसलाई मतदान गरेकाहरुमध्ये धेरैले मेयरमा रेणु दाहाललाई मतदान नगरेको देखिएको थियो। हिजो भएको वडा नं. १९ को निर्वाचनमा भने त्यस्तो नभएको पाइएको छ।

प्रकाशित: २१ श्रावण २०७४ ०६:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App