८ वैशाख २०८१ शनिबार
अन्य

सत्यमोहन कि सत्यजीवन?

विमल भौकाजी

करिब दुई वर्षअगाडि। ललितपुरस्थित एउटा पुरानो घर। भर्खरै गएको भुइँचालोबाट अविचलित त्यही घरको भुइँतला र त्यहीँ अवस्थित पुरानो सोफामा विराजमान एक व्यक्ति, झन्डै–झन्डै सय वर्षको उमेर छुनै लागेका 'शताब्दी–पुरुष' सत्यमोहन जोशी!

र, उनकै सन्मुख उभिएको थिएँ, भर्खरै अर्धशताब्दी पार गरेको म।

उनलाई देख्नासाथ मेरो मस्तिष्कमा जहिले पनि चलमलाउने एउटा शब्द त्यस दिन पनि अनायास चलमलाइहाल्यो, सत्यजीवन। जब सत्यमोहन जोशीलाई देख्छु, बाल्यकालदेखि नै भलिभाँती परिचित यो शब्द किन सम्झना हुन्छ मलाई? त्यसको एउटा कारण छ।

श्रीकृष्ण औषधालयद्वारा निर्मित 'सत्यजीवन' र सानो छँदा 'कपुरी क' वा 'दुई एकान दुई' सिकेको ठूलो वर्णमालाको प्रयोग मैले त्यही एकै समयमा गरेँ। अलिकति टाउको दुख्यो, सत्यजीवन। अलिकति वाक्वाक् लाग्यो, सत्यजीवन। रुघा लाग्यो, सत्यजीवन या भनौँ शरीरमा कुनै किसिमको सानोतिनो विकार पैदा भयो भने तत्काल औषधि थियो, सत्यजीवन। हुन पनि दुई–चार थोपा सत्यजीवनले मालिस गर्‍यो वा पानीमा मिसाएर घुटुक्क पिएपछि त्यो 'रामबाण' नै हुन्थ्यो। दुखेको, पोलेको सब छुमन्तर! (हिजोआज 'सत्यजीवन' उत्पादन हुन्छ कि हुँदैन, थाहा छैन।) जहाँसम्म ठूलो वर्णमालाको सन्दर्भ छ, त्यो पुस्तकका लेखक सत्यमोहन जोशी हुन् भनेर अलिक उमेर बढेपछि मात्रै ज्ञात भयो। र, जबदेखि उनै सत्यमोहनलाई देखियो त्यही बेलादेखि नै म सधैँ 'कन्फ्युज्ड' भइरहेँ, 'सत्यमोहन कि सत्यजीवन?'

०००

जिज्ञासा उठ्न सक्छ– सत्यमोहन र सत्यजीवनको जन्म समय एकै युगमा हुनु र सम्भवतः उस्तै मितिमा हुनु के संयोग मात्रै होला र? भन्न सकिन्छ– सत्यमोहन र सत्यजीवनको शब्दसंयोग वास्तवमा केवल संयोग मात्रै होइन, समयचक्रको एउटा रोमाञ्चक घटना नै हो। किनकि सत्यजीवनबारे भनिसकियो– सामान्य रोगीका निमित्त 'औषधि' थियो त्यो र सत्यमोहन नेपाली संस्कृतिका 'डाक्टर' हुन्, हामीलाई थाहा नभएका नेपाली कला–संस्कृतिका कैयौँ तथ्यको विषयमा उनी जानकार छन्, अनुसन्धान गरेका छन्। अनगिन्ती लेख र किताब लेखेका छन्। मूलतः नेपाली लोकसंस्कृतिका क्षेत्रमा उनी आजको मितिसम्म पनि उत्तिकै सक्रिय छन्, जसको सिलसिला उनको १९ वर्षको उमेरबाट सुरु भएको थियो। अलिकति पनि थकानको आभास छैन उनको अनुहारमा। लेखन होस् या वक्तव्य, दुवै पाटोमा जुनसुकै क्षणमा उनी हाजिर छन्।

यो उमेरसम्म पनि यस्तो सक्रियता! यसको रहस्य के होला? जान्न म उत्सुक थिएँ। त्यसैले मैले सोधेँ, 'आफ्नो दिनचर्यालाई यस्तो तन्दुरुस्त राख्न तपाईं कुन खालको व्यायाम गर्ने गर्नुहुन्छ?'

उनले चिरपरिचित मुस्कान फ्याँके। मैले फेरि पनि जिज्ञासा दोहोर्‍याएँ, 'कुनचाहिँ योग गर्ने गर्नुहुन्छ तपाईं?'

'योग?' प्रतिप्रश्न गर्दै उनी फेरि मुस्कुराए। तर यसपटकको मुस्कान अलि भिन्न लाग्यो मलाई। भिन्न यस मानेमा कि त्यो मुस्कानमा एउटा मीठो व्यंग्य मिसिएको थियो, मुस्कुराउँदै भने उनले, 'म जन्मिँदा यो योग–सोग भन्ने शब्दै नेपालमा भित्रिएको थिएन।'

पक्कै पनि योगको प्रचलन अनावश्यकीय ढंगले बढ्दै गएकोप्रति कटाक्ष हुनुपर्छ उनको जवाफ, मैले यही बुझेँ। त्यसो त योगप्रति उनको कुनै चासो नभएको भने होइन। उनले अपनाउने गरेको अनुशासित आहार–विहार, शिष्ट बोलीचाली, स्वस्थ चिन्तन र डाह, इर्ष्या, तनावरहित सन्तोषको जीवनशैली, के यो कुनै योगभन्दा कम छ? योगमाथिको योग, यो त वास्तवमा महायोग हो। बस् यही नै हो उनको दीर्घजीवनको रहस्य।

आश्चर्य! यो उमेरमा पनि उनको श्रवणशक्तिमा कत्ति पनि कमी आएको छैन। अहिलेसम्म टाढा हेर्नका लागि उनले चस्मा लगाएको फोटो कसैले खिचेको दाबी गरेका छन्? हिँडडुल गर्न आजसम्म कसैको सहारा चाहिएको छैन, उस्तै परे अरूलाई डोर्‍याएर हिँड्ने ताकत छ उनीमा। समयलाई अत्यन्तै महŒव दिने उनी राजधानीमा चल्ने साहित्यिक सांस्कृतिक कार्यक्रममा निश्चित समयमा पुगेका हुन्छन्, एक्लै ठमठमी हिँडेर।

०००

औपचारिक समय लिएर नजाँदा उनलाई घरमा भेटिनु अपवाद मान्नुपर्छ। किनकि बिहान सबेरैदेखि नै उनी कुनबेला कता पुगेका हुन्छन्, घरैकाले पनि थाहा पाएका हुँदैनन्। कार्यक्रमको रुटिन उनले घरमा सधैँ बताएर पनि के साध्य? हप्तौँदेखि कार्यक्रमका लागि 'बुक' रहेका हुन्छन् उनी। यहाँनिर एउटा स्मरणीय कुरो, उनको मस्तिष्क यति तेज छ कि आगामी कुनै पनि कार्यक्रमका लागि दिइएको समय बिर्संदैनन्।

नबिर्सने सन्दर्भ उठाउँदा, उनको एउटा विलक्षण प्रतिभा यहाँ उल्लेख नगर्ने हो भने उनको व्यक्तित्व छायामा पर्न पुग्छ। त्यो के भने, विगतका दशकौँ पुराना कैयौँ महŒवपूर्ण घटनालाई सिनेमाका दृश्यझैँ प्रस्तुत गर्ने अद्भुत क्षमता छ उनीमा। युवावस्थामै अध्ययन, अनुसन्धानका क्रममा सन् १९५१ मा श्रीलंका जाँदा होस् या १९५३ मा न्युजिल्यान्ड जाँदा होस्, अथवा १९६५ देखि ७० सम्म चीन रहँदा वा १९६६ मा रुस जाँदा होस्, त्यसबेला देखेका–भोगेका दैनिकी अहिले पनि विभिन्न सभा समारोहमा अक्षरसः सुनाउँछन्।

०००

अनौपचारिक समयमा उनको घरमा एक्कासि पुगेर संयोगले उनलाई भेटिएको त्यो दिन!

उनीसँग बात मार्दामार्दै हामीसामु देखिए अर्का व्यक्ति, मेरो अनुमानमा लगभग सात दशक उमेरका। मैले प्रस्टै देखेँ, उनको हातमा खाद्य सामग्री भरिएको एउटा झोला थियो। 'मेरो छोरा, हामीलाई भेट्न आएका,' सत्यमोहनले परिचय गराए। केहीक्षण अवाक् बनेँ म।

हामी बसिरहेको ठाउँछेउमै उनले ईश्वरझैँ पुजेर राखेका उनका प्रातः स्मरणीय मातापिताका प्रतिमा स्थापित थिए। पालैपालो मेरा आँखा त्यतिखेर एकै ठाउँ हजुरबादेखि नातिसम्मको त्यो तीनपुस्ते समागमको सम्मेलनमाथि दौडिए। अहा! यस्तो सम्मेलनमा भाग लिने सुअवसर जहीँतहीँ जोसुकैलाई कहाँ प्राप्त हुन्छ? यसर्थ मैले धन्यभागी मानेँ आफैँलाई, सानोतिनो भए पनि मैले त्यस्तो सम्मेलनमा सहभागिता जनाउन पाएको भान भयो मलाई, जहाँ प्रतिनिधित्व थियो– एउटा सिंगो युगको।

०००

कति सपना देखे होला, सत्यमोहनको जिन्दगीका रातहरूले? कति दिवास्वप्न देखे होला, उनका खुला आँखाले? र, कति पूरा भए होला, कति अपूरै रहेर तिनलाई बिर्सी पनि सके होलान् उनले। तर विगत केही वर्ष अघिदेखि एउटा छुट्टै किसिमको महान् चाहनाले उनको जीवनमा छटपटी चलाइराखेको छ– नोबेल प्राइज।

आफ्नो जीवनकालमै कुनै नेपालीले नोबेल प्राइज प्राप्त गरेको हेर्ने उत्कट अभिलाषा जीवित छ उनीमा। यो रहरलाई आजकल आफू सहभागी प्रत्येक समारोहमा बारम्बार दोहोर्‍याइरहेका हुन्छन् उनी। के यो रहर यथार्थमा परिणत होला? उनी सोधिरहन्छन् प्रत्येक लेखकलाई, हरेक संस्थालाई। साँच्चै, यो प्रश्नको निरूपण हुन सके कति सार्थक हुन्थ्यो होला, सत्यमोहनको जीवन।

त्यसो त कतिपयलाई थाहा छैन होला, नेपालको प्रतिष्ठित 'मदन पुरस्कार' तीनपटकसम्म प्राप्त गर्ने व्यक्तित्व हुन्, सत्यमोहन।

०००

'जिउँदो मानव सम्पदा'बाट थप विभूषणप्राप्त सत्यमोहन यो उमेरसम्म पनि आफूलाई नेपाली कला–संस्कृतिका विद्यार्थी नै मान्छन्। त्यसप्रतिको मोहलाई उजागर गर्दै उनी भन्छन्, 'अथाह छ यो विषय। यसलाई बु‰न मेरो यो जीवनले भ्याउँदैन। पुनर्जन्मको कतै प्रावधान छ भने फेरि नेपालमै जन्मन पाऊँ!'

म त भन्छु, यही जीवन 'सत्य' हो। यही जीवनमा उनको अर्को जीवनको आयु थपियोस्!

प्रकाशित: २१ श्रावण २०७४ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App