coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

यस्तो बन्दै छ रानीपोखरी

काठमाडौं- गत वर्षको भूकम्पबाट क्षतिग्रस्त रानीपोखरी पुनर्निर्माण काम तीव्र गतिमा अगाडि बढेको छ। पोखरीबीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर पुननिर्माणका लागि भत्काउने काम भइरहेको छ। त्यस्तै रानीपोखरीको पानी रित्याउने र चारैतिर बगैंचा बनाउन पर्खाल लगाउने काम भइरहेको छ। पोखरीका माछा बालाजु पार्कमा सारिसकिएको छ।
पुनर्निर्माणको ठेक्का पाएका तीनवट कम्पनी वर्ल्ड वाइड, कँडेल र केएकेजीलेले संयुक्त रुपमा जेठबाट काम थालेका हुन्। पुनर्निर्माण १५ महिनाभित्र सक्ने लक्ष्य छ। '१५ महिनामा सकाउने जिम्मा लिएका हौं। जिम्मा लिएको १ महिनामा काम धेरै नै भएको छ,' वर्ल्ड वाइड, कँडेल र केएनकेजी जोइन्ट भेन्चर कम्पनीका निर्देशक अर्जुन कँडेलले भने, 'काठमाडौं महानगरपालिकाले तिहारसम्म जसरी पनि मन्दिरको काम सकाउन भनेको छ। रानीपोखरीको सबै काम त सकिँदैन तर मन्दिरको काम भने तिहारसम्म सकाउने योजनानुसार काम गरिरहेका छौं।' रानीपोखरीको बीचमा रहेको बालगोपालेश्वर महादेव मन्दिर वर्षको दुई दिन छठ र भाइटीकाको दिन खुल्छ।
रानीपोखरी ऐतिहासिक सम्पदा र मन्दिरको संरचना पुरानै शैलीमा राखेर पुनर्निर्माण गरिने छ। रानीपोखरीलाई पूर्णरुपमा मनोरञ्जन पार्कका रुपमा विकसित गरिने छ। पार्क २४ सै घन्टा खुला गरिने छ। ऐतिहासिक सम्पदा नबिग्रिने गरी रानीपोखरीलाई पार्कका रुपमा विकसित गरिने जानकारी महानगरपालिकाको सहरी पूर्वाधार विकास महाशाखा प्रमुख उत्तरकुमार रेग्मीले बताए। 'हरियाली कायम गर्न रानीपोखरीको चारैतिर बगैंचा बनाउने, बोटविरुवा रोप्ने तथा पोखरी संरक्षणका लागि बार निर्माण गरिनेछ,' रेग्मीले भने, 'सबै कामका लागि १० करोड रुपैयाँमा टेण्डर आह्वान भएको थियो तर कम्पनी घटेर ७ करोडमा काम गर्न तयार भए।' रानीपोखरी परिसर ६० रोपनी क्षेत्रफलमा फैलिएको छ। पोखरीले मात्रे ४० रोपनी ओगटेको छ। 
पुनर्निर्माणपछि रानीपोखरीको बीचमा म्युजिकल फाउन्टेन हुनेछ। रत्नपार्कमा बोरिङ गरेर पानी निकाल्ने र साँझको समयमा म्युजिकल फाउन्टेन चलाउने योजना रहेको रेग्मीले जनाए। फाउन्टेन भने डेढ वर्षअघि काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनका बेला झन्डै साढे चार करोड रुपैयाँ लगानीमा निर्माण गरिएको छ। रानीपोखरी नयाँ स्वरुपमा आएपछि आवश्यकता अनुसार म्युजिकल फाउन्टेन परिवर्तन गरेर दिनहुँ बेलुकापख सञ्चालन गरिने छ। नयाँ स्वरुपको रानीपोखरी हेर्न दैनिक ३ हजार जना आउने अनुमान महानगरपालिकाले गरेको छ।
पुननिर्माणसँगै पोखरी पनि सफा गरेर पानी कञ्चन बनाइने छ। सयौं वर्षदेखि सफा नगरिएको यो पोखरीको हिलो हटाउनु सवैभन्दा चुनौतीपूर्ण काम हो।
 पुननिर्माणपछि मन्दिर र समग्र पोखरीको मुहार फेरिने महानगरपालिकाका प्रमुख कार्यकारी अधिकृत रुद्रसिंह तामाङ बताए। रानीपोखरी पार्क महानगरपालिका आफैंले सञ्चालन गर्ने वा निजी क्षेत्रलाई दिने भन्ने विषयमा भने  टुंगो लागेको छैन।
१६७० सालमा राजा प्रताप मल्लले पुत्रवियोगको शोकमा डुबेकी आफ्नी रानीको मन वहलाउन रानीपोखरी बनाउन लगाएको इतिहासमा पाइन्छ।
 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App