coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

पाल्पामा चार जनाको शंकास्पद मृत्यु, एक जनामा स्वाइन फ्लू भेटियो

पाल्पा- जिल्लामा स्वाइन फ्लूका शंकास्पद चार जनाको मृत्यु भएको छ। उपचारका लागि काठमाडौं रेफर गरिएकामध्ये एक जनाको स्वाइन फ्लूकै कारण मृत्यु भएको प्रमाणित भएको हो। मृत्यु भएका अन्य तीनको टेष्टको रिपोर्ट आएको छैन। स्वाइन फ्लूको शंस्कास्पद अन्यको लुम्बिनी मेडिकल कलेजमा उपचार भैरहेको छ।

माथागढी गाउँपालिका-३, कसेनीका मानबहादुर चिदीको स्वाइन फ्लूकै कारण मृत्यु भएको मेडिकल कलेजका डा. महेश शर्माले बताए। ६७ वर्षीय चिदीको बयोधा अस्पताल काठमाडौंमा उपचारका क्रममा शुक्रबार मृत्यु भएको हो। अन्य मृत्यु हुनेहरुमा रैनादेवी–१, का ७९ वर्षीय मानबहादुर कुमाल, माथागढी–३, की २८ वर्षीय चन्द्रा राना र माथागढी–४, की ६७ वर्षीय वसन्तीकुमारी कुँवर छन्।

मृत्यु भएका उनीहरुमा पनि स्वाइन फ्लूका बिरामीमा जस्तै लक्षण देखिएको डा. शर्माले बताए। उनी भन्छन्, 'उपचारका लागि आएकामध्ये दुई जनालाई भेन्टिलेटरमा राखेर उपचार भैरहेको छ। लक्षण देखिएका १०/१५ जना मेडिकल कलेजमा बिरामी उपचारका लागि आएका छन्।'

 तानसेन नगरपालिका मदनपोखराकी निरमा सारुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।

मानबहादुर चिदीको नमूना परीक्षण गर्न पठाउँदा स्वाइन फ्लू देखिएको प्रमाणित भएको हो, अन्यको रगत परीक्षणका लागि पठाइएको बताईएको छ। जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. उमाशंकर प्रसाद चौधरीले नमूना परीक्षणका लागि स्याङ्जा रहेको टोली पाल्पा आउँदै गरेको बताए। 'परीक्षणका लागि स्वास्थ्य विशेषज्ञ टोली आउँदैछ। उनीहरुले नमूना संकलन गरेर काठमाडौं लैजान्छन्,' उनले भने।

उनले भ्याक्सिन, मास्क, थेमिफेन लगायतका मेडिकल सामाग्री जिल्लामा ल्याउँदै गरेको बताए। उनले सबै जिल्लाका स्वास्थ्यकर्मीहरुलाई सचेत रहन र विदामा नबस्न अनुरोध गरिएको बताए।

पाणिनी अर्धाखाँचीकी १६ वर्षीय सविना भुषाल र मित्याल पाल्पाकी खेमकुमारी सुनारीको भेन्टिलेटरमा उपचार भैरहेको हो। भेन्टिलेटरमा उपचार गराइरहेका दुई जनामा पनि स्वाइन फ्लु रहेको आशंका गरिएको छ। अर्धाखाँचीबाट मेडिकल कलेजमा उपचारका लागि आएका सविनाका बुबा श्रीनाथ भुषाले एक हप्तादेखी ज्वरो आउने, रुघाखोकी लाग्ने गरेका कारण छोरीको उपचारमा आएको बताए। उनले तीन दिनदेखी आइसीयुमा छोरीको उपचारमा रहेको बताए।

युनाइटेड मिशन अस्पतालकी निर्देशक डा. रचेल कारखले मिशनमा समेत शंकास्पद दुई विरामी उपचारमा रहेको बताइन्। उनले सबै स्वास्थ्यकर्मीहरु संकास्पद बिरामी आउनासाथ छुट्टै राखेर उपचार गर्ने गरिएको बताइन्। प्रमुख जिल्ला अधिकारी बाबुराम गौतमले जिल्लामा रहेका सबै स्वास्थ्यकर्मी तथा सर्वसाधारणलाई सचेत रहन आग्रह गरे। उनी भन्छन्, 'अहिलेको मौसम नै मानिसहरुलाई रुघाखोकी लाग्ने र सामान्य बिरामी हुने खालको भएकोले सतर्कता अपनाउँ। एक व्यक्तिबाट अर्को व्यक्तिमा सहजै सर्ने भएकाले सकेसम्म भिडभाडमा नजाने सफासुग्घर भएर बस्न आग्रह गर्छौं।'

प्रकाशित: २१ श्रावण २०७४ ०५:१२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App