coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आयल निगमका निर्देशक खड्काद्वारा नागरिककर्मी पौडेललाई धम्की

काठमाडौं – नेपाल आयल निगमको जग्गा खरिदमा करोडौं अनियमितताको आरोप लागेका निगमका कार्यकारी निर्देशक गोपाल खड्काले नागरिक दैनिकका संवाददाता दिलीप पौडेललाई धम्की दिएका छन् । संसदको सार्वजनिक लेखा समितिले निगमको जग्गा खरिदमा अनियमितता भएकोले कारवाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गर्ने निर्णय सार्वजनिक भए पछि खड्काले आफ्नो करिअर सिध्याइदिएको भन्दै धम्की दिएका हुन्।

रिपोर्टिङका लागि आपूर्ति मन्त्रालय पुगेका नागरिककर्मी पौडेललाई आपूर्ति मन्त्रालयमा ‘तपाईको पनि परिवार छन्, बिचार गर्नुहोस’ भन्दै धम्की दिएका थिए । त्यसपछि खड्कासँग कुरा गर्न खोज्दा ‘म सँग कुरा नगर्नु भित्तालाई सुनाउनुहोस’ भन्दै आपूर्ति मन्त्री शिव कुमार मण्डलको कार्यकक्षमा प्रवेश गरेका थिए । मण्डलको कार्यकक्षबाट आपूर्ति सचिव प्रेमकुमार राईको कक्षमा पुगेका खड्काले फेरि पौडेलसँग भेट भएपछि मेरो करिअर सिध्याउने? भनेका थिए ।

नागरिककर्मी पौडेलले गत साउन २ गते ‘डेढ अर्बको जग्गा किन्दा ६७ करोड घोटाला’ शीर्षकको समाचार मार्फत अनियमिता सार्वजनिक गरेका थिए । सो समाचार प्रकाशित भए पछि संसदको अर्थ समिति, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समिति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन सुरु गरेका थिए । 

लेखा समितिले शुक्रबार खड्कामाथि कारवाही अघि बढाउन अख्तियार पठाउने निर्णय गरेको थियो । उक्त निर्णयपछि नागरिककर्मी आपूर्ति मन्त्री मण्डलको प्रतिक्रिया लिन मन्त्रालय पुग्दा कार्यकारी निर्देशक खड्कासँग भेट भएको थियो। त्यही मौकामा उनले धम्क्याएका हुन् ।

यसैबीच नेपाल पत्रकार महासंघ रिपब्लिका शाखाले नागरिकर्मी दिलीप पौडेलमाथि भएको धम्कीप्रति आपत्ति प्रकट गरेको छ । महासंघ रिपब्लिका  शाखाका अध्यक्ष अशोक दाहालले एक विज्ञप्ती जारी गर्दै पत्रकारको अभिव्यक्ति स्वतन्त्रता र व्यक्तिगत सुरक्षाको पहल गरिदिन सरकार, पत्रकार महासंघ, राष्ट्रिय मानव अधिकारसँग माग गरेको छ ।

प्रकाशित: २० श्रावण २०७४ ११:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App