६ वैशाख २०८१ बिहीबार
राजनीति

लामाबगर नाका खुलाउन सांसदको माग

दोलखाको लामावगर गाउँ स्थित तामाकोशी नदी पारीबाट खनिएको तिव्बतको फलाक नाका जोड्ने सडक । तस्बिर : रमेश खतिवडा

दोलखा – चीनसँगको सिमानाबाट राजधानी काठमाडौँ जोड्ने मध्ये सबै भन्दा सुरक्षित भनिएकोे दोलखाको लामाबगर नाकालाई विशेष प्राथामिकतामा राखेर खुलाउन दोलखाका जनप्रतिनिधिहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

चीन सरकारको विशेष टोलीका रुपमा साउन अन्तिम साता हुन लागेको चीनका उपप्रधानमन्त्री स्तरीय भ्रमणका बेला लामाबगर नाकालाई सरकारको तर्फबाट एजेण्डा बनाउन दोलखाका सांसदहरुले माग गरे । 

बिहीबार उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा समक्ष ज्ञापनपत्र बुझाउँदै दोलखाका सांसदत्रय पशुपति चौलागाईं, आनन्द पोखरेल र पार्वत गुरुङले चीनको सीमा जोड्ने मध्येको भौगोलिक रुपले सुरक्षित मानिएको लामाबगर नाका खुलाउने विषय यस पटक चिनिया टोली समक्ष सरकारी एजेण्डा बनाउन आग्रह गरे । 

‘तिब्बतको सिगात्से शहरबाट तातोपानी र केरुङ पुग्नु भन्दा लामाबगर पुग्न ८० किलोमिटर भन्दा कम दुरी पर्छ’ दोलखा २ का एमाले सांसद पोखरेलले भने – ‘त्यसैले तातोपानी र केरुङबाट काठमाडौँ पुग्नु र लामाबगरबाट काठमाडौँ पुग्नु उस्तै उस्तै दुरी पर्न आउने हुनाले यो नाकालाई प्राथमिकतामा राखेर चिनिया टोली समक्ष एजेण्डा बनाउन आग्रह गरेका हौ’ । 

सडक विभागका अधिकारीहरूले तिब्बती सीमाबाट भारत जोड्न समेत यो नाका उस्तै छोटो दूरी छ । लामाबगरबाट महोत्तरी स्थित भारतको भिठामोड नाका पुग्न २ सय २० किलोमिटर दुरी पार गरे पुग्छ । सरकारका अधिकारीहरूले तातोपानी र केरुङ नाकाको भु–बनोट असुरक्षित रहेको बताउँदै आएका छन् । 

पूर्वमन्त्री समेत रहेका सांसद पोखरेलले दुवै देशका भुगर्वविदको अध्ययन अनुसार केरुङ र तातोपानीको तुलनामा लामाबगरको भौगोलिक वनावट सुरक्षित छ । ‘तातोपानीको नेपालतर्फ र तिब्बत तर्फका दुवै भूभाग खतरामा रहेको हालैका बाढी पहिरो र भूकम्प पछिका घटनाहरुले देखाएको छ’ उनले भने – ‘सगैं त्यस क्षेत्रमा भूगर्वविदहरूले गरेको अध्ययनलाई आधार मान्दा चीनसंग हाम्रो देशको राजधानीलाई जोड्ने सुरक्षित नाका लामाबगरलाई बनाउन जरुरी छ’ । 

यस्तै रसुवाको केरुङ नाकाको नेपाल तर्फको भूभाग समेत पहिरोको चपेटामा परिरहने सडक विभागका अधिकारीहरुले बताउँदै आएका छन् । 

जिल्लाका सांसदहरूले परराष्ट्रमन्त्री महारालाई लामाबगर नाका खुले त्यस यता राजधानी काठमाडाँै र भारत जोड्ने सडक तयार भइसकेका कारण लामाबगर उपत्यका देखि तिब्बतको फलाक सम्म तत्काल सडक जोड्ने वातावरण बनाउन आग्रह गरे । ‘चीन सरकार लामाबगरसहित हाम्रो देशका सबै तिब्बती नाकाहरू खुलाउन सहयोग गर्न तयार छ’ पूर्व मन्त्री पोखरेलले भने – ‘तर हाम्रो देशको सरकार र राजनितिक नेतृत्वको इच्छाशक्ती नभएका कारण सधैँभरी यस्ता नाकाहरु खुलाउने मुद्धा ओझेलमै पर्ने गर्छ’ । 

सडक विभागका अधिकारीहरूका अनुसार दोलखाको सदरमुकाम चरिकोटबाट सिंगटी हुँदै लामाबगर उपत्यकासम्म माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले ६८ किलोमिटर फराकिलो सडक बनाइसकेको छ । लामाबगरबाट तिब्बतको फलाक पुग्न २१ किलोमिटर सडक खन्नुपर्छ । 

माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल नजिक भिर फोरेर ९ सय मिटर सुरुङ खनेपछि त्यस उता सडक बनाउन सजिलो हुने अधिकारीहरुले बताँउदै आएका छन् । 

लामाबगरबाट दोलखा सदरमुकाम चरिकोटदेखि पुष्पलाल मार्ग हुँदै रामेछाप सदरमुकाम मन्थली निस्केर सिन्धुलीको खुर्कोटमा पुगेपछि बिपी राजमार्ग भेटिने व्यवस्थित सडक निर्माण भइसकेको छ । विपी राजमार्गबाट बर्दिबास हुदै जलेश्वरबाट भारतको भिठामोड जोड्न सहज हुने विभागले बताउँदै आएको छ । काठमाडौँ उपत्कालाई चीनसँग जोडिरहनका लागि यो नाका खुलाउन आवश्यक रहेको जिल्लाबासीले बताउँदै आएका छन् । 

सडक विभागले यो नाका खुलाउन दोलखाको चरिकोट स्थित डिभिजन कार्यालय मार्फत वर्षेनी रकम पठाउँदै आएपनि ठेकेदारको ढिलासुस्ती र अफ्ठेरो भूगोलका कारण वर्षेनी रकम फ्रिज हुँदै आएको छ । लामाबगर गाउँको तामाकोशी पारी खण्डबाट थोरै सडक खनिएपनि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँधस्थल पारी रहेको भिरमा सुरुङ खन्नुपर्ने सरकारी अध्ययनका कारण त्यस उताको भागमा विभागले लगाएको ठेक्काको कामले गति लिन सकेको छैन् । 

 

प्रकाशित: २० श्रावण २०७४ ०७:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App