८ वैशाख २०८१ शनिबार
समाज

विदेशमा ज्यान गुमाएका परिवारलाई ३ करोड

खोटाङ– वैदेशिक रोजगारीका सिलसिलामा ज्यान गुमाएका खोटाङका ३९ मृतक परिवारले ३ करोडभन्दा बढी राहत तथा क्षतिपुर्ती प्राप्त गरेका छन् । सन् २०११ देखि हालसम्म रोजगारीका सिलसिलामा विदेश पुगेका बेलामा विभिन्न कारणले ज्यान गुमाएका मृतकका परिवारले वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड तथा बीमा कम्पनीबाट राहत तथा क्षतीपुर्तीस्वरुप ३ करोड १९ लाख ६९ हजार रुपैयाँ पाएका हुन्। 

वैदेशिक रोजगारलाई सुरक्षित, उपलब्धीमुलक र भरपर्दो बनाउने क्षेत्रमा काम गर्दै आएको सुरक्षित आप्रवासन परियोजना (सामी)को सहजीकरणमा मृतक परिवारले राहत तथा क्षतीपुर्ती प्राप्त गरेका हुन् । राहत पाउनेमा सडक दुर्घटना, काम गरिरहेको स्थलमा भएको दुर्घटना, सुतेकै ठाउँमा ज्यान गुमाएका, बिरामी परेर विदेशमा ज्यान गुमाएका परिवार छन् । राहत तथा क्षतीपुर्तीका लागि दावी गर्नेक्रममा आवश्यक कागजात तयार पार्न, निशुल्क कानूनी सहयोग, दुतावास, वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड लगायतसँग समन्वय गर्न सामीको सहयोग प्राप्त भएपछि वैदेसिक रोजगार सम्बन्धी समस्यामा परेका पीडितले राहत तथा क्षतीपुर्ती प्राप्त गरेका हुन्। 

यस ६ वर्षको अवधिमा जिल्लाका ६६ वटा ठगीका मुद्दामा एजेण्ट तथा मेनपावरबाट पीडितलाई क्षतीपुर्ती स्वरुप ३९ लाख ५३ हजार ५ सय रुपैयाँ दिलाइएको छ । मेडिकल फेल सम्बन्धीका मुद्दामा २ लाख ९२ हजार क्षतीपुर्ती दिलाइएको सामीका खोटाङ संयोजक भक्त राईले बताए । ठगीमा परेका र मेडिकल सम्बन्धी समस्यामा परेका पीडितले सामीको सहजीकरण र निशुल्क कानूनी सहायतामा क्षतीपुर्ती प्राप्त गरेका हुन् । यसबीचमा मलेसिया लगायतका खाडी मुलुकमा अलपत्र परेका ८१ जनाको उद्धारमा सहयोग गरिएको, मेनपावर र एजेण्टले होल्ड गरेको २४ वटा पासपोर्ट फिर्ताका लागि कानूनी सहयोग गरिएको संयोजक राईले बताए । यस अवधिमा वैदेशिक रोजगारका कारण मनोसामाजिक समस्यामा परेका २८४ जनालाई व्यक्तिगत मनोसामाजिक परामर्श प्रदान, ८४५ जनालाई सामूहिक परामर्श प्रदान, ३० वटा समूहका ६१७ जनालाई सहभागी गराएर वित्तीय साक्षरता कक्षा सञ्चालन, २४ हजार ४४१ जनालाई वैदेशिक रोजगारका विषयमा सूचना तथा परामर्श प्रदान, विदेश जाने निश्चित गरेका ९५१ जनालाई सिप तथा तालिम दिइएको सामीले जनाएको छ। 

वित्तीय साक्षरता कक्षाका कारण वैदेशिक रोजगारीमा गएका कामदारका परिवारले बचत गर्ने, आम्दानी र खर्चको हिसाव–किताव राख्ने, वार्षिक बजेटको योजना बनाउने, बैंकमा बचत खाता खोल्ने, इन्सुरेन्स गराउने, व्यवसाय गर्नेक्रम बढ्दै गएको पाइएको छ । कतिपय ठाउँमा परिवारका सदस्य विदेशमा रहेका परिवारले सहकारी समेत खोलीसकेका छन् । ‘खर्च र बचत गर्ने ज्ञान नहुँदा विदेशबाट हात परेको पैसालाई अनावश्यक ठाउँमा खर्च गरेर सिध्याउने गरेको पाइन्छ,’ संयोजक राईले भने, ‘तर, वित्तीय साक्षरता कक्षा चलाइएका ठाउँमा व्यक्तिगत वचत बाहेक सहकारी समेत सञ्चालनमा ल्याइएका छन्।’ 

आर्थिक वर्ष २०७३/०७४ मा मात्र ठगीमा परेका ४ पीडितलाई २ लाख २५ हजार प्राप्त भएको, ८ मृतक परिवारले ८३ हजार ८७ हजार प्राप्त गरेको परियोजनाले जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०७४ ११:०५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App