coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

एजेण्डा व्यवस्थित बसोबास

बुटवल उपमहानगरपालिकाको मेयर चुनिएको साता भयो । एक हप्ता बितिसक्दा पनि मेयर शिवराज सुवेदीलाई बधाई थाप्न भ्याइनभ्याइ छ । दिनहुँ आधा दर्जन जति कार्यक्रममा कुदिरहेका छन् । विभिन्न संघसंस्थाले आयोजना गरेका बधाई कार्यक्रममा उनलाई समय तालिका मिलाउन हम्मे परेको छ, यसले उपमहानगरको आन्तरिक काममा ध्यान दिन पाएका छैनन् ।

आर्थिक वर्ष सकिन लागेको छ, कामको चाप छ । उपमहानगरको नेतृत्व लिइसकेपछि अहिले भइरहेका कामका बारेमा उपमहानगरबासीको चासो र गुनासो छ । ‘एकातिर उपमहानगरबासीको चासो र गुनासो सम्बोधन गर्नुछ, निर्वाचित भएपछि बधाई खान्नँ भन्न पनि भएन,’ व्यस्त समयका बीच कुरा गर्न तयार भएका सुवेदीले भने ।

मोबाइल एप्स  सार्वजनिक

असार २२ गते, सुवेदीले सपथ लिँदै पदभार ग्रहण गरे । पदभार ग्रहण गर्दै  उनले  बुटवल उपमहानगरबासीलाई सूचनाको पहुँचमा पु¥याउन मोबाइल एप्स सार्वजनिक गरे ।  
 बुटवललाई लैंगिकअनुकूल सहरका रुपमा विकास गर्ने अवधारणाअनुरुप ‘लैंगिक हिंसामुक्त नगर’ घोषणा गर्न उपप्रमुख गुमादेवी आचार्यको संयोजक र महिला अधिकारकर्मी समेत रहने गरी कार्यदल गठनको निर्णय नगर प्रमुखको अर्को निर्णय हो । त्यसैगरी बुटवल उपमहानगरको ठेगाना प्रणालीलाई एक वर्षभित्र व्यवस्थित गर्ने गरी म्याट्रिक्स सिस्टममा आधारित घर नम्बर  प्रणाली लागू गर्ने निर्णय पनि  नगर प्रमुखले गरेका छन् ।
पदभार ग्रहण गरी  उपमहानगरको काम थाल्दै गरेका र बधाई थाप्ने चटारोमा लागेका सुवेदीका अघि चुनौतीका चाङ छन् । ‘दुई दसकपछि स्थानीय तहको चुनाव भयो । डेढ दशकपछि स्थानीय तहमा जनप्रतिनिधि पाएका नागरिकले धेरै अपेक्षा गरेका छन्, ती अपेक्षा पूरा गर्न निर्वाचितहरु धेरै खट्नुपर्ने देखिन्छ,’ बुटवल बहुमुखी क्याम्पस राजनीतिशास्त्रका सहप्राध्यापक डा. माधव पन्थीले भने ।
सहप्राध्यापक डा. पन्थीले भनेझैँ नागरिकका अपेक्षा पूरा गर्न धेरै खट्ने योजना बनाएका छन् सुवेदीले । उनी कामको थालनी गर्दैगर्दा दुई ढंगले सोचेका छन् । एक तत्काल प्रभाव पार्ने र अर्को दीर्घकालमा प्रभाव पार्ने । तत्काल प्रभाव पार्ने र दीर्घकालमा प्रभाव पार्ने काम छुट्टयाएर उनले कार्ययोजना बनाएर काम अघि बढाउँदै छन् ।
गर्नुपर्ने कामको चाङ ठूलै भए पनि सुवेदीले मुख्यतः तीन वटा सूची अघि सारेका छन् । सुवेदीका तीन प्राथमिकता अनुसार, पहिलो अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्ने, दोस्रो उपमहानगरको गुरुयोजना बनाएर काम गर्ने र तेस्रो खानेपानी समस्या समाधान गर्ने रहेका छन् ।
कांग्रेस—माओवादी  गठबन्धनलाई पराजित गर्दै मेयर
कांग्रेस—माओवादी केन्द्र गठबन्धनका उम्मेदवार खेलराज पाण्डेलाई पराजित गर्दै बुटवल  उपमहानगरपालिकाको मेयरमा एमालेका शिवराज सुवेदी निर्वाचित भएका हुन् ।

सुवेदीले २३ हजार २ सय ४९ मत ल्याएर पाण्डेलाई पराजित गरे । पाण्डेले २० हजार ८ सय ५१ मत ल्याएका थिए । त्यसैगरी उपमेयरमा  एमालेकै गोमादेवी आचार्य विजयी भइन् । उनले २५ हजार ३ सय १ मत पाइन् भने उनका निकटतम प्रतिस्पर्धी जगत पोखरेलले १४ हजार ७ सय ९२ मत पाए । एमाले ‘किल्ला’को रुपमा मानिएको बुटवलमा चुनाव जित्नका लागि कांग्रेस माओवादीले मेयर र उपमेयरमा तालमेल गरेका थिए । एमाले एक्लै चुनावी मैदानमा भिडेको थियो । कांग्रेसले मेयर र उपमेयरमा माओवादी केन्द्रले उम्मेदवारी दिए पनि वडा तहमा भने गठबन्धन हुन सकेको थिएन । कांग्रेसले वडा नम्वर १३, १८ र १९ गरी तीन वडा जितेको छ भने एमालेले १६ वटा वडामा जीत हात पारेको छ । सुवेदीलाई कांग्रेस– माओवादी गठबन्धनलाई पराजित गर्न जति मिहिनेत गरे, मेयरका रुपमा सफल कार्यकाल बनाउन अझ धेरै मिहिनेत गर्नुपर्ने देखिएको छ ।

संघर्षले दिलाएको  अवसर

वि.सं. २०२० सालमा कास्कीको हंशपुरमा जन्मेका सुवेदी विद्यार्थी जीवनदेखि नै राजनीतिमा होमिएका हुन् । तीसको दशकको मध्यतिर कास्कीबाट नवलपरासी बसाइँ सरेपछि स्कुल उनले यतै पढे । स्कुल पढ्दै ताका उनी सुकुम्बासी आन्दोलन र विद्यार्थी आन्दोलनमा सहभागी हुँदै गए । वि.सं. २०३८ सालमा क्याम्पस पढ्न पोखरा पुगेका उनी अनेरास्ववियुको कास्की जिल्ला कोषाध्यक्षको जिम्मेवारी लिए । वि.सं. २०४१ सालमा नवलपरासी फर्केपछि केही वर्ष छत्तिसा निमावि र हरिहर प्राविमा शिक्षकको रुपमा काम गरे । त्यतातिर पनि उनको लगाव जमेन । तत्कालीन मालेको मजदुर फाँटमा काम गर्दै राजनीतिक कर्मलाई अघि बढाए । एमालेको मजदुर फाँटमा काम गर्दै जाँदा रुपन्देही उनको कर्मथलो भयो ।
एमाले पार्टीमा कुशल संगठकको छवि बनाएका सुवेदी यसअघि वि.सं. २०५४ सालको स्थानीय चुनावका बेला एमालेको बुटवल नगर इञ्चार्ज थिए । त्यसबेला चुनावी कमान्डर भएर पार्टीका उम्मेदवारलाई जिताउन लागेका सुवेदी अहिले आफैँ मैदानमा उत्रे । वि.सं. २०५४ सालमा बुटवल नगरपालिकाको वडा नम्वर ९ को सदस्यमा निर्वाचित उनी जिल्ला विकास समितिको सदस्यमा चुनिएर काम गरेको अनुभव छ । दुई दसकदेखि एमाले रुपन्देहीको जिल्ला कमिटीमा रहेर काम गरेका उनी अहिले पार्टीको जिल्ला अध्यक्ष हुन् । गत कात्तिकमा भएको आठौँ अधिवेसनबाट अध्यक्षमा चुनिनु नै अहिले सुवेदीका लागि मेयरको ढोका खुलेको हो । पार्टीभित्र उम्मेदवारका अरु आकांक्षी सुवेदीभन्दा कनिष्ठ भन्दै एमाले स्थायी कमिटीले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
वि.सं. २०४६ सालको आन्दोलन र २०६२/०६३ सालको जनआन्दोलनमा सक्रिय भूमिका निभाएका सुवेदी २०६२ सालको जनआन्दोलनका घाइतेसमेत हुन् ।

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १९ श्रावण २०७४ ०५:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App