coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

नयाँ बस्तीमा सर्दै गम्भीर अपराध

काठमाडौं- उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नयाँ बस्ती विकास भएको क्षेत्रमा गम्भीर प्रकृतिका आपराधिक घटना बढेका छन्। प्रहरीको संख्या कम रहेको र सुनसान क्षेत्र बढी भएकाले नयाँ बस्ती विकास भएका क्षेत्रमा आपराधिक घटना बढेको देखिएको हो।

महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा २०७३/०७४ मा उपत्यकामा भएका ५ हजार ९ सय २४ आपराधिक घटनामध्ये नयाँ बस्ती रहेका क्षेत्रमा २ हजार १ सय ५७ आपराधिक घटना भएका छन्। कुल अपराध संख्याका आधारमा यो ३६ प्रतिशत हो।

महानगरीय प्रहरी कार्यालयले उपत्यकाका पुराना सहरी क्षेत्र, नयाँ सहरी क्षेत्र र सहरोन्मुख क्षेत्रका आधारमा आपराधिक घटनाको विश्लेषण गरेको थियो। महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बमबहादुर भण्डारीका अनुसार नयाँ सहरी क्षेत्रमा हत्या, आत्महत्या, बलात्कार र लागुऔषधजस्ता गम्भीर प्रकृतिका आपराधिक घटना अन्य क्षेत्रको तुलनामा बढी छ।

यो वर्ष उपत्यकामा ५६ हत्या भए जसमा ५० वटाको अनुसन्धान सफल भएको छ। एक घटनाका आरोपीको पहिचान भए पनि पक्राउ परेका छैनन् भने ५ वटा घटनाको रहस्य खुलेको छैन। उपत्यकामा १ सय ५६ बलात्कारका घटना भएका थिए भने लागुऔषधसम्बन्धी ३ सय घटना प्रहरीसम्म आइपुगेको थियो।

'जनघनत्व र कामकाजी व्यक्तिको संख्या बढ्दै जाँदा आपराधिक गतिविधिमा संलग्नहरू भित्री सहरी क्षेत्रभन्दा नयाँ सहरी क्षेत्रमा सक्रिय देखिए,' भण्डारीले भने, 'नयाँ बस्तीमा प्रहरी परिचालनसमेत केही पातलो छ। अहिले हामी प्रहरीको संख्या बढाउने गृहकार्यमा छौं।'

उपत्यकाको सहरोन्मुख ग्रामीण क्षेत्रमा ८ सय २२ वटा आपराधिक घटना भए। ग्रामीण क्षेत्रमा सामाजिक अपराधको संख्या बढी छ। चोरी, आत्महत्याको संख्या बढ्दो क्रममा देखिएको छ।

आर्थिक र साइबर क्राइम चुनौती

डिआइजी भण्डारीका अनुसार आर्थिक र साइबर क्राइम अबका चुनौती हुन्। राष्ट्रिय सुरक्षामा प्रभाव पार्ने गरी आर्थिक र साइबर अपराध बढेका छन्। बैकिङ, रकम असुलि, ठगीलगायतका अपराधले संगठित आकार लिँदै गएकाले त्यसको नियन्त्रणका लागि सोहीअनुसारको रणनीति बनाउन कार्यालय सक्रिय रहेको उनले बताए।

'दक्षिण एसियामा जबर्जस्ती रकम असुलिका घटनाले संगठित आकार लिइरहेका छन्। त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ,' भण्डारीले भने, 'विद्युतीय अपराधको संख्या र प्रवृत्तिसमेत बढ्दो क्रममा छ।

संगठित अपराध घट्यो

०७२–०७३ मा उपत्यकका तीन जिल्लामा ६ हजार २ सय ४४ वटा आपराधिक घटना प्रहरी कार्यालयमा दर्ता भएका थिए। ०७३–०७४ मा यो संख्या घटेर ५ हजार ९ सय २४ पुग्यो। प्रतिशतमा हेर्दा यो ५ दशमलव १२ हुन्छ।

तीन जिल्लामध्ये तीन तिहाइ आपराधिक घटना काठमाडौंका छन्। कुल आपराधिक घटनामध्ये काठमाडौंमा ७७ दशमलव ५, ललितपुरमा १५ र भक्तपुरमा ८ प्रतिशत भएको देखिन्छ।

महानगरीय प्रहरी कार्यालयको तथ्यांकअनुसार उपत्यकामा संगठित र सामाजिक अपराध घटेको छ। हत्या, हत्या प्रयास, जबर्जस्ती करणी, मानव बेचबिखन, भवितव्य ज्यानको संख्या बढेको छ।

उपत्यकामा भएका घटनामध्ये सबैभन्दा धेरै चोरी, लागुऔषध र सवारीज्यानको संख्या बढी छ। ०७३/०७३ मा भएका आपराधिक घटनामध्ये ५ सय २९ चोरी, ३ सय लागुऔषध र १ सय ७६ सवारीज्यानसम्बन्धी  छ।

भदौं र चैतमा बढी अपराध

महानगरीय प्रहरी कार्यालयले सार्वजनिक गरेको आपराधिक तथ्यांकअनुसार भदौ र चैतमा सबैभन्दा धेरै आपराधिक घटना हुने गरेको छ। भने असोज र वैशाखमा त्यस्ता घटना सबैभन्दा कम हुने गरेको छ।

असोजमा दसैलगायतका चाडपर्व र वैशाखमा नयाँ वर्षका कारणले प्रहरी सक्रियता बढ्ने हुँदा यी महिनामा आपराधिक घटना कम हुने गरेको भण्डारीले जानकारी दिए।

भदौं चाड पर्वको प्रारम्भ हुने महिना भएकाले चोरी, डकैतीमा संलग्न समूह सक्रिय हुँदा अपराधको संख्या बढी हुने प्रहरी विश्लेशषण छ।

बारका आधारमा शुक्रबार र शनिबार सबैभन्दा धेरै आपराधिक घटना हुने गरेको प्रहरी तथ्यांकमा देखिन्छ। कुल अपराधमध्ये यी दुई बार १३–१३ प्रतिशत अपराध हुने गरेका छन्। समयका आधारमा बेलुकाको समयमा धेरै आपराधिक घटना हुने गरेको देखिए पनि चोरीका घटना भने दिउँसै हुने गरेका छन्।

२६ वर्षदेखि ३५ उमेर समूहका व्यक्ति अपराधमा धेरै संलग्न देखिएका छन्। पक्राउ परेका ६५ प्रतिशत बेरोजगार र मजदुरीमा संलग्न देखिएका छन्। आपराधिक अभियोगमा पक्राउ परेकामध्ये ९६ प्रतिशत पुरुष छन्। महिलाको संख्या ४ प्रतिशतमात्रै छ।

प्रकाशित: १९ श्रावण २०७४ ०३:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App