coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ठूला दलका नेता मधेसमा, मधेसी दलका नेता राजधानीमै

जनकपुर- तेस्रो चरणको स्थानीय तह निर्वाचनलाई लक्षित गरी प्रमुख दलहरूले जनकपुरलाई केन्द्र बनाएर दुई नम्बर प्रदेशको चुनावी प्रचारप्रसारलाई तीव्रता दिएका छन्। बुधबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, विमलेन्द्र निधि, कृष्णप्रसाद सिटौला, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव र कृषि मन्त्री रामकृष्ण यादव जनकपुर आएर प्रचारप्रसार अगाडि बढाएका छन्। बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेता प्रकाशमान सिंहलगायत नेताहरू जनकपुर आउने कार्यक्रम छ।

प्रदेशस्तरीय अगुवा कार्यकर्ता भेलाको सम्बोधन गर्न देउवा यहाँ आउन लागेका हुन्। अगामी असोज २ गते हुने स्थानीय तह निर्वाचनमा पार्टीको सक्रियता बढाउन उक्त भेला आयोजना गर्न लागिएको कांग्रेसका धनुषा सचिव सन्तोष यादवले जनाए। उनका अनुसार भेलामा दुई नम्बर प्रदेशका आठ जिल्लाबाट प्रतिनिधित्व गर्ने सांसद, केन्द्रीय नेता, जिल्ला सभापति, पूर्वसांसद, क्षेत्रीय सभापति, जिल्ला पदाधिकारी तथा भ्रातृ संगठनका अध्यक्ष गरी करिब डेढ हजारको सहभागिता रहनेछ।

यसअघि नेता निधि, चुनावी प्रचारप्रसार उपसमितिका संयोजक रमेश लेखक र खानेपानी तथा सरसफाइ मन्त्री महेन्द्र यादव, प्रेस युनियनका अध्यक्ष तथा पदाधिकारी जनकपुर आएर चुनावको प्रचारप्रसार सुरु गरेका थिए।

त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेताहरू नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, गिरिराजमणि पोखरेल, प्रभु साह, उर्मिला अर्याल, विश्वनाथ साहलगायत नेताहरूले जनकपुरमा दुई दिन बसेर चुनावलाई लक्षित गरी अगुवा कार्यकर्तालाई प्रशिक्षण दिएका छन्।

राप्रपा र एकीकृत राप्रपा (राष्ट्रवादी) ले बुधबारै जिल्लास्तरीय कार्यकर्ता भेला गरेका छन्। दुवै पार्टीका अध्यक्षलगायत शीर्ष नेताहरूले पत्रकार सम्मेलन गरी पार्टीको चुनावी उपस्थिति जनाएका छन्।

यता एक साता अगावै केन्द्रीय स्तरको सचिवालय गठन गरी प्रदेश केन्द्रित चुनावी कार्यक्रम थालेको एमालेले पनि यस क्षेत्रमा निरन्तर अगुवा कार्यकर्ता प्रशिक्षण तथा घरदैलो अभियान सुरु गरिरहेको छ। एमाले सचिव योगेश भट्टराईले बिहीबार जनकपुरमै पत्रकार सम्मेलन गरी औपचारिक रूपले चुनावी तयारी सुरु भएको घोषणा गर्दैछन्। एमालेले बुधबार धनुषाको लालगढमा प्रदेशस्तरीय नेताहरूको भेला गरी चुनावको तयारी अगाडि बढाउने विषयमा छलफल गरेको छ।

ठूला दलका राजधानी केन्द्रित नेताहरू मधेश झरेर चुनावी गतिविधि तीव्र बनाइरहेको बेला मधेश केन्द्रित दलका नेताको भने उपस्थिति शून्य देखिन्छ। अघिल्ला चुनावमा सहभागी भएका फोरम नेपाल र लोकतान्त्रिक फोरमका केन्द्रीय नेता पनि जनकपुरमा देखिएका छैनन् भने चुनावको विरोधमै अडिग रहेको राजपाका जिल्ला नेताहरूको पनि चहलपहल देखिँदैन।

'कम्तीमा चुनावको विरोध किन गरिरहेको भनेर पनि जनतालाई बुझाए हुन्थ्यो नि,' राजपा नेपालका एक जिल्ला नेताले नागरिकसँग भने, 'हिजोसम्म मधेसमा प्रवेशमै रोक लगाइएका दलका केन्द्रीय नेताहरू मधेसका जिल्लामा घुमिरहेको बेला हाम्रा नेता काठमाडौंमा के गरिरहेका छन्, बु‰नै सकिएन।'

राजपा उपाध्यक्ष वृषेशचन्द्र लालले आफूहरू चुनावकै विषयमा पार्टीको साझा धारणा बनाउन छलफलमा केन्द्रित रहेको बताए। 'आजबाट पदाधिकारी बैठक सुरु भएको छ। अगामी २२ गतेदेखि केन्द्रीय कमिटी बैठक बस्नेछ,' उनले भने। बैठकमा चुनावकै विषयमा छलफल भइरहेको उनले बताए। तर, संविधान संशोधन नभएसम्म राजपा सकभर चुनावमा भाग लिन नसक्ने पुरानै अडान उनले सुनाए।  

प्रकाशित: १९ श्रावण २०७४ ०३:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App