८ वैशाख २०८१ शनिबार
राजनीति

चुनाव सहभागी हुन राजदूतको सुझाव

काठमाडौं- राष्ट्रिय जनता पार्टी नेपाल गठन भएपछि पार्टीका नेताहरू दुई महिना अवधिमा सातौंपटक भारतीय दूतावासमा पुगेका छन्। राजपा स्थानीय तहको निर्वाचनमा जाने–नजाने अन्योलमा रहेका बेला राजदूतसँग सुझाव माग्न ती दलका नेताहरू  पटकपटक दूतावासमा पुगेका हुन्। पछिल्लोपटक मंगलबार राजपाका अध्यक्ष मण्डलका सदस्यहरू  दूतावास पुगेका थिए। 

नेताहरूसँगको भेटमा भारतीय राजदूत मञ्जीवसिंह पुरीले तेस्रो चरणको स्थानीय चुनावमा सहभागी हुन राजपाका अध्यक्ष मण्डलका सदस्यहरूलाई सुझाव दिएको स्रोतले बताएको छ।

अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवबाहेक सबै सदस्य दूतावास पुगेका थिए। तर अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादवले भने आफू दूतावास नगएको दाबी गरे। 'म त्यहाँ गइन, अरू को को गए, उनीहरूलाई सोध्नुहोस्।'

दूतावासमा भएका कुराकानीबारे राजपाका सबै  नेताहरू सकेसम्म गोप्य राख्न चाहने भएकाले के कुरा भन्नेबारे कसैले पनि मुख खोल्न चाहेनन्। दूतावासमा मंगलबार बिहान राजपाका नेताहरूले करिब डेढ घन्टा  वार्ता गरेका थिए।

नेताहरू दूतावासमा पुगेको भोलिपल्टै बुधबार पार्टी कार्यालय बबरमहलमा राजपा पदाधिकारी बैठक बसेको छ।

राजपाका शीर्ष नेताहरूले भारतीय राजदूतसँग भएको भेटवार्ताबारेमा प्रतिक्रिया दिन चाहेनन्। मधेसका बुद्धिजीवी डा. राजेश अहिराजले  नेपालका शीर्ष नेताहरू पटकपटक भारतीय राजदूतावास गई छलफल गर्नुपर्ने जरुरी नभएको बताए। 'दूतावासमै गई छलफल गर्नु जरुरी थिएन। देशभित्रको समस्या देशभित्रै सुल्झाउनुपर्थ्यो,' उनले भने।

प्रकाशित: १९ श्रावण २०७४ ०२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App