८ वैशाख २०८१ शनिबार
राजनीति

पुनर्निर्माणलाई ८४ अर्बको अख्तियारी

काठमाडौं- अर्थ मन्त्रालयले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणलाई चालु आर्थिक वर्षका लागि करिब ८४ अर्ब रुपैयाँ बराबरको अख्तियारी प्रदान गरेको छ। मन्त्रालयले पुनिर्निर्माणको कामलाई तीव्र रूपमा अगाडि बढाउन प्राधिकरणलाई चालु आर्थिक वर्षमा विनियोजन गरिएको कुल १ खर्ब ४२ अर्ब रुपैयाँमध्ये पहिलो चरणमा करिब ८४ अर्ब रुपैयाँको अख्तियारी दिएको हो। आर्थिक वर्षको सुरुमै कुल बजेटको करिब ६० प्रतिशत रकमको अख्तियारी पाएपछि प्राधिकरणले पुनर्निर्माणको काम छिटो अगाडि बढ्ने जनाएको छ।

प्राधिकरणका अनुसार अर्थ मन्त्रालयबाट आएको अख्तियारी रकममध्ये १२ अर्ब २८ करोड ९६ लाख २८ हजार रुपैयाँ नेपाल सरकारको स्रोतबाट व्यहोरिनेछ। वैदेशिक सहायतातर्फको नगद अनुदानमा जाइकाबाट १ अर्ब ८३ करोड ३५ लाख रुपैयाँ, युरोपियन युनियनबाट ११ अर्ब रुपैयाँ, चीनबाट ५० करोड रुपैयाँ, पुनर्निर्माण संयुक्त कोषबाट १ अर्ब ५० करोड रुपैयाँ र भारतबाट १२ अर्ब ५० करोड रुपैयाँ रहेको छ।

यसैगरी, जर्मनी केएफडब्लुबाट ३ अर्ब रुपैयाँ, कोरियाबाट ८५ करोड रुपैयाँ, एसियाली विकास बैंकबाट ९८ करोड रुपैयाँ अनुदान रकम पनि रहेको प्राधिकरणका प्रवक्ता रामप्रसाद थपलियाले बताए। उनका अनुसार उक्त रकममा ऋणतर्फ एसियाली विकास बैंकबाट ९ अर्ब ५५ करोड ५२ लाख ७६ हजार, आइडिएबाट १३ अर्ब २५ करोड ८७ लाख ७७ हजार, जाइकाबाट ११ अर्ब ६६ करोड ५३ लाख ५८ हजार रुपैयाँ र आइएमएफबाट ५ अर्ब रुपैयाँ उपलब्ध हुनेछ।

प्रवक्ता थपलियाका अनुसार प्राधिकरणले उपलब्ध रकमलाई सहज ढंगबाट वितरण गर्दै निर्माणको काम अगाडि बढाउन खर्चको शीर्षकलाई १३ ठाउँमा विभाजन गरेको छ। गत वर्ष अर्थ मन्त्रालयबाट ४ वटा खर्च शीर्षकमा रकम विनियोजन भएको हुँदा रकमको स्रोतान्तर तथा रकमान्तर लगायतको प्रक्रियामा बढी समय लागेको थियो।

'प्राप्त भएको रकमलाई विपद्पछिको आवश्यकता आंकलन प्रतिवेदन (पिडिएनए) र पुनर्निर्माण तथा पुनःस्थापनासम्बन्धी पञ्चवर्षीय योजनाको खाका (पिडिआरएफ) मा उल्लेख भएअनुसार विनियोजन हुनेछ,' उनले भने, 'यसका लागि विषयगत मन्त्रालय बजेट सूचना प्रणालीमा प्रविष्टि गराएको आधारमा सम्बन्धित निकायबाट कार्यक्रम प्राप्त भएपछि कार्यकारी समितिले नीतिगत निर्णय गर्नेछ।'

प्राधिकरणका अनुसार हालसम्म भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये उपत्यका तीन जिल्लाबाहेक ११ जिल्लाका २ लाख ६५ हजार १ सय ८२ जनासँग निजी घर निर्माणका लागि अनुदान रकमको सम्झौता भएको छ। तीमध्ये आइतबारसम्ममा ३९ हजार ७ सय २ जनाले पहिलो किस्ताको ५० हजार रुपैयाँ पाइसकेका छन्। भूकम्पमा घर घुमाएका कुल ५ लाख ३३ हजार १ सय ५५ जनालाई सरकारले दुई लाख अनुदान उपलब्ध गराउनुपर्नेछ।

प्रकाशित: १० श्रावण २०७३ ०२:२५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App