७ वैशाख २०८१ शुक्रबार
राजनीति

चिनियाँ उपप्रधानमन्त्री आउँदै

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणअघि चिनियाँ उपप्रधानमन्त्री वाङ याङले नेपालको चार दिने भ्रमण गर्ने भएका छन्। चीन र भारतबीच दोक्लमलाई लिएर विवाद चर्किरहेका बेला अचानक तय भएको चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमणलाई विशेष चासोका साथ हेरिएको छ।

परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार चिनियाँ उपप्रधानमन्त्री वाङ १३ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै साउन ३० गते काठमाडौं आइपुग्नेछन्। उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग भेट गर्नेछन्। उनले काष्ठमण्डप र आर्युवेद सेन्टरको अवलोकन गर्ने कार्यक्रम तय भएको छ।

'चिनियाँ उपप्रधानमन्त्री साउन ३० गते आउने कार्यक्रम छ,' परराष्ट्र मन्त्रालय उच्च स्रोतले भन्यो, 'भ्रमण अचानक तय भएकाले छलफलको अजेन्डा तय भइसकेको छैन।'

चिनियाँ उपप्रधानमन्त्री अचानक नेपाल भ्रमणमा आउन लागेकाले प्रधानमन्त्री देउवाको भारत भ्रमण मिति घोषणा गर्न नसकिएको स्रोतले बतायो। 'दोक्लमलाई लिएर पछिल्ला दिन चीन र भारतबीच विवाद बढिरहेको छ। यस्तो बेला प्रधानमन्त्रीले भारत भ्रमण गर्नुहुन्न भन्ने कुरा उठेको छ। यही मौकामा चिनियाँ उपप्रधानमन्त्री आउँदै हुनुहुन्छ। त्यसैले प्रधानमन्त्रीको भारत भ्रमणको मिति घोषणा गर्न अप्ठेरो परेको छ,' उच्च स्रोतले भन्यो।

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराको निमन्त्रणामा चिनियाँ उपप्रधानमन्त्री नेपाल आउन लागेका हुन्। महरा र वाङ बीचको भेटवार्ताको समय भने तय भएको छैन। 

प्रकाशित: १९ श्रावण २०७४ ०२:३७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App