coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

भरतपुर मेयर उम्मेदवार ज्ञवालीका छोरा पक्राउ

काठमाडौं- सामाजिक सञ्जालमार्फत चरित्रहत्या गरेको उजुरीका आधारमा भरतपुर महानगरपालिकाका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा निरव ज्ञवाली पक्राउ परेका छन्।

माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालका श्रीमान् अनिलकुमार पाठकको उजुरीका आधारमा महानगरीय प्रहरी अपराध महाशाखाले उनलाई बुधबार काठमाडौंको पुतलीसडकमा पक्राउ गरेको हो।

'जिल्ला प्रहरी कार्यालय चितवनमा दर्ता भएको उजुरीका आधारमा ज्ञवालीलाई पक्राउ गरेका हौं,' महाशाखाका एसपी प्रकाशजंग कार्कीले भने, 'उनलाई हिरासतमा राखेर विद्युतीय कारोबार ऐनअनुसार अनुसन्धान प्रक्रिया अगाडि बढाएका छौं।'

भरतपुर महानगरपालिकाको मतगणनाका क्रममा माओवादीका प्रतिनिधिले मतपत्र च्यातेपछि निरवले रेणुको चरित्रहत्या हुने सन्देश सामाजिक सञ्जालमा राखेका थिए। त्यसपछि पाठकले चितवन प्रहरीमा ज्ञवालीसहित एसबी बोहोराको नाम उल्लेख गरी उजुरी दिएका थिए।

आफूविरुद्ध उजुरी परेपछि ज्ञवालीले निकाल्दै फेसबुकमा आफूले लेखेको स्वीकार गरेका थिए। उनले तत्काल उत्पन्न परिस्थितिको क्षणिक आवेगका कारण गल्ती भएको भन्दै माफी मागे पनि उजुरी यथावत् थियो।

ज्ञवाली काठमाडौंमा रहेको सूचनाका आधारमा चितवन प्रहरीले उनलाई पक्राउका लागि काठमाडौंमा पत्राचार गरेपछि विद्युतीय कारोबार ऐनअन्तर्गत अनुसन्धानका लागि महाशाखाले पक्राउ गरेको हो।

साइबर क्राइमसम्बन्धी अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो र महाशाखाले गर्दै आएका छन्। विद्युतीय कारोबार ऐनअन्तर्गतका मुद्दा काठमाडौं जिल्ला अदालतमा मात्रै दर्ता हुने भएकाले प्रतिवादीलाई काठमाडौं ल्याउने गरिन्छ।

प्रकाशित: १९ श्रावण २०७४ ०२:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App