७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले उपल्लोचिप्ला गाउँ बगाउने खतरा

उपल्लोचिप्ला गाउँ नजिकै गएको पूरानो पहिरो । तस्बिर : किसान संगीत नेपाली

लमजुङ – लगातारको वर्षाका कारण जिल्लाको उत्तरीभेगको उपल्लोचिप्ला गाउँ नजिकैको पुरानो पहिरो बढ्दै जाँदा सिंगो गाउँनै बगाउने खतरा उत्पन्न भएको छ।

मस्र्याङ्दी गाउँपालिका वडा नं ५ उपल्लोचिप्ला गाउँ नजिकैको पहिरो बढ्दै जाँदा त्यहाँको बस्ती नै बगाउने खतरा बढ्दै गएको हो। 

दिनहुँ बगीरहने पहिरोले ४१ घरधुरी रहेको सो गाउँलाई नै च्याप्दै गइरहेको स्थानीयवासीले बताएका छन् । बस्तीसँगै स्थानीय रत्न विद्यामन्दिर प्राथमिक विद्यालय समेत बगाउन सक्ने र जीउधनको ठूलो क्षति हुने खतरा बढ्दै गएको सो वडाका वडाध्यक्ष लेखमान गुरुङ बताउँछन् । गाउँका धेरै जग्गाजमिन भएका मध्येका काम्राङ गुरुङको खेतबारी सोही पहिरोले बगाइदिए पछि उनी अहिले सुकुम्बासी सरह भएको उनी बताउँछन् । उनको अधिकांश जमिन पहिरोमा परेको र बाँकी रहेको जमिनलाई पनि पहिरोले घेरेपछि खेतीपाती लगाउन जानै नसक्ने अवस्थामा रहेको उनले बताए । गाउँ नजिकैको तिखुखोला आसपासमा धेरैवर्ष अघिदेखि पहिरो बग्न थालेको र त्यसले गाउँ नजिकैको पखेरो र जंगल क्षेत्रलाई च्याप्दै लगेपछि अहिले ठूलो आकार लिइसकेको बताइएको छ । विगतमा पहिरो आसपासमा घाँस, दाउरा काट्ने, खेतीपाती र चरिचरन गर्दै आएकोमा पछिल्लो ५ वर्षयता सो क्षेत्र निकै जोखिमपूर्ण बन्दै गएको गुरुङले बताए । उक्त पहिरोका कारण बेसीमा रहेको रादीखोला जलविद्युत आयोजनाको विद्युतगृह समेत खतरामा पर्न सक्ने बताइएको छ।

गुरुङका अनुसार, कूल ४१ घरधुरी मध्ये स्थानीय काम्राङ गुरुङ, पूर्णबहादुर, भक्तबहादुर, मञ्जीत, रामबहादुर, बेलबहादुर, कालबहादुर, रामप्रसाद, रामबहादुर, दुधजंग, कप्तानसिं, यौबहादुर, सिद्धिजंग, दयाराम गुरुङ लगायतको २२ घर जुनसुकै बेला बग्न सक्ने अवस्थामा रहेका छन् । यि मध्ये मञ्जीत गुरुङले गाउँभन्दा केहीपर सानो अस्थायी घर बनाएर बसेका छन् भने अरुको बसाइ त्यही जोखिमयुक्त बस्तीमा रहेको जानकारीमा आएको छ । उच्च जोखिम अवस्थाका पीडित अधिकांशको गाउँभन्दा केही पर जग्गा जमिन भएकाले उनीहरुलाई त्यहाँ सार्न सकिने संभावना भएको तर घर बनाउनका लागि आवश्यक पैसा नहुँदा बाध्य भएर संकटग्रस्त ठाउँमा बस्नु परेको रत्न विद्यामन्दिरका प्रधानाध्यापक भक्तबहादुर गुरुङ बताउँछन्।   

पहिरो चिप्लागाउँको नजिकै रहेको र बढ्दै जाँदा सिंगोगाउँ नै पहिरोले तान्न सक्ने स्थानीय कुमेर गुरुङले बताए । पहिरोको माथिल्लो भागबाट बगेको पानी जमिन भित्रभित्रै बगेकोले अहिलेपनि लगातार पहिरो खसेको, पहिरोक्षेत्रको ठुलो भू–भागको थुप्रै स्थानमा चर्किएर धाँजा फाटेको, कतै जमिनको लेदो उम्लिए जस्तो देखिएको, पहिलेको ठाउँबाट जमिन धस्सिनुको साथै ठाउँ–ठाउँमा जमिन खोक्रो भएर आवाज आउने गरेको जस्ता अवस्था देखिएको पनि गुरुङले बताउँछन् । ‘पहिरोकै कारण आकाशमा बादल लाग्दा, पानी पर्दा र चट्याङ पर्दा गाउँलेहरु डराउने गरेको छ,’ गुरुङले भने, ‘पहिरो रोकथामका लागि कति ठाउँमा गुहारियो तर कसैले सुन्दैन ।’ पहिरोका कारण स्थानीयवासी त्रसित छन् भने ढुक्कसँग काम गर्न र निर्धक्क भएर निदाउन सक्ने अवस्था समेत नरहेको पीडित मध्येका पूर्णबहादुर गुरुङले बताए । आफ्नो घरको करिब ५० मिटर नजिकै पहिरो आइपुगेको र घरछेउमै ठूल्ठूला धाँजा फाँटेकोले आफू साह्रै बिचल्लीमा परेको दुखेसो स्थानीय सुबजंग गुरुङको छ।

निकै डरलाग्दो सो पहिरो रोकथामका लागि जिल्ला बन कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ तथा जिल्ला प्रशासन कार्यालय, भूसंरक्षण कार्यालय लगायतका सरोकारावाला निकायमा पटक–पटक धाएको हिमाली सामुदायिक बन उपभोक्ता समूहका अध्यक्ष समेत रहेको कुमेर गुरुङ बताउँछन् । केही वर्षअघि स्थानीयको निवेदन परेपछि जिल्ला भू–संरक्षण कार्यालयले स्थलगत निरीक्षण गरेको र रोकथामको लागि उपलब्धीमूलक ढंगको काम नभएको गुरुङको भनाई छ । यसवर्ष पनि जिल्ला समन्वय समिति लगायतका कार्यालयबाट अवलोकन गरिएको तर केही काम नभएको स्थानीयले बताए । पहिरोको रोकथाम र संरक्षणका लागि विज्ञहरुद्वारा विस्तृत अध्ययन गर्नुपर्ने र उच्चजोखिम अवस्थाका पीडितहरूलाई स्थानान्तरण गर्नुपर्ने तर्फ सम्बन्धित निकायको ध्यान गएको छैन्। 

यहाँ जिल्ला समन्वय समिति, जिल्ला भू–संरक्षण कार्यालय, सामुदायिक वन उपभोक्ता महासंघ, हरियो बन कार्यक्रम अन्र्तगत केयर नेपाल लगायतका कार्यालय तथा संस्थाबाट रोकथामको प्रयास भएको बताइएपनि उपलब्धीमूलक हुनसकेको छैन्। 

प्रकाशित: १८ श्रावण २०७४ ११:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App