८ वैशाख २०८१ शनिबार
कला

एकै दिन दुई शरणार्थी

काठमाडौं–भुटानबाट लखेटिएर पूर्वी नेपालको झापामा शिविर बनाइ बसेका भूटानी शरणार्थीहरुको कथामा आधारित रहेर निर्माण गरिएका दुई फिल्म एकै मिति अर्थात भदौ ८ गते प्रदर्शनमा आउने भएका छन्। प्रकाश आङदेम्बेले निर्देशन गरेको फिल्म ‘देश खोज्दै जाँदा’ र विजय केरुङले निर्देशन गरेको फिल्म ‘हामी शरणार्थी’ एकै मितिमा रिलिज हुन लागेका हुन्।

दुवै फिल्मले राजधानीमा सोमबार छुट्टाछुट्टै समयमा पत्रकार सम्मेलन गर्दै रिलिजको तयारीबारे जानकारी दिए  । फिल्म ‘हामी शरणार्थी’का लेखकसमेत रहेका निर्देशक केरुङले भुटानबाट लखेटिएर नेपालमा शरण लिएर बसेका शरणार्थीहरुको कथामा फिल्म बनाएको बताए । ‘हामीले शरणार्थी जीवनलाई नजिकबाट कहिल्यै नियालेका छैनौं  । तर, उनीहरुको दुःख र कष्ट आफ्नै किसिमको छ,’निर्देशक केरुङले भने,‘नेपालीहरू भुटानमा बसोबास गरेको दुई सय वर्षको इतिहास छ । जातीय आन्दोलनले गर्दा आफ्नो जन्मभूमि देश छोडेर अरुको देशमा शरणमा परेर शरणार्थी जीवन बिताउनेहरुको कथा फिल्ममा हेर्न पाइनेछ ।’

फिल्मको पोष्टरमा दुई बच्चा बोकेर डराएको लुक्समा देखिएका फिल्मकी अभिनेत्री शिल्पा पोखरेल अर्को फिल्म ‘वीरांगना’को सुटिङमा व्यस्त भएपछि  पत्रकार सम्मेलनमा देखिइनन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत आफू कार्यक्रममा उपस्थित हुन नसकेकोमा फिल्म युनिट र पत्रकारसँग माफी मागेकी थिइन्।

शिल्पाको अपोजिटमा अभिनय गरेका नायक जीवन भट्टराईले आफ्नो भूमिकालाई दर्शकले मनपराउने दाबी गरे । फिल्ममा बालदिप राई, विक्रम श्रेष्ठ, सुन्दर श्रेष्ठ, विपिन प्रसाई, प्रतिमा रसाइली, प्रमिला उप्रेती, नयन घिमिरे र दिलिप योङहाङको अभिनय छ ।

कृष्णप्रसाद पोखरेल, अर्जुन पोखरेल, प्रकाश भण्डारी र प्रकाश शिवाकोटीको लगानी रहेको फिल्ममा हिमाल केसीको द्वन्द्व, उत्तमजंग लिम्बुको संगीत, कमल राईको नृत्य, बैजु सिंहको पटकथा तथा संवाद र सौरभ लामाको छायांकन छ ।

‘देश खोज्दै जाँदा’का निर्देशक आङदाम्बेले भने फिल्ममा भुटानी शरणार्थीहरुको मौलिक, रहस्यात्मक तथा पारिवारिक जीवनका आन्तरिक तथा बाह्य द्वन्द्वलाई मार्मिक र संवेदनशीलताका साथ उजागर गरिएको बताए । उनले आफ्नो फिल्मको रिलिज मिति धेरैअगाडि सार्वजनिक भएकाले यस्तै कथामा अर्को फिल्म जुध्न आउँदा फरक नपर्ने जनाए । ‘शरणार्थीकै कथामा अर्को फिल्म पनि हाम्रै फिल्मसँग जुध्न आउने सुनिरहेको छु । तर हाम्रो कथा अब्बल रहेकाले अर्को कुनै पनि फिल्मले असर पार्ने छैन ’ उनले भने ।

फिल्मका प्रमुख कलाकार नायक बाबु बोगटीले राम्रो कथाको फिल्ममा काम गर्न पाउँदा खुशी लागेको बताए । ‘शरणार्थीको बारेमा सुन्दै आएको थिएँ । तर, फिल्ममा आफै शरणार्थीको भूमिकामा अभिनय गर्दा उनीहरुको दिनचर्यालाई नजिकबाट नियाल्ने मौका पाएँ,’बाबुले भने,‘मेहनत गरे अनुसार दर्शकले फल दिनुहुनेछ भन्नेमा हामी विश्वस्त छौं ।’

अभिनेत्री अरुणा कार्कीले शरणार्थीको बारेमा जति सुने पनि उनीहरुको ठाउँमा पुगेर हेरेपछि मात्र वास्तविकता थाहा पाएको बताइन् । इफकेन्स इन्टरनेशनल फाउण्डेसन, इफाका भुटान, लाइन क्रस मुभिज र गन्तव्य थिएटरको संयुक्त ब्यानरमा निर्माण भएको फिल्ममा बाबु बोगटी, हेमन्त बुढाथोकी, मिना कोइराला, अरुणा कार्की, सरिता वली, तिब्बत राई, एलपी जोशी, शिवशंकर थापा, केशव आचार्य, टंक विकल्प, सुवास थापा र प्रताप सुब्बाको अभिनय छ । उपेन्द्र सुब्बाको पटकथा रहेको फिल्ममा आभाष र श्रवण मुकारुङको संगीत, मनोरञ्जन श्रेष्ठको सम्पादन र सञ्जय लामाको छायांकन छ ।

प्रकाशित: १८ श्रावण २०७४ ०४:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App