coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

रत्नलाई दीर्घ साधना सम्मान

काठमाडौं–आगामी साउन २२ गते राजधानीमा आयोजना हुन लागेको छैटौं संस्करणको ‘म्युजिक खबर म्यूजिक अवार्ड’मा गीतकार रत्नशमशेर थापालाई ‘म्युजिक खबर दीर्घ साधना सम्मान २०७४’बाट सम्मानित गरिने भएको छ। उनलाई २५ हजार ५ सय ५५ रुपैंयाँसहित सम्मान गरिनेछ। वि.सं. २००८ सालबाटै कविता लेख्न थालेका गीतकार थापाले २००९ सालबाट गीत पनि लेख्न थालेका थिए।

म्युजिक खबर डटकमले आयोजना गर्दै आएको अवार्डमा यस वर्ष ३४ विधाका स्रष्टा एवं सिर्जनालाई अवार्ड प्रदान गरिनेछ । अवार्डमा गायक शिशिर योगी र गायिका सत्यकला राईलाई ‘म्यूजिक खबर दशक सम्मान २०७४’ दिइनेछ । गायक योगीका ‘सारंगी त रेटे पनि’ र ‘मानिस खोजिरहेछु’लगायतका गीत चर्चित छन् । त्यस्तै गायिका राईको ‘आइडी काडैले’, ‘ढडिया थापिदेउ’, ‘तिमी मसँग नबोल्ने अरे’, ‘इन्टरनेटैमा’ जस्ता गीत चर्चित छन् ।

यस्तै बालगायक बेगेन्द्र बुढालाई ‘म्युजिक खबर बालप्रतिभा प्रोत्साहन सम्मान’ दिइनेछ भने गीतकार तथा संगीतकार पदम रोकायालाई ‘म्युजिक खबर युवा प्रतिभा सम्मान’ प्रदान गरिनेछ । आयोजकले ‘म्युजिक खबर संगीत पत्रकारिता पुरस्कार’बाट सञ्चारकर्मी डा.नवराज लम्साललाई पुरस्कृत गर्ने जनाएको छ । डा.लम्साललाई ५ हजार ५ सय ५५ राशिसहित पुरस्कृत गरिनेछ ।

नेपाली गीत संगीतमा आधा दशकभन्दा लामो समय बिताइसकेका बुद्धिमान घिसिङलाई ‘म्युजिक खबर डायस्पोरा संगीत सम्मान’ दिइनेछ । अवार्डका अध्यक्ष सुमन पण्डितले विगतका वर्ष झैं यस वर्ष पनि अवार्डलाई भव्य बनाइने बताए ।

 

 

प्रकाशित: १८ श्रावण २०७४ ०४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App