७ वैशाख २०८१ शुक्रबार
समाज

एक वर्षभित्र सार्वजनिक स्थलमा निःशुल्क वाइफाई

काठमाडौं- मुलुकभरको सार्वजनिक स्थलमा निःशुल्क वाइफाइ चलाउने योजना बनाएको नेपाल टेलिकमले हाल उपत्यकाको चार ठाउँमा यो सेवा सुरु गरेको छ। धेरै भीडभाड हुने र उपभोक्ताको आवश्यकता धेरै पर्ने मुलुकभरका सार्वजनिक ठाउँमा निःशुल्क इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्य अनुरुप टेलिकमले यो थालनी गरेको हो।

टेलिकमले हाल मुलुकको एक्लो अन्तर्राष्ट्रिय विमानस्थल, वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल र नर्भिक अस्पतालमा निःशुल्क वाइफाई उपलब्ध गराएको छ। यी स्थानमा उपलब्ध निःशुल्क वाइफाईको सुविधा लिन नेपाल टेलिकमकै सिम प्रयोग गर्नुपर्छ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीका अनुसार उक्त ठाउँमा टेलिकमको सेवा प्रयोग गरिरहेका उपभोक्तालाई वाइफाईको सुविधा छ । टेलिकमको मोबाइल एप डाउनलोड गरेर ती ठाउँमा १५ मिनेट अवधिको निःशुल्क हटस्पट वाइफाइ प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ । 

उपत्यकाबाट निःशुल्क वाइफाई सेवा सुरु गरेको टेलिकमले निकट भविष्यमा देशका प्रमुख सार्वजनिक ठाउँमा सेवा विस्तार गर्ने योजना बनाएको छ । मुलुकभरका सार्वजनिक स्कुल, हेल्थ पोस्ट, नगरपालिका, गाउँपालिकाको कार्यालय र अन्य भीडभाड हुने सार्वजनिक ठाउँमा निःशुल्क वाइफाई विस्तार गर्ने योजना रहेको राजभण्डारीले बताइन् ।

‘मुलुकका प्रमुख सार्वजनिक ठाउँमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न लागेका छौं,’ राजभण्डारीले सोमबार संसदको सार्वजनिक लेखा समिति बैठकमा भावी योजनबारे जानकारी गराउँदै भनिन्, ‘एक वर्षभित्र मुलुकभरका सार्वजनिक ठाउँमा निःशुल्क वाइफाई सेवा उपलब्ध गराउने योजना छ ।’

टेलिकमलाई देशका विभिन्न सार्वजनिक ठाउँमा निःशुल्क वाइफाई सेवा विस्तार गर्न नेपाल दूरसञ्चार प्राधिकरणले सुविधा उपलब्ध गराउने छ । प्राधिकरणले आफूकहाँ रहेको ग्रामीण दूरसञ्चार विकास कोष (आरटिडिएफ) बाट टेलिकमलाई सहयोग गर्नेछ । ग्रामीण क्षेत्रमा दूरसञ्चार सेवा विस्तार गर्ने उद्देश्यको उक्त कोषमा दूरसञ्चार कम्पनीहरूले नाफाको केही प्रतिशत जम्मा गर्नुपर्छ ।

त्यसैगरी, टेलिकमले उक्त कोषको रकम प्रयोग गर्ने गरी भूकम्प अतिप्रभावित जिल्लामा इन्टरनेट उपलब्ध गराउने योजना अघि बढाएको छ । भूकम्प प्रभावित क्षेत्रमध्ये राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट तोकिएका चार जिल्ला–– सिन्धुपाल्चोक, काभ्रोपलान्चोक, नुवाकोट र रसुवा ––का गाउँपालिकामा डाटा सेवा उपलब्ध गर्न प्राधिकरसँग वैशाख २१ गते सम्झौता भइसकेको छ ।

त्यसैगरी, ग्रामिण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरेर वाइम्याक्स प्रविधि तथा सञ्चालनमा रहेका जिएसएम÷सिडिएमए प्रविधिका र एडिएसएल उपलब्ध भएका स्थानमा एडिएसएलबाट इन्टरनेट पु¥याउने काम भइरहेको टेलिकमले जनाएको छ । काभ्रेपलान्चोकको डराउनेपोखरी, कालापानी, कात्तिके देउराली, नुवाकोटको खरानीटार, मदानपुर र सिन्धुपाल्चोकको कर्थलीमा वाइम्याक्स प्रविधिबाट सेवा सञ्चालन भइरहेको राजभण्डारीले बताइन् ।

काभ्रे कुशादेवी, पस्थली, भीमखोरी र नुवाकोटको बालकुमारीमा वाइम्याक्स प्रविधिबाट सेवा सञ्चालन हुने क्रममा रहेको र अन्य स्थानमा क्रमिक रुमपा सेवा विस्तार गर्ने काम भइरहेको टेलिकमको भनाइ छ ।

ग्रामीण दूरसञ्चार विकास कोष अन्तर्गत मध्यपहाडी लोकमार्कको पूर्वमा पर्ने पाँचथरको चियो भन्ज्याङबाट पश्चिममा धादिङ–गोरखाको आरुघाटसम्म करिब आठ सय किलोमिटर मुख्य सूचना तथा १५७० किलोमिटर शाखा खण्डमा अप्टिकल फाइबर विस्तार गर्न टेलिकम र प्राधिकरणबीच २०७३ असोज १२ मा सम्झौता भइसकेको छ । उक्त ठाउँमा बृहत् साइट सर्भे लगायत योजनाका लागि आवश्यक व्यवस्थापन कार्य एवं तयारी भइरहेको टेलिकमको जनाएको छ । माइक्रोवेभ ट्रान्समिसनको लागि गत वर्ष फागुनमा बोलपत्र आह्वान भएकोमा पुनः बोलपत्र आह्वान गरिएको छ ।

प्रकाशित: १८ श्रावण २०७४ ०३:१० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App