७ वैशाख २०८१ शुक्रबार
अर्थ

रुपैयाँ बलियो बन्दा महँगी कम

काठमाडौं-परिवर्तनीय (संसारका धेरैजसो मुलुकमा साटिने) विदेशी मुद्रा अमेरिकी डलर कमजोर बन्दा आयातमा निर्भर नेपालमा उपभोग्य वस्तुको मूल्य थोरैले मात्रै बढेको छ। कमजोर डलरका कारण आयातित वस्तुको लागत कम हुँदा उपभोक्ता मूल्य थोरैले मात्र बढेको हो। यसले गर्दा उपभोक्तालाई राहत मिलेको छ।

गत जेठमा पोहोर जेठको तुलनामा जम्मा २.८ प्रतिशतले महँगी बढेको छ । पोहोर जेठमा ११.१ प्रतिशतले महँगी बढेको थियो।

डलरको तुलनामा नेपाली रुपैयाँ बलियो हुनु नेपालका लागि फाइदाजनक भएको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख एवं कार्यकारी निर्देशक नरबहादुर थापा बताउँछन् । ‘डलरको भाउ कम हुँदा मूल्यवृद्धि पनि कम भएको छ,’ उनले भने, ‘मूल्यवृद्धि सबैभन्दा कम हुनुमा यो पनि एउटा कारण हो ।’

निरन्तर रुपमा कमजोर बन्दै गएको नेपाली रुपैयाँ पछिल्लो समय भने डलरको तुलनामा बलियो अवस्थामा देखिएको छ । अमेरिकी डलर कमजोर बन्दै जाँदा नेपाली रुपैयाँ बलियो बन्न पुगेको हो ।

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि एक अमेरिकी डलर बराबर एक सय दुई रुपैयाँ ३५ पैसा खरिद मूल्य र बिक्री मूल्य एक सय दुई रुपैयाँ ९५ पैसा तोकेको छ । यो केही महिनायताकै कम हो ।

आठ महिनाअघि गत पुसमा डलरको भाउ एक सय आठ रुपैयाँ ३१ पैसासम्म पुगेको थियो । डलरको भाउ निरन्तर ओरालो लागेर एक सय एक रुपैयाँ ३५ पैसामा आएको छ ।

साउदी अरबियो नेतृत्वमा केही खाडी मुलुकले कतारमाथि नाकाबन्दी लगाएका कारण पनि अमेरिकी डलर कमजोर देखिएको विज्ञको भनाइ छ । कतारले  खाडी  संकट समाधानका लागि संयुक्त राष्ट्रसंघसँग सहयोगको अपिल गरेको छ । खाडी संकट समाधान भयो भने डलरको भाउ फेरि बढ्ने अनुमान गरिएको छ ।

कतारमाथि नाकाबन्दी लगाएको दुई महिना हुन लागेको छ । नाकाबन्दीका कारण कतारले ठूलै आर्थिक क्षति बेहोर्नु परेको बताइन्छ । यसअघि कतारले नाकाबन्दीका कारण बेहोर्नुपरेको आर्थिक नोक्सानीको क्षतिपूर्ति नाकाबन्दी लगाउने मुलुकहरूले दिनुपर्ने माग गरेको थियो ।

कतारले अतिवादी इस्लामिक समूहलाई समर्थन गरेको र आतंकवाद फैलाएको आरोप लगाई साउदी अरेबिया, बहराइन, युएई र इजिप्टले दोहासँगको कूटनीतिक सम्बद्ध बिच्छेद गरी कतारमाथि नाकाबन्दी लगाएका थिए । खाडीमा देखिएको केही दशकयताकै गहिरो संकटको असर अमेरिकी डलरमा समेत परेको विज्ञहरु बताउँछन् ।

नेपालमा भने रुपैयाँ बलियो हुनुको कारण भारतीय रुपैयाँ मजबुत हुनु हो । नेपाली र भारतीय रुपैयाँबीच स्थिर विनिमय दर (फिक्सड पेग) भएका कारण भारु मजबुत हुनासाथ नेपाली रुपैयाँ पनि बलियो र कमजोर हुँदा कमजोर हुने गरेको छ ।

नेपाली रुपैयाँसँग स्थिर विनिमय दर कायम रहेको भारतीय मुद्रा बलियो बन्दा नेपालमा डलरको भाउ घटेको हो । अमेरिकी अर्थतन्त्र कमजोर हुँदा डलरको तुलनामा भारतीय रुपैयाँ बलियो बनेको विज्ञको भनाइ छ ।

डलरको भाउ घट्दा तेस्रो मुलुक (भारतबाहेक) बाट आयात हुने सामानको मूल्य पनि घट्ने नेपाल राष्ट्र बैंकको भनाइ छ ।

 

डरलको भाउ घट्दा नेपाललाई बढी फाइदा हुन्छ । डलर बलियो हुँदा निकासीकर्ता र रेमिटेन्स पाउनेलाई मात्र फाइदा हुन्छ । यस्तै राज्यले विदेशी दातृ निकायसँग लिएको ऋणको भार पनि कम भएको छ । डलर कमजोर भएका कारण गत आर्थिक वर्षमा विभिन्न दातालाई दिने साँवा र ब्याज फिर्ता १६ अर्ब रुपैयाँ कम भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ ।

 

महिना             डलर मूल्य

२०७३ पुस १        १०८.३१

२०७३ माघ १९      १०८.२१

२०७३ फागुन १८     १०६.५

२०७३ चैत्र १९       १०३.४६

२०७४ बैशाख १८     १०२.३

२०७४ जेठ १८       १०२.९२

२०७४ असार १७     १०३.१९

२०७४ साउन १७     १०२.३५

 

 

 

प्रकाशित: १८ श्रावण २०७४ ०३:०८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App