coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

आठ वर्षमा पनि बनेन ‘बुटवल अटोभिलेज’

काठमाडौं- बुटवल उपमहानगरपालिका वडा नम्बर २, मैनाबगरमा बनाउन लागेको ‘बुटवल अटो भिलेज’ आठ वर्ष हुँदा पनि डिजाइनमा मात्रै सीमित भएको छ। एकीकृत सहरी विकास आयोजना अन्तर्गत सरकारले २०१७ भित्र सम्पन्न गर्ने लक्ष्य लिए पनि डिजिटल नक्सामा मात्रै सीमित भएको पाइएको छ।

एसियाली विकास बैंक (एडिबी) को २७ करोड रुपैयाँ सहयोगमा बुटवल उपमहानगरपालिकाको मैनाबगरमा सुरु अटो भिलेज आगामी पुसभित्र सम्पन्न गर्नुपर्नेमा अहिलेसम्म कामै सुरु भएको छैन ।

भिलेज नबनेपछि एडिबीले सहयोग गरेको २७ करोड रुपैयाँ फिर्ता हुने भएको छ । अटो भिलेज बन्ने भएपछि स्थानीय जागरुक देखिएका थिए । सार्वजनिक–निजी साझेदारीमा भिलेज बनाउने भनिए पनि यसको प्रक्रिया अचानक रोकिएको हो । यसको निर्माणका लागि टेन्डर प्रक्रिया पनि भएको थियो ।

सहरी विकास तथा भवन निर्माण आयोजना निर्देशक चक्रवर्ती कण्ठ भन्छन्, ‘कम्पनीको प्रस्ताव मूल्यांकन पनि भएको हो । तर, स्थानीयबीचको विवाद र राजनीतिक विषय भएपछि अटो भिलेज निर्माण सम्झौता प्रक्रिया रोकिएको हो ।’

उनका अनुसार तत्कालीन बुटवल नगरपालिकाले अटो भिलेज निर्माण गर्ने निर्णय गरेको थियो। अटो भिलेज बनाउन ठेक्का प्रक्रिया भए पनि विभिन्न पक्षले अनावश्यक माग राखेपछि कामको गति रोधिएको उनले बताए ।

अटो भिलेजमा बहुउद्देश्यीय भवन सहित ४६ वटासम्म सवारी पार्किङ गर्न मिल्ने डिजिटल डिजाइन छ । एडिबीसँगको सम्झौता अवधि सकिन लागे पनि सरकारले यस विषयमा गृहकार्य गर्न नसकेको उनको भनाइ छ । 

परियोजनाका उपप्रबन्धक तथा इन्जिनियर रुक्मांगत बस्यालले बुटवल उप–महानगरपालिकाको जग्गामा स्थानीयले अस्थायी टहरा बनाएर व्यवसाय सञ्चालन गरेका कारण अटो भिलेज निर्माणमा पहिलो अवरोध भएको प्रतिक्रिया दिए ।

पिपिपी मोडलमा निर्माण गर्ने भनिएको अटो भिलेजको जग्गामा सामाजिक तथा राजनीतिक विषय गाँसिएपछि थप समस्या भएको उनको भनाइ छ । ‘पिपिपी मोडलबाट अटो भिलेज बन्ने भएपछि स्थानीयले ३० प्रतिशत सेयर लगानी गर्नुपर्ने हुन्छ । यसमा स्थानीय तयार भएनन् । केही स्थानीय व्यवसायीले जग्गाको लालपुर्जा चाहिएको भन्दै विवाद झिकेपछि अटो भिलेज निर्माण झन्झटिलो हुँदै गएको उनले जानकारी दिए ।

अटो भिलेज निर्माणमा नगर विकास कोषले १० प्रतिशत लगानी गर्नुपर्ने हुन्छ । राजनीतिक विवाद र स्थानीयको मतभेदबीच अटो भिलेज निर्माणका लागि ७३ पटक बैठक बसेको बस्यालले नागरिकलाई जानकारी दिए ।

‘अहिले अटो भिलेज बन्ने वातावरण तयार भएको छ,’ उनले भने । उनका अनुसार उप–महानगरपालिकामा नवनिर्वाचित मेयर आएका कारण यस विषयमा थप छलफल भई निर्माण प्रक्रिया अघि बढ्ने उनको दाबी छ ।

यसका लागि बुटवल अटो भिलेज कम्पनी लिमिटेड स्थापना भएको छ । आठवर्षे योजनाको अन्तिममा आएर सकारात्मक सन्देश आएको उनले बताए ।

प्रकाशित: १८ श्रावण २०७४ ०३:०४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App