८ वैशाख २०८१ शनिबार
विचार

बाबुरामको भविष्य र एकताको प्रश्न

केही समयदेखि राजनीतिक दलबीच समीकरण र ध्रुवीकरण चलिरहेको छ। यसको पछिल्लो कडी हुन पुगेका छन् नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई। यसअघि विवेकशील र साझा पार्टीबीच एकीकरण भयो भने राष्ट्रिय जनता पार्टीका रूपमा छवटा पार्टी मिलेको धेरै भएको छैन। २०७२ असोजमा संविधान जारी हुनासाथ भट्टराईले फरक चिन्तनसाथ नयाँ शक्ति पार्टी खोलेका थिए। उनी करिव ४ दशक जुन राजनीतिक मान्यता र विश्वासमा हिँडेका थिए त्यसको औचित्य समाप्त भएको निष्कर्षमा पुगेपछि नयाँ दलको आवश्यकता देख्न पुगेका हुन् । माक्र्सवादको परिकथामा आफ्नो भविष्य खोज्ने संसारमा अनेक दिग्गज छन् । नेपालका सन्दर्भमा प्रजातान्त्रिक समाजवादका नेपाली भाष्यकार बिपी कोइरालाको नाउँ यस श्रेणीमा पर्छ ।

तातो रगत, जोशले भरिएको चिन्तन, परिवर्तनको आवेग माक्र्सवादका लागि ऊर्वर जमिन हुन्। स्वतन्त्रताबिनाको सपना देखेर हावाको महल बनाउन खोज्ने एउटा समय हुन्छ । त्यो समयलाई डा. भट्टराईले पनि ४ दशक अनुभव गर्ने प्रयास गरे । तर बाँकी जीवन स्वतन्त्रतासहितको राजनीतिक मूल्यमा केन्द्रित गर्ने र उपयोग गर्ने विश्वाससाथ डा. भट्टराईको नयाँ राजनीतिक जन्म भयो र नयाँ शक्ति नामक दल प्रारम्भ हुन पुग्यो । भारतीय राजनीतिमा अकस्मात उदाएको आप जस्तै नयाँ शक्तिले आफूलाई स्थापित गर्ने धेरैको अनुमान थियो । डा. भट्टराईको बौद्धिक व्यक्तित्वका कारण मानिसमा यस्तो विश्वास जागेको हुनुपर्छ । तर त्योविपरित भट्टराई र उनका सहयोगीको राजनीतिक भविष्य संकटमा देखिएको छ । दुई वर्ष नपुग्दै यसरी राजनीतिक भविष्यमा ग्रहण लाग्नु सुखद् होइन ।

आप उदाउनुमा गान्धी, विनोवा भावेभन्दा पछिका र अहिलेको भारतमा स्थापित समाज सुधारक अन्ना हजारेको आशीर्वाद उसलाई थियो । नेपालमा भट्टराईलाई समर्थन गर्ने त्यस्तो राष्ट्रिय मान्यताप्राप्त अनुहार कोही थिएन । नेपालमा यसै पनि हजारे जस्ता प्रतिभा छैनन् । नागरिक अगुवाका नामधारीहरू स्वार्थ र संकीर्ण चिन्तनका पिण्ड हुन पुगेका छन् । मानव अधिकारका विषयमा बोल्ने कतिपय चर्चित अगुवाको जीवन पद्धति निरंकुशताले परिपूर्ण छ । आवरणमा मानव अधिकार अन्तर्यमा अधिनायकवादका संवाहकको वोलवाला छ । भट्टराईलाई साथ दिएका भए पनि त्यो साथ सतहमा आवरणमात्र हुने थियो । यद्यपि एउटा निर्वाचन वा एउटा कुनै घटनाका आधारमा दलको भविष्य आंकलन गर्नु गलत हुनेछ ।

लोकतन्त्रमा साना÷ठूला दल जस्ता भए पनि तिनको भूमिका खास समयमा खासरूपले देखिनेछ । ठूला दलको प्रभुत्व कायम हुन नदिन साना दल नेपाल जस्तो देशमा जरुरी हुन्छ । साना दललाई लोप गराउन र उनीहरूलाई चिरा पार्ने प्रयास ठूला दलको हुने गर्छ । जसलाई अस्वाभाविक मानिरहनुपर्दैन । अवसर हेरी ठूला दलले एकअर्कालाई कमजोर पार्ने, फुटाउने दाउ गरिरहेका हुन्छन् । लोकतन्त्रका लागि यो सुखद् हुँदैन । लोकतन्त्रको सौन्दर्य भनेकै अनेक दलको राजनीतिक सहभगिता हो । धेरै दल भएमा नागरिकको समर्थन पद्धतिमा व्यापक हुन्छ । एउटा दल खराव भएमा अर्को दलको नेतृत्वलाई जनताले समर्थन दिन सक्छ । जनतासँग अनेक विकल्प हुन्छन् । नेपालका सन्दर्भमा यतिखेर तीनोटाबाहेक चौथो विकल्प जनतासँग छैन । नेपाली कांग्रेस, नेकपा एमाले र माओवादी केन्द्र । घुमीफिरी रुम्जाटार भनेझैँ भएको छ। लोकतान्त्रिक  दलीय विकल्प त सीमित छ । नेपाली कांग्रेसको विकल्प नेपाली कांग्रेसबाहेक अरु देखिएको छैन । यस्तो समयमा दलीय विकल्प जन्मनु आवश्यक छ।

     राजपा एकताको परिणाम हो । छवटा सर्वाधिक निजी स्वार्थबाहेक केही नहेर्ने नेतृत्वको एकता हो त्यो पार्टी । एकता भए पनि राजपा एकीकरण भएको छैन । त्यसभित्र अनेक स्वार्थ छन् । ती स्वार्थको समायोजन गर्न महन्थ ठाकुर जस्ता पाका र शरतसिंह भण्डारी जस्ता जोशिला नेताका लागि फलामको चिउरा चपाउनुसरह हुनेछ । तर विवेकशील र साझा पार्टीको एकता सही अर्थमा एकीकरण देखिएको छ । यी दुवै दल नयाँ ऊर्जा र विश्वाससाथ आरम्भ भएका हुन् । यसमा आबद्धहरूको पुस्ता परिवर्तनकारी होइन। यी दलका नेतृत्वको भूमिका परिवर्तनका लागि कष्टमा थिएन । तर परिवर्तनपछिको सपना यिनीहरूमा छ । परिवर्तनले सुन्दर र विकसित देशको परिकल्पना गरेको होस् र तद्नुरूप स्वच्छ÷चुस्त प्रशासनयन्त्र, नैतिक राजनीतिक नेतृत्वलाई सपनाका रूपमा सम्वरण गरेको होस् भन्ने चाहेको छ ।

काठमाडौं र पाटनका मतदाताले जसरी विवेकशील र साझा पार्टीप्रति समर्थन देखाए त्यसले धेरै कुराको संकेत गरेको छ । यी दुवै सहरका मतदाताले विकल्प खोजेका रहेछन् । यस्तो खोजी राजधानी जस्तो सचेत बस्तीबाट नै हुने गर्छ । परम्परागत ठूला दलले निर्वाचन जितेका भए पनि त्यो सांख्यिकीयमात्र हो। राजधानीले वास्तवमा नै नयाँ पुस्ता खोजेको छ । विकल्पको धार तयार गर्नुपर्छ भन्ने मान्यता पुष्टि गरेको छ । स्थानीय सरकार निर्वाचनका क्रममा विवेकशील र साझा पृथक भएर खडा भए पनि अबका दिनमा उनीहरू एक भएका छन् । उनीहरूको एकता एकीकरण जस्तै लाग्छ । तर भावनामात्र भएर पुग्दैन, उत्साहमात्र भएर हुँदैन । नेतृत्वसँग सिद्धान्त, कार्यक्रम, नीति र संगठन हुनु अपरिहार्य छ । आदर्श स्थापित गर्नु उत्तिकै जरुरी छ ।

नेतृत्व राम्रो भएरमात्र हँुदैन, त्यसलाई स्थापित गर्ने अनेक तत्व हुन्छन् । नेतृत्वका हिसावले डा. बाबुराम भट्टराई बेजोड छन् । तर उनको पार्टी नयाँ शक्तिको क्षमता किन देखिएन ? अर्थात् नेतृत्वमात्र भएर हुने रहेनछ । विवेकशील र साझाको उत्साह र भट्टराई जस्ता परिपक्व बुद्धिजीवीको नेतृत्व संयोजन गर्न सके परिवर्तनले सही दिशा समात्ने थियो कि ? जसरी २०४७ मा माले पार्टीले माक्र्सवादीसँग एकीकरण गरी मनमोहन अधिकारीलाई शीर्ष स्थानमा राखेको थियो । माले ठूलो र शक्तिशाली भए पनि साना दलका उचाइका नेतालाई साथमा लिन त्यो रणनीति अख्तियार गरेको थियो । माक्र्सवादीसँगको एकीकरणबाट मनमोहन, साहना जस्ता नेताको नेतृत्व पायो मालेले ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आफ्ना सबै पुराना साथीलाई एकतामा आउन आह्वान गरेका छन् । पहिलो संविधानसभामा पहिलो स्थान पाएको माओवादीलाई अरु कसैले धराशायी बनाएका होइनन्, उसकै नेतृत्व यसमा जिम्मेवार छ । पहिले मातृका यादव फुटे, लगत्तै मणि थापा बाहिरिए, त्यसपछि मोहन वैद्य र नेत्रविक्रम चन्दको टोलीले अलग्गिएको घोषणा ग¥यो । तर यसरी फुटेर गए पनि उनीहरू सबै माओवादमा विश्वास गरिरहेका छन् । सशस्त्र हिंसा सुरु गर्दा अख्तियार गरेको नीतिलाई अहिले पनि तिनीहरू आदर्श मानिरहेका छन् । तर परिस्थिति उनीहरू अनुकूल छैन । माओवादीबाट अन्तिममा हिँडेका बाबुरामको विचार र विश्वास फरक छ । माक्र्सवादको औचित्य नै समाप्त भएको टुंगोमा उनी पुगेका छन् ।

अब बाबुराम माओवादीसँग एकता गर्न पुग्नु अर्को हाँस्यास्पद घटना हुनेछ । माओवादी केन्द्रले अवलम्बन गरेको सिद्धान्तसँग भट्टराईले परिभाषित गरेको नयाँ शक्तिको सिद्धान्त मेल खाँदैन । दाहाल वा भट्टराई दुवैले यस सत्य बुझेका छन् । दाहालले समविचार राख्नेलाई मात्र एकताका लागि आह्वान गरेको भए बढी सैद्धान्तिक र व्यावहारिक हुने थियो । यद्यपि दाहालको प्रस्तावलाई नयाँ शक्तिले अस्वीकार गरिसकेको छ । उसका लागि दाहालको प्रस्तावमा समर्थन जनाउने कुनै पनि आधार थिएनन् र छैनन् पनि । तैपनि सुनिँदैछ नयाँ शक्तिका कतिपय नेता माओवादीमा फर्कने तयारीमा छन् । त्यसो हो भने भट्टराईको राजनीतिक भविष्य कमजोर हुनेछ । भट्टराई जस्ता योग्य नेताको सकारात्मक योगदान राष्ट्रलाई हुनुपर्छ।

नयाँ शक्ति र संघीय समाजवादीबीच तालमेल हुन लागेको चर्चा थियो । तर भित्री कुरा नमिलेका कारण त्यो सम्वाद भंग भयो । अब संघीय समाजवादीसँग एकता नहुने जानकारी स्वयं  भट्टराईले दिइसकेका छन् । यी दुई दलबीच तालमेल भएको भए अन्यथा हुने थिएन । तर त्यहाँ उपेन्द्र यादव जस्ता महत्वाकांक्षी नेता र अशोक राई जस्ता पुराना घाग्डान् बसेका स्थानमा भट्टराई र उनका शीर्ष सहयोगीप्रति उचित सम्मान हुनु सम्भव थिएन । यसै पनि संघीय समाजवादी फोरम आफैँ गठजोडमात्रै हो। कुनै पनि दिन फोरम एकापट्टि र संघीय समाजवादी अर्कापट्टि हुन बेर छैन । तथापि नयाँ शक्ति र फोरमको लय मिलेको भए त्यो सकारात्मक हुने थियो । साना दल नमिल्नुले ठूला दल र यसका नेतालाई फाइदा पुग्छ । भट्टराई अलग हुँदा माओवादी केन्द्रमा नारायणकाजी दोस्रो स्थानमा पुगे । दाहालपछिको नेतृत्वमा नारायणकाजीको दावी स्वाभाविक भएको छ । तर सानो दलको नेता भएर बस्दा भट्टराई जस्ताको उपयोग कम हुन्छ र उनीहरूको योगदानबाट देश वञ्चित हुन्छ ।

 

प्रकाशित: १८ श्रावण २०७४ ०२:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
Download Nagarik App