७ वैशाख २०८१ शुक्रबार
समाज

शर्माको निजी पसलबाट ‘सबैको नेपाली’ अन्तै लगियो

साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माको अनामनगरस्थित शर्माको निजी पुस्तक पसल ‘अक्सफोर्ड’ मा ‘सबैको नेपाली’ पुस्तक गाडीमा लोड गरिँदै। तस्बिर: नागरिक

काठमाडौं- साझा प्रकाशनका अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले कक्षा ११ र १२ को १५ सय थान ‘सबैको नेपाली’ पाठ्यपुस्तक अनामनगरस्थित निजी पुस्तक पसल ‘अक्सफोर्ड’ बाट अन्तै सारेका छन्।

साझाको लोगो प्रयोग गरी बाहिरी छापाखानाबाट अवैध रूपमा छापेका पुस्तकका बारेमा ‘बजार अनुगमन’ गर्ने आवाज उठ्न थालेपछि शर्माले पसलमा रहेका पुस्तक लुकाएका हुन्।

उक्त पुस्तक अवैध रूपमा बजारमा उपलब्ध भएको समाचार नागरिक र रिपब्लिका दैनिकमा छापिएपछि शिक्षा मन्त्रालयले छानबिन समिति गठन गरेर अध्ययन गरिरहेको छ । साझाभित्रैबाट पनि अवैध पुस्तकका बारेमा तत्काल अनुगमन गर्नुपर्ने आवाज उठिरहेको छ ।

शर्माले भने एक जना पुस्तक व्यापारीले आफूसँग ‘सबैको नेपाली’ पुस्तक एक हजार पाँच सय थान माग गरेकाले साझाकै बिक्री केन्द्रबाट खरिद गर्न लगाएको बताए । पुस्तक व्यापारीले साझाबाटै पुस्तक नलगेर किन तपाईंको निजी पुस्तक पसलबाट खरिद गरेको भन्ने प्रश्नमा शर्माले भने,  ‘अक्सफोर्डले साझाका पुस्तक खरिद गरेर बिक्री गर्न पाउँदैन र ?’ शर्माले अक्सफोर्ड पुस्तक पसल पत्नीले हेर्ने भएकाले त्यससँग आफ्नो कुनै सरोकार नभएको पनि बताए । 

साझामा शर्माले नेतृत्व सम्हालेलगत्तै साझाले कम पुस्तक छापे पनि बजारमा भने पर्याप्त मात्रामा साझाको लोगो अंकित पुस्तकहरू पाइने गरेका छन् । ‘सबैको नेपाली’ पुस्तक साझाले यस वर्ष ६३ हजार थान छापेको थियो । तीमध्ये काठमाडौं उपत्यकामा झन्डै तीन हजार पुस्तकमात्र बिक्री भएको साझाका कर्मचारीले जानकारी दिए ।

साझाका अन्य शाखा कार्यालयबाट समेत विगतको तुलनामा पुस्तक बिक्री न्यून भइरहेको छ। यस वर्ष कक्षा ११ मा वर्ष झन्डै साढे चार लाख विद्यार्थी भर्ना भएका छन् । तीमध्ये आधाजति त उपत्यकामै पढ्छन् । अनिवार्य नेपाली विषयको ‘सबैको नेपाली’ विज्ञान संकायमा कक्षा १२ र व्यवस्थापन, मानविकी र शिक्षा संकायमा कक्षा ११ मा पढाइ हुन्छ । कक्षा ११ र १२ को नयाँ शैक्षिकको पठनपाठन सुरु भइसके पनि उक्त पुस्तक नपाएको गुनासो कतैबाट आएको छैन ।

विद्यार्थी संख्याअनुसार साझाको आधिकारिक बिक्री केन्द्रबाट उक्त पुस्तक बिक्री भएको पाइँदैन। साझा प्रकाशनले बाहिरी छापाखानामा पुस्तक छाप्ने गरे पनि त्यसरी छापिएका पुस्तक साझाको केन्द्रीय कार्यालयमा दाखिला गरेर मात्र बजारमा पठाइन्छ । लोगोको दुरुपयोग गरी बाहिरी छापाखानामा छापिएका पुस्तक साझामा दाखिला नहुँदा साझालाई ठूलो आर्थिक नोक्सानी हुँदै आएको छ।

 

 

 

प्रकाशित: १८ श्रावण २०७४ ०१:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App