७ वैशाख २०८१ शुक्रबार
समाज

उपत्यकामा शुक्रबार र शनिबार अपराधका धेरै घटना

काठमाडौं- महानगरीय प्रहरी कार्यालयको  आपराधिक तथ्यांक अनुसार काठमाडौं उपत्यकामा शुक्रबार र शनिबार सबैभन्दा धेरै अपराध हुने देखिएको छ।

०७३–०७४ मा काठमाडौं, ललितपुर र भक्तपुरमा ५ हजार ९ सय २४ आपराधिक घटना घटेका थिए। अपराध हुने बारको आधारमा निकालिएको तथ्यांकमा शुक्रबार र शनिबार धेरै आपराधिक घटना हुने देखिएको हो ।

यी दुईबार १३–१३ प्रतिशत अपराध हुने गरेका छन् । शुक्रबार बेलुकासम्म घरबाहिर बस्ने र शनिबार प्राय परिवारसहित घुम्न जाने भएकाले शहरी क्षेत्रमा सो दिन बढी अपराध हुने गरेको प्रहरी विश्लेशण छ।

महिनाको आधारमा भदौं र चैतमा आपराधिक समूह बढी सक्रिय देखिएको छ । भदौंपछि चाडबाड शुरु हुने र चैत लगत्तै नयाँ वर्ष जस्ता पर्व पर्ने भएकाले यो महिनामा आपराधिक समूह बढी सक्रिय हुने प्रहरीको विश्लेषण छ ।

उपत्यकाका तीन जिल्लामा दर्ता भएका संख्याको आधारमा काठमाडौंमा ७७, ललितपुरमा १५ र भक्तपुरमा ८ प्रतिशत आपराधिक घटना दर्ता भएका थिए । भदौंमा ५ सय ९६ आपराधिक घटना घटेका थिए भने चैतमा ५ सय ५४ आपराधिक घटना घटेका छन् ।

असोज र बैशाखमा सबैभन्दा कम आपराधिक घटना हुने महिना हुन् । असोजमा ४ सय ३१ र बैशाखमा ४ सय १७ आपराधिक घटना घटेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डिआइजी बमबहादुर भण्डारीले जानकारी दिए ।

संगठित अपराध घट्यो

महानगरीय प्रहरी कार्यालयका अनुसार यो वर्ष ५ प्रतिशतले अपराध घटेको छ । तीन जिल्लामध्ये तीन तिहाई आपराधिक घटना काठमाडौंका छन् । कुल आपराधिक घटनामध्ये काठमाडौंमा ७७ प्रतिशत ५ भने ललितपुरमा १५ र भक्तपुरमा ८ ।

चोरी, लागुऔषध र सवारीज्यानको संख्या बढी छ । यो वर्ष ५ सय २९ चोरी, ३ सय लागुऔषध र १ सय ७६ सवारीज्यानसम्बन्धी आपराधिक घटना दर्ता भएका छन् ।

२०७३–०७४ मा उपत्यकामा ५ हजार ९ सय २४ आपराधिक घटना दर्ता भए । गत वर्ष ६ हजार २ सय ४४ वटा आपराधिक घटना दर्ता भएका थिए । दर्ता भएको संख्याको आधारमा यो वर्ष ५ दशमलव १२ प्रतिशत संख्या घटेको छ ।

तथ्यांक अनुसार उपत्यकामा संगठित र सामाजिक अपराध घटेको छ । हत्या, हत्या प्रयास, जर्वजस्तीकरणी, मानव वेचविखन,भवितब्य ज्यानको संख्या बढेको छ ।

उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका नयाँ बस्ती विकास भएको क्षेत्रमा गम्भिर प्रकृतीका आपराधिक घटना बढेका छन् । प्रहरीको संख्या कम रहेको र सुनसान क्षेत्र बढी भएकाले नयाँ बस्ती विकास भएका क्षेत्रमा आपराधिक घटना बढेको देखिएको हो ।

महानगरीय प्रहरी कार्यालयका अनुसार उपत्यकामा २०७३–०७४ मा उपत्यकामा भएका ५ हजार ९ सय २४ आपराधिक घटनामध्ये नयाँ बस्ती रहेका क्षेत्रमा २ हजार १ सय ५७ आपराधिक घटना भएका छन्। कुल अपराधको संख्याको आधारमा यो ३६ प्रतिशत हो ।

आर्थिक साइबरक्राइम चुनौती

डिआइजी भण्डारीका अनुसार आर्थिक र साइबर क्राइम अवका चुनौती हुन् । राष्ट्रिय सुरक्षामा प्रभाव पार्नेगरी आर्थिक र साइबर अपराध बढिरहेका छन् । बैकिङ, रकम असुली ठगी लगायतका अपराधले संगठित आकार लिदै गएकाले त्यसको नियन्त्रणका लागी सोही अनुसारको रणनीति बनाउन कार्यालय सक्रिय रहेको उनले बताए।

‘दक्षिण एसियामा जर्वजस्ती रकम असुलीका घटनाले संगठित आकार लिइरहेका छन् । त्यसको प्रभाव नेपालमा पनि परिरहेको छ,’ भण्डारीले भने‘ विद्युतिय अपराधको संख्या र प्रबृत्ती समेत बढ्दोक्रममा छ ।

 

प्रकाशित: १७ श्रावण २०७४ १३:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App