४ वैशाख २०८१ मंगलबार
अर्थ

टेलिकमको दैनिक डाटा खपत साढे २७ हजार जिबी

काठमाडौं- सरकारी स्वामित्वको नेपाल टेलिकमका ग्राहकले दैनिक साढे २७ हजार जिबी (गिगाबाइट) भन्दा धेरै डाटा प्रयोग गर्ने गरेका छन्। टेलिकमको जिएसएम मोबाइल प्रयोग गरेर दैनिक उक्त डाटा प्रयोग गर्ने गरेको टेलिकमको ताजा तथ्यांकमा उल्लेख छ। 

टेलिकमको तथ्यांक अनुसार उसका ग्राहकले हाल दैनिक २७ टिबी (टेराबाइट) डाटा प्रयोग भइरहेको छ। एक टिबी भनेको एक हजार २४ जिबी हो। एक जिबी डाटा भनेको एक हजार २४ एमबी (मेगाबाइट) हो। टेराबाइटलाई मेगाबाइटमा रुपान्तर गर्दा टेलिकमका ग्राहकले दैनिक झन्डै दुई (१.८६६) एमबी डाटा प्रयोग गरेको देखिन्छ।

टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले चौथो पुस्ताको मोबाइल इन्टरनेट प्रविधि (फोरजी) सेवा सुरु गरेपछि डाटाको प्रयोग धेरै बढेको बताइन्।

'हाल टेेलिकमको डाटा दैनिक २७ टिबीभन्दा धेरै खपत भइरहेको छ,' सोमबार संसदको सार्वजनिक लेखा समितिमा राजभण्डारीले भनिन्, 'फोरजी सेवापछि बढेको छ।' राजभण्डारीका अनुसार फोरजी सञ्चालन हुनअघि अर्थात पुस १७ गतेअघि दैनिक १६ टिबी (१६ हजार जिबी) मात्र डाटा प्रयोग गरिरहेका थिए।

फोरजी प्रयोगकर्ता बढ्दै जाँदा डाटाको प्रयोग पनि बढ्दै गएको छ। ६ महिनाको अन्तरालमा ११ टिबी अर्थात ११ हजार जिबी डाटा खपत बढेको राजभण्डारीले समितिमा जानकारी गराइन्। हाल काठमाडौं र पोखरामा सञ्चालित फोरजी सेवाबाट द्रुतगतिको डाटा, भ्वाइस र मल्टिमिडिया सेवा उपलब्ध भएकोले डाटा खपत बढ्दै गएको उनको भनाइ छ। टेलिकमका अनुसार काठमाडौं र पोखरामा गरी फोरजी ग्राहक संख्या ५ लाख पुगिसकेका छन्।

सोमबार बसेको लेखा समिति बैठकले टेलिकमको डाटा सेवाको बजार हिस्सा राम्रो रहेकोले यसबाट हुने आम्दनी थप बढाउनसमेत निर्देशन दिएको छ। 'टेलिकमको डाटा सेवाको बजार हिस्सा असाध्यै राम्रो छ,' समिति सभापति डोरप्रसाद उपाध्यायले भने, 'बजार हिस्सा राम्रो भए पनि आम्दानी कम हँुदै गएको बुझिएकोले आम्दानी बढाउने योजना पेस गर्न निर्देशन दिएका छौं।'

टेलिकमको एक तथ्यांक अनुसार गत वर्ष साउनदेखि चैतसम्मको नौ महिनामा २४ अर्ब ३८ करोड १८ लाख ५७ हजार एक सय ८५ रुपैयाँको रिचार्ज भएको छ। उक्त रकम डाटा सहित भ्वाइस सेवा प्रयोग हुन्छ। 

राजभण्डारीका अनुसार जेठ मसान्तसम्ममा टेलिकमको ग्राहक संख्या एक करोड ५१ लाख ६६ हजार नाघिसकेको छ। २०७३ असार मसान्तको तुलनामा यो संख्या २३ लाख ६७ हजारले बढी हो। टेलिकमले गत आवको तेस्रो त्रैमाससम्ममा ११ अर्ब २० करोड रुपैयाँ खुद नाफा गरेको राजभणडारीले बैठकमा जानकारी गराइन्। यस अवधिमा आम्दानी ३३ अर्ब २९ करोड र खर्च १७ अर्ब ५३ करोड रुपैयाँ भएको विवरण उनले पेस गरिन्।

एनटिसीसामु एनसेलको चर्चा

नेपाल टेलिकमको प्रगति र योजनाको विवरण बुफ्न बसेको सोमबारको समिति बैठकमा उसको प्रतिस्पर्धी एनसेलको पनि चर्चा भयो। मुलुकमा ६ वटा दूरसञ्चार कम्पनी रहेको भए पनि सरकारी स्वामित्वको नेपाल टेलिकम र निजी क्षेत्रको एनसेलबीच मात्र प्रतिस्पर्धा छ। कुनै एक कम्पनीको सेवा गुणस्तरबारे चर्चा हँुदा अर्को कम्पनीसँग तुलना हुन्छ। सोमबार बसेको समितिको बैठकमा अधिकांश सांसदले नेपाल टेलिकमको सेवालाई एनसेलसँग तुलना गरे। 

समितिमा उपस्थित अधिकांश सांसदले धेरै पछि आएको निजी कम्पनीले सबैभन्दा जेठो दूरसञ्चार कम्पनीलाई उछिन्न लागेको भन्दै आलोचना गरे। एनसेल कारोबारमा पुँजीगत लाभकरबारे कडा आलोचना गर्ने सांसदहरूले सोमबारको समितिमा भने एनसेलको प्रशंसा गर्दै नेपाल टेलिकम सुस्ताएको बताए।

समितिमा बोल्दै सांसद रामहरि खतिवडाले नेपाल टेलिकमको अन्तर्राष्ट्रिय कलबाट हुने आम्दानी घटिरहेको बेला एनसेलको बढ्दै गएको बताए। उनले फोरजी सेवा विस्तारमा टेलिकमले अपेक्षाकृत प्रगति नगरेको बताए। 'एनसेललाई फोरजी सेवा नदिनु भनेर धेरै महिना रोकियो तर यो अवधिमा नेपाल टेलिकम सुतेर बस्यो,' खतिवडाले भने, '६ महिनापछि सुरु गरेको एनसेलले तुरुन्तै २४ जिल्लामा फोरजी दिँदैछ, टेलिकम भने दुई ठाउँमा मात्रै!'

अर्का सांसद धनराज गुरुङले 'नेपाल टेलिकमको खुद मुनाफा घटेको तर एनसेलको बढेको बढ्यै' भन्दै यसो हुनुको कारण सोधे। सांसद हरिप्रसाद नेपालले फोरजी सेवा विस्तारमा एनसेल अगाडि देखिएको, उसले कर धेरै तिरेको र नाफा पनि धेरै गरेको बताए। ग्रामीण क्षेत्रमा एनसेलको टावर विस्तार राम्रो तर टेलिकमको त्यस अनुसार नभएको भन्दै आलोचना गरे।

सांसद पशुपति चौलागाईंले निजी कम्पनीले सेवा पुर्‍याएको ठाउँमा टेलिकमले पुर्‍याउन नसकेको बताए। उनले ग्राहक बढेको, सेवा बढेको तर नाफा किन घटेको भनेर प्रश्न गरेका थिए। अर्की सांसद मीना पुनले टेलिकम जेठो कम्पनी भएर पनि एनसेलले उछिन्न लागेको भन्दै यसका नियम, कानुन वा अन्य जटिलता भए समाधान गर्नुपर्ने बताइन्। सांसद रुपा महर्जनले धेरै पछि आएको एनसेलको जस्तो प्रभावकारी सेवा टेलिकमको किन हुन नसकेको भनेर प्रश्न गरिन्।

सांसदहरूको प्रश्नको जवाफ दिँदै टेलिकमकी प्रबन्ध निर्देशक राजभण्डारीले सरकारी नीति, नियम, सार्वजनिक खरिद ऐन लगायत सीमाभित्र रहेर काम गर्नुपर्ने बाध्यता रहेको गुनासो गरिन्। हामीले एनसेल वा निजी कम्पनीसरह आजको आजै निर्णय गर्न सक्दैनौं,' राजभण्डारीले भनिन्, 'नीति–नियमले बाँधेकाले निर्णय र सुधारका काम गर्न अलि ढिला हुने गरेको छ।' 

समितिको निर्देशन

समितिले टेलिकमको सेवाबारे विषयमा छलफल गर्दै विभिन्न सुझाव दिएको छ। नेपाल टेलिकमले प्रदान गर्ने सेवा लगानीको तुलनामा कमसल देखिएकोले बजारमा प्रतिस्पर्धामा खरो उत्रन सक्ने लगानी, सेवाको विस्तार, गुणस्तर र प्रतिफलको तीन महिने, अर्धवार्षिक र वार्षिक कार्यक्रम बनाई एक हप्ताभित्रै समितिमा पेस गर्न समितिले निर्देशन दिएको छ।

समितिले वृद्धि हुँदै गएका ग्राहक संख्याको तुलनामा टेलिकमको आय र नाफा वृद्धि नभई वित्तीय अवस्था कमजोर हँुदै गएको देखिएकोले लागत न्यूनीकरण र आय वृद्धि गर्ने योजना बनाइ पेस गर्न निर्देशन दिएको छ।

काठमाडौं र पोखारमा सञ्चालित फोरजी सेवाको विस्तार अपेक्षित रुपमा हुन नसकेको भन्दै फोरजी सेवा सञ्चालनको लागि सन २०१६ डिसेम्बर र २०१२ मा आपूर्तिकर्ता कम्पनी एमएस ह्वावे टेक्नोलोजीसँग भएको सम्झौता, यसका सर्त, सम्झौताको रकम र सेवा विस्तारको योजना सात दिनभित्र समितिलाई उपलब्ध गराउन निर्देशन दिने निर्णय गरेको समितिका सभापति उपाध्यायले बताए।

जिएसएम मोबाइल सेवा नपुगेका ठाउँमा सेवा विस्तारको लागि टावर निर्माण गर्न ढिलाइ हुनुका कारण र ६ महिनाभित्र टावर निर्माण सम्पन्न गर्ने लक्ष्य सहितको योजना समितिलाई उपलब्ध गराउन, हाल काठमाडौं र पोखरामा सञ्चालनमा रहेको फोरजी सेवालाई मुलुकभर विस्तार गर्ने कार्ययोजना बनाई १५ दिनभित्र समितिमा पेस गर्न समितिले निर्देशन दिएको छ। 

पिएसटिएन, सिडिएमए र वाइम्याक्स सेवाका आम्दानी घट्दै गइरहेको भन्दै ती सेवालाई सस्तो र सुलभ बनाउन र आय बढाउने लक्ष्य निर्धारण गर्न समितिले अह्राएको छ। सोको कार्ययोजना पेस गर्न निर्देशन दिने निर्णय गरेको उपाध्यायले बताए।

प्रकाशित: १७ श्रावण २०७४ ०७:०० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App