coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्य

उपमेयरमा नेपाली काग्रेसकी शुसिला मिश्र भट्ट

धनगढी उपमहानगरपालिकाको उपमेयरमा सुशीला मिश्र भट्ट विजयी भएकी छन् । ३९ वर्षीया सुशीला सामाजिकशास्त्रमा स्नाकोत्तर छिन् । अहिले पनि पद्मकन्या क्याम्पसमा महिला अध्ययन विषयमा अध्ययनरत छिन् । प्रखर वक्ताको पहिचान बनाएकी सुशीलाले धनगढीमा मेयर पदका लागि दाबी गरेकी थिइन् । पार्टीले उनलाई उपमेयर बनाउन चाहेपछि पार्टी नेतृत्वलाई सम्मान गर्दै उनी उपमेयर उठेकी थिइन् । उनले ४ हजार ६ सय ४५ मतको फराकिलो अन्तरले चुनाव जितिन् । उनले १७ हजार ४ सय ८ मत प्राप्त गरेकी छन् । उनका निकटतम प्रतिद्वन्द्वि नेकपा एमालेकी रुक्मणि देवकोटाले १२ हजार ७ सय ६३ मत प्राप्त गरिन् । माओवादी केन्द्रकी शान्ति अधिकारीले १० हजार २ सय ५२ मत प्राप्त गरिन् ।
डोटी पुख्र्यौली घर भएकी सुशीला धनगढी उपमहानगरपालिका ५ की स्थायी बासिन्दा हुन् । उनका पति सिँचाइ विभागमा भूगर्भविद् छन् । उनका दुई छोरा छन् । विद्यार्थीकालदेखि नै उनी राजनीतिमा लागिन् । वि.सं. २०४३ सालमा कैलाली बहुमुखी क्याम्पसमा स्ववियु सभापति बनिन् । महिला संघमा रहेर काम गरिन् । बीचमा केही वर्ष ग्रामीण विकास बैंकको जागिरेसमेत बनिन् ।
उपमेयरमा जितेपछि धनगढीलाई समृद्ध र समतामूलक बनाउने उनको सोच छ । ‘धनगढीलाई समृद्ध र सामाजिक न्याय भएको उपमहानगर बनाउने मेरो योजना छ,’ उनले भनिन्, ‘धेरै योजना छन्, तीमध्ये तत्कालै गर्नुपर्ने केही विकासका योजना छन् । केही अन्य छन् ।’ विकासका काम सडक, खानेपानी, बिजुली, ढल निकास, नदी कटान नियन्त्रण लगायतका काममा उनले तत्काल ध्यान दिने बताइन् । त्यस्तै सामाजिक न्यायलाई उनले बढी महत्व दिने बताइन् । लोक कल्याणकारी काम प्राथमिकता दिएर गर्ने उनको भनाइ छ । ‘जातीय विभेद, लैंगिक विभेद, बालबालिका माथिको विभेद यहाँ छ । ती सबै विभेद अन्त्य गर्न काम गर्छु,’ उनले आत्मविश्वासपूर्वक भनिन् । दलितभित्र पनि सम्पन्न वर्ग छ । त्योभन्दा विपन्न वर्गको अवस्था दयनीय छ । तिनले सामाजिक मर्यादा पाएका छैनन् । सामाजिक मार्यादा नपाएको वर्गलाई मूलधारमा ल्याउने गरी काम गर्ने उनको योजना छ । ‘ठूल्ठूलाभन्दा सामाजिक न्याय र विकासका लागि स–साना धेरै काम गर्नुछ,’ उनले भनिन् । धनगढी उपमहानगर प्रदेश नम्बर ७ को एक मात्र उपमहानगरपालिका र आर्थिक केन्द्र हो । प्रदेश नम्बर ७ विकासका दृष्टिले मात्र होइन मानव सूचकांकका हिसाबले पनि   सबैभन्दा पछाडि छ । यहाँ भौतिक पूर्वाधार, बेरोजगारी लगायतका समस्या छन् । धनगढी उपमहानगरमा पनि उपमहानगरमा हुनुपर्ने आधारभूत कुरा छैनन् । ‘धनगढी अव्यवस्थित सहर छ र सडक, खानेपानी, बिजुली लगायतका विकासका सामान्य पूर्वाधार पनि छैन,’ कैलाली बहुमुखी क्याम्पसका प्राध्यापक डा. हेमराज पन्त भन्छन्, ‘जनप्रतिनिधिबाट जनताले यी सबै विकास हुने अपेक्षा गरेका छन् ।’ लामो समय जनप्रतिनिधिविहीन हुनाले स्थानीय निकायमा व्यापक भ्रष्टाचार, अनिमियता हुँदा विकास हुन नसकेको स्थानीयको धारणा छ । २० वर्षपछि भएको स्थानीय निकायको निर्वाचनमा चुनिएका जनप्रतिनिधिको काँधमा ठूलो जिम्मेवारी रहेको नागरिक समाजका अगुवा रविन पन्त बताउँछन् । अहिलेको स्थानीय तह अधिकार सम्पन्न भएकाले जनप्रतिनिधिले धेरै काम गर्न सक्छन् । सुशीला मिश्र भट्टको रुपमा पढेलेखेको दक्ष उपमेयर उपमहानगरले पाएको पन्तको भनाइ छ । अहिले पनि घरेलु हिंसा लगायत चरम लैंगिक विभेद छ । महिलाहरु अझ पछाडि परेका छन् । ‘विद्यमान लैंगिक विभेद, हिंसा कम गरेर पछाडि परेका महिला लगायतकालाई मूलधारमा उनले ल्याउने आशा छ,’ स्थानीय उमा भट्टले भनिन् ।

 

प्रकाशित: १७ श्रावण २०७४ ०६:३९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App