coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ मा दलहरुको आ-आफ्नै दाबी

काठमाडौं- प्रदेश नम्बर २ मा आगामी असोज २ मा हुने स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस र एमालेले पहिलो पार्टी हुने गरी चुनावी अभियान तीव्र बनाएका छन्। माओवादी केन्द्र सकेसम्म दोस्रो पार्टी बन्ने रणनीति लिएर चुनावमा जुटेको छ।

मधेस केन्द्रित दलहरू पनि दुई नम्बर प्रदेशमा आफ्नो स्थिति स्थानीय तह निर्वाचनको पहिलो र दोस्रो चरणको भन्दा निकै सुधार गर्ने लक्ष्य लिएर चुनावी प्रक्रियामा सामेल भएका छन्। प्रदेश नम्बर दुईका १ सय २७ स्थानीय तहमा स्थानीय तहको तेस्रो चरणको निर्वाचन हुने कार्यक्रम छ।

कांग्रेसको केही दिनअघि काठमाडौंमा बसेको दुई नम्बर प्रदेशको भेलाले स्थानीय चुनावमा सय सिट ल्याउने निष्कर्ष निकालेको थियो।  भेलामा उक्त प्रदेशबाट प्रदेशबाट प्रतिनिधित्व गरेका कांग्रेसका स्थानीय नेताहरूले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवासँग सय सिट नघाउने प्रतिबद्धता जनाएका थिए।

कांग्रेसले दुई नम्बर प्रदेशलाई प्रतिष्ठाको विषय बनाएर चुनावी अभियान थालेको छ। पहिलो र दोस्रो चरणको निर्वाचनमा भएको क्षति प्रदेश दुईबाट पूर्ति गर्ने दाउमा कांग्रेस नेताहरू छन्।

चुनावी अभियान तीव्र पार्न सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेललगायतका नेताहरू दुई नम्बर प्रदेशमा पुग्ने भएका छन्। दुई नम्बर प्रदेशका स्थानीय नेताले आगामी बिहीबार बृहत् भेला बोलाएका छन्। भेलामा पार्टी सभापति देउवा जाने कार्यक्रम छ।

कांग्रेसका नेता फरमुल्लाह मन्सुरले दुई नम्बर प्रदेशमा पार्टीले सजिलै सय सिट नघाउने दाबी गरे। 'दुई नम्बर प्रदेशमा हामीले सजिलैसँग सय सिट नघाउँछांै', मन्सुरले भने, 'दुई नम्बर प्रदेशमा कांग्रेसका लागि पहिलादेखि नै राम्रो ठाउँ हो। अहिले पनि दुई नम्बर प्रदेशमा कांग्रेसको स्थिति धेरै बलियो छ।'

एमालेले पनि चुनावी अभियान तीव्र बनाएको छ। दुई नम्बर प्रदेशमा एमालेले ६० प्रतिशतभन्दा बढी सिटमा जित्ने दाबी गरेको छ। एमालेले महोत्तरीको बर्दिबासमा नम्बर प्रदेशको सचिवालय स्थापना गर्ने भएको छ। सचिवालयको नेतृत्व पार्टी महासचिव ईश्वर पोखरेलले गर्नेछन्। केन्द्रीय नेताहरू सबै जिल्लामा पुग्ने तयारी छ।

एमालेले दुइ नम्बर प्रदेशमा कांग्रेसबाहेक अन्य सबै पार्टीसँग चुनावी तालमेल गर्ने भएको छ। राजपा चुनावमा गयो भने राजपासँग पनि चुनावी तालमेल गर्ने एमालेका  नेताहरूले जनाएका छन्।

एमाले पार्टी कार्यालयका कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दुई नम्बर प्रदेशमा एमालेले ६० प्रतिशतभन्दा बढी स्थानमा चुनाव जित्ने दाबी गरे। 'दुई नम्बर प्रदेशमा हामी पहिलो हुनेमा कुनै शंका रहेन। ६० प्रतिशतभन्दा बढी स्थानमा हामी जित्छौं,' उनले भने। चुनावमा तालमेल गर्न एमालेले राजपाका नेताहरूसँग कुराकानी गरिरहेको छ।

माओवादी केन्द्रले सोमबार जनकपुरमा प्रदेश स्तरीय प्रशिक्षण कार्यक्रम गरी चुनावी अभियान सुरु गरेको छ। प्रदेशस्तरीय भेलापछि माओवादी केन्द्रले जिल्लाजिल्लामा प्रशिक्षण कार्यक्रम राख्ने भएको छ। माओवादी केन्द्रले गर्ने कार्यक्रममा अध्यक्ष पुष्पकमल दाहाललगायतका केन्द्रीय नेताहरू सहभागी हुनेछन्।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले दुई नम्बर प्रदेशमा माओवादी केन्द्रले चुनावी अभियान तीव्र बनाएको बताइन्। 

माओवादी केन्द्रका सचिवालय सदस्य प्रह्लाद बुढाथोकीले दुई नम्बर प्रदेशमा माओवादी केन्द्रले ३० भन्दा बढी सिट ल्याउने दाबी गरे। उनले भने, 'दुई नम्बर प्रदेशमा हामी दोस्रो पार्टी हुन्छौं भन्ने हाम्रो विश्लेषण छ। हामीले नेपाली कांग्रेस या एमालेमध्ये एउटा पार्टीलाई पछि पार्नेछौं।'

उपेन्द्र यादवले नेतृत्व गरेको संघीय समाजवादी फोरम नेपालले पनि दुई नम्बर प्रदेशमा ५० भन्दा बढी स्थानमा विजयी हुने दाबी गरेको छ। फोरम नेपालका केन्द्रीय सदस्य तथा संसदीय दलका प्रमुख सचेतक शिवजी यादवले दुई नम्बर प्रदेशमा फोरम नेपालले ५० भन्दा बढी स्थानमा विजयी हुने दाबी गरे। 'हामीले दुई नम्बर प्रदेशमा कम्तीमा ५० सिट ल्याउँछौं,' उनले भने।

यसैगरी विजय गच्छदारले नेतृत्वको फोरम लोकतान्त्रिकले पनि दुइ नम्बर प्रदेशमा चुनावी अभियान सुरु गरेको छ।

प्रकाशित: १७ श्रावण २०७४ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App