coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

ट्राफिक व्यवस्थापनमा खाल्डा बाधक

काठमाडौं- सडकमा रहेका खाल्डाखुल्डीले उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको छ। महानगरीय ट्राफिक प्रहरी महशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले खाल्डाखुल्डीका कारण उपत्यकाको ट्राफिक व्यवस्थापन गर्न कठिन भएको बताए। 'खाल्डाखुल्डी सडक नै मुख्य बाधक देखिएको छ,' उनले भने, ट्राफिक प्रहरीलाई सडकमा उभिएर काम गर्न सहज छैन।'

खनालले सोमबार नगरप्रमुख, मध्यमाञ्चल क्षेत्रीय सडक निर्देशनालयका निर्देशक, यातायात व्यवसायी र उपभोक्ता हकहित संरक्षण मञ्चका प्रतिनिधिलगायतका सरोकारवालालाई बोलाएर उपत्यकामा रहेका खाल्डाखुल्डी र ट्राफिक बत्ती बनाउन अनुरोध गरेका छन्। 'सडक विभाग र महानगरपालिकाले तत्कालै सडकाका खाल्डाखुल्डी पुरिदिनुपर्‍यो,'  प्रमुख खनालले काठमाडौंका मेयरतर्फ लक्षित गर्दै भने, 'तपार्इंले नेतृत्व लिएर सडकमा तत्कालै ट्राफिक बत्ती राखिदिनुपर्‍यो। सक्नुहुन्न भने मसँग मान्छे छन्। उनीहरूलाई काममा लगाउँछु।'

खनालले महानगर प्रमुखले पूर्वाधार निर्माणको जिम्मा लिएमा ट्राफिक व्यवस्थापनको सम्पूर्ण काम आफंैले गर्ने बताए।

'संसारको अधिकांश सहर मेयरले बनाएका छन्। त्यसैले महानगर व्यवस्थित गर्ने  जिम्मा मेयरले लिनुपर्‍यो,' महाशाखाका प्रमुख खनालले भने, 'यो काठमाडौं सहर मात्रै होइन,  देशकै राजधानी हो। त्यसैले सबै मिलेर राम्रो बनाउन अग्रसर हुनुपर्छ।' उनले उपत्यकाका सडकका खल्डाखुल्डी तत्कालै पुर्न महानगरपालिकाका र सडक विभागलाई अनुरोध गरेका छन्।

बर्खामा खाल्डा पुर्दैनौं : नगर प्रमुख शाक्य

काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले महानगरको मातहत रहेका सडकको खाल्डा वर्षायाममा नपुर्ने बताएका छन्। 'जनताले जति गाली गरे पनि खाल्डाखुल्डी पुर्ने काम तत्कालै गर्दैनौं,' उनले भने, 'पैसा सदुपयोगका लागि बर्खायाममा खल्डाखुल्डी नपुरेका हौं। यो समयमा खल्डा पुर्दा रकमको दुरुपयोग मात्रै हुन्छ।' ८ मिटरभन्दा कम चौडाइका सडक महानगरपालिका मातहत छन्। 'वर्षायाममा गरेको काम धेरै समय टिक्दैन। त्यसैले दसैं लागेपछि मात्रै गर्न लागेका हौं,' शाक्यले भने, 'जनताले केही समय अझै धैर्य गर्नुपर्‍यो।'

महाशाखाका प्रमुख सर्वेन्द्र खनालले नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका पदाधिकारी तथा वर्गीय संयोजकलाई सरल र सहज ढंगले सेवा प्रवाह गर्न निर्देशन दिएका छन्। 'यात्रुलाई मर्यादित ढंगले सेवा प्रवाह गर्नुहोस्,' उनले भने, 'यात्रुलाई दुर्व्यवहार गर्ने तथा बढी भाडा असुल्नेलाई तत्कालै कारबाही गर्छाैं।' नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले व्यवस्थित सडक नहुँदा यातायात व्यवसायीले समस्या भोग्नुपरेको बताए।

 'सडकमा जताततै फुथपाथ र असरल्ल निर्माण सामग्री छन्। सवारी आउजाउमा निकै समस्या पारेको छ,' उनले भने, 'पूर्वाधार बनाएर मात्रै नयाँ नियम कार्यान्वयन गर्न सहज हुनेछ।' उनले यातायात व्यवसायीका तर्फबाट भएका कमीकमजोरी सुधार्दै लैजाने बताए। 'यातायात व्यवसायीलाई दोष लगाएर मात्रै हुँदैन,' उनले भने, 'सबैको कामको आत्मसमीक्षा गरेर अघि बढ्नुपर्ने देखिन्छ।'

 उपभोक्ता हकहित संरक्षण मञ्चका अध्यक्ष ज्योति बानियाँले देश नै जाममा परेको दाबी गरे। 'अहिले उपत्यकामा सरर गाडी गुड्नै पाएका छैनन्। त्यसैले राजधानी जाममा फसेको छ,' उनले भने, 'राजधानीमात्रै होइन, यतिबेला देश नै जाममा फसेको भान भइरहेको छ।'

प्रकाशित: १७ श्रावण २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App