८ वैशाख २०८१ शनिबार
समाज

मेघराज अस्पताल भर्ना, बुधबार शल्यक्रिया

इलाम- आर्थिक अभावले शल्यक्रिया गराउन नसक्दा पेटमा बनाइएको प्वालबाट दिसा गर्न बाध्य ५ वर्षे बालक मेघराज कोइरालाको काठमाडौंमा उपचार सुरु गरिएको छ। काठमाडौं मोडेल अस्पतालले निःशुल्क शल्यक्रिया गरिदिने भएपछि बालकलाई आइतबार साँझ काठमाडौं पुर्‍याइएको थियो।

                मेघराजको बुधबार शल्यक्रिया गरिने अस्पतालले जनाएको छ । मेघराजलाई अस्पताल लिएर गएका इलाम नगरपालिका–५ का राजन दाहालले अस्पतालका डाक्टर मनोजकृष्ण श्रेष्ठले बालकको शल्यक्रिया गर्ने र शल्यक्रियापछि ५–७ दिन अस्पताल राखेर घर लैजान सकिने जानकारी दिएको बताए। ‘बालकलाई आजै (सोमबार) अस्पताल भर्ना गरी उपचार थालिएको छ,’ दाहालले भने, ‘चिकित्सक र अस्पतालले ज्यादै रेस्पोन्स दिएर बालकको उपचारमा सहयोग गर्नुभएको छ।’

                डाक्टर श्रेष्ठले बालकको पेटमा दिसा गर्न बनाइएको प्वालको छेउमा यसअघि उपचार गर्दा ‘अनावश्यक’ स्थानमा चिरिएको पाइएकाले त्यसको अध्ययनका लागि केही समय लाग्ने र त्यसपछि उपचार थालिने जनाएका छन् । ‘शल्यक्रिया थालिहाल्दा पनि हुने हो तर किन पेटको अर्को भागमा चिरियो भन्ने चाहिँ अध्ययन गरेरमात्र अर्को शल्यक्रिया गर्ने डा. श्रेष्ठले जानकारी दिनुभएको छ,’ दाहालले डाक्टर श्रेष्ठलाई उद्धृत गर्दै भने, ‘अर्को स्थानमा चिरिनुको कुनै हिस्ट्री पनि पहिलाको प्रेस्क्रिप्सनमा थिएन रे।’

                देउमाई नगरपालिका–६, शान्तिडाँडाका बालक मेघराज जन्मेको १९ दिनको हुँदा पेट फुलिने समस्या आएको थियो । भारत सिलिगुडीस्थित पारामन्ड अस्पतालमा शल्यक्रिया गरी उनको पेटमा दिसा गर्ने बैकल्पिक प्वाल बनाउनुपरेको थियो । चिकित्सकले बालकको थप शल्यक्रिया गरी मलद्वारबाटै दिसा गर्ने सामान्य अवस्थामा ल्याउन सकिने सुझाव दिएपनि आर्थिक अभावले उनको परिवारले उपचार गराउन नसकेको समाचार नागरिन्युजडटकममा सार्वजनिक भएपछि उपचारमा चौतर्फी सहयोग जुट्न थालेको हो । इलाम नगरपालिका–५ घर भएकी पुनम घिमिरेले सोमबार अस्पतालमै आएर बालक मेघराजको औषधिमा लाग्ने खर्चको केही रकम सहयोग गर्ने वचन दिएकी छिन् ।   

                अहिलेसम्म मेघराजको उपचारका लागि १ लाख ३२ हजार रुपैयाँ जम्मा भइसकेको छ । आइतबार पनि उनको उपचारका लागि लोचना गुरुङले १३ हजार दुई सय, अमेरिकाबाट रमेश श्रेष्ठमार्फत २१ हजार ८ सय, सीता लिम्बूले ३ हजार, हेमराज बस्नेतले ५ हजार, शान्तिडाँडाबाट घनश्याम दाहालमार्फत १० हजार र पूर्वेली जिप तथा ट्याक्सी व्यवसायी संघले बालकलाई काठमाडौंसम्म पु¥याउने भाडा ५ हजार ४ सय रुपैयाँ उपलब्ध गराएको समितिले जनाएको छ । त्यसअघि पनि विभिन्न दाताले ६८ हजार ६ सय ५ रुपैयाँ जम्मा गरिसकेका छन् ।

                उनको उपचारका लागि इलाम नगरपालिका ५ मा मेघराज कोइराला उपचार सहयोग समितिसमेत गठन भएको छ । समितिले कन्काई बैंकमा खोलेको खातामा रकम संकलन गरिँदैछ । बालकको उपचारका लागि दाताले दिएको रकम जम्मा गर्न कन्काई बैंकमा ०११००२०००३२०८६०० नम्बरको खातासमेत खोलिएको छ । विभिन्न अस्पताल र अन्य दाताहरूबाट पनि सहयोगको वचन आउनेक्रम जारी रहेको समिति संयोजक महेश श्रेष्ठले बताए।

प्रकाशित: १६ श्रावण २०७४ १३:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App